कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी नेपाल भित्रियो म्यान्मारको सुन

एकैदिन साढे २३ किलो अवैध सुन बरामद
भवानी भट्ट

काठमाडौँ — जिल्लाको पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाट १८ किलो अवैध सुन बरामद गरेकै दिन बिहीबार राति शुक्लाफाँटा नगरपालिका ११ झलारीबाट साढे ५ किलोभन्दा बढी सुन बरामद भएको छ । दुवै ठाउँबाट बरामद भएको सुन एउटै व्यक्तिको हो । 
 
प्रहरीले सुनसँगै शुक्लाफाँटा नगरपालिका ११ झलारीका ३३ वर्षीय लक्ष्मण तिरुवा र उनका भाइ २८ वर्षीय सुरजलाई पक्राउ गरेको छ ।

यसरी नेपाल भित्रियो म्यान्मारको सुन

बिहीबार राति बरामद ५ किलो ६ सय ग्राम (३४ बिस्कुट) लक्ष्मणकै घरमा लुकाइराखेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । पुनर्वासमा बरामद भएको १८ केजी (१०८ बिस्कुट) सुन सुरजको ससुरालीमा लुकाएर राखेको थियो ।

नेपालमा प्राय: चीन र दुवइबाट सुन तस्करी हुने गरेको पाइन्छ । तर यहाँ बरामद सुन भारतबाट चोरी गरी ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदीप गिरीका अनुसार पक्राउ परेका लक्ष्मण भारतको दिल्लीमा सवारी चालउँथे । दिल्लीमा व्यापार गर्ने साहुले उनलाई म्यान्मारबाट सुन तस्करीमा प्रयोग गरेका थिए । प्रहरीले लक्ष्मणका साहुको नाम भने खुलाएको छैन ।


‘लक्ष्मण नै गाडीमा म्यान्मारबाट साहुका मान्छेसँगै सुन ल्याएर दिल्ली आउने गरेको खुलेको छ,’ एसपी गिरीले भने, ‘तर उक्त कुरा लक्ष्मणलाई भने थाहा थिएन, साहुले उनीसँगै आफ्ना मान्छे पठाउने र तिनले नै सुन ल्याउने गर्थे ।’ जब लक्ष्मणले आफू सुन तस्करीमा प्रयोग भएको थाहा पाए, त्यसपछि सुनसहितको गाडी लिएर नेपाल पसेको उनले बताए । उनका अनुसार साहुले पठाएका व्यक्तिलाई बाटोमै छाडेर लक्ष्मण करिब तीन महिनाअघि नोभेम्बर २३ तारेखमा सुनौली नाकाबाट भारतीय नम्बरको गाडीमा सुनसहित नेपाल पसेका हुन् ।


गिरीका अनुसार लक्ष्मणले दिल्लीबाट ३२ किलोग्राम सुन ल्याएका थिए । उनी नेपाल आएदेखि नै साहुले खोजी सुरु गरेको प्रहरीले जनाएको छ । त्यहीक्रममा साहुले आफन्तलाई खोजीमा पठाएको देखिन्छ । लक्ष्मणले भारतबाट ल्याएको गाडी कोहलपुरमा साहुको आफन्तलाई दिएका थिए । त्यसपछि सुन खोजीमा साहुले फेरि अर्का व्यक्ति पठाएको र लक्ष्मणले तिनलाई ८ किलोग्राम सुन दिएको प्रहरीले जनाएको छ ।


त्यसपछि पनि साहुले सुन खोज्दै धम्काउने गरेपछि लक्ष्मण डेढ महिनादेखि फरार थिए । भाइ सुरजले दाइको खोजीका लागि प्रहरीमा निवेदन पनि दिएका थिए । लक्ष्मणलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरी यहाँ ल्याएको खुलेको छ । ‘भारतीय साहुले सुन खोजी गर्दादेखि नै सिआईबीसम्म उक्त खबर पुगेको थियो’ एसपी गिरीले भने, ‘लक्ष्मण फरार हुनु र गाउँमा भएको सुन बिक्री गर्दा विवाद हुन थालेपछि यो कुरा बाहिर आएको हो ।’


लक्ष्मणले करिब ४ सय ग्राम (२ बिस्कुट) सुन गाउँमै बिक्री गरेका छन् । १८ किलो प्रहरीमा कार्यरत भाइ सुरजको ससुरालीमा र ५ किलो ६ सय ग्राम आफ्नै घरमा लुकाइराखेका थिए । सुरजकै सहयोगमा प्रहरीले पुनर्वासको सुन बरामद गरेको हो । सोधपुछका क्रममा थप सुन घरमै रहेको कुरा लक्ष्मणले बयान दिएको प्रहरीले जनाएको छ ।


यो पनि पढौं : कञ्चनपुरमा थप साढे ५ किलो अबैध सुन बरामद

कञ्चनपुरमा अवैध १८ किलो सुन बरामद, एक स्थानीय नियन्त्रणमा

लक्ष्मणले सुन बेच्ने प्रयास गर्दा कुरा नमिलेर बिक्री हुन सकेको थिएन । किनबेचमै कुरा नमिल्दा उक्त कुरा बाहिर आएको प्रहरीले जनाएको छ । ‘साहुले खोजी गर्दादेखि नै सिआइबीसम्म जानकारी आएको थियो,’ एसपी गिरीले भने, ‘जब विवाद नै भयो त्यसपछि त सबै कुरा बाहिर आयो ।’


बरामद गरिएको सुन र पक्राउ परेका दाजुभाइलाई प्रहरीले कोहलपुरस्थित राजश्व अनुसन्धान विभागको कार्यालयमा पठाएको छ । अनुसन्धान पनि चलिरहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा सुरजको प्रत्यक्ष संलग्नता नभए पनि उनले लुकाइछिपाइ राख्न मद्दत गरेका छन् ।


भारतमा रोजगारी गर्न गएकाहरुले सानोतिनो मात्रामा सुन तथा पैसा चोरेर ल्याउने गरेका घटना विगतमा पनि सार्वजनिक भइरहेका थिए । तर, यति ठूलो परिमाणमा सुन चोरेको पहिलो घटना हो ।


पैसा र सुन चोरेर ल्याएपछि उनीहरुको खोजीमा हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गरेका घटना पनि पटक पटक भइरहन्छन् । डेढ वर्षअघि मात्रै डोटीबाट ४ जना भारतीय प्रहरीलाई हतियारसहित पक्राउ गरिएको थियो । उनीहरु चोरकै खोजीमा नेपाल पसेका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?