कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काउन्सिलको गलत सूचनाले पत्रकारलाई साईबर अपराध मुद्दा : डिआईजी शाही

जनकराज सापकाेटा

काठमाडौँ — पोखराबाट संचालित ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई २ गते नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले साईबर अपराधमा अनुसन्धानका लागि पक्राउ गर्‍यो । स्थानीय व्यापारी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने विषयमा समाचार लेखेकै आधारमा पत्रकार गिरीलाई सीआईबीले पक्राउ गरेपछि सीआईबीको सर्वत्र आलोचना भयो । सीआईबीजे किन पत्रकार गिरीमाथि विद्युतिय कारोबार ऐनको दफा ४७ अनुसार मुद्दा चलायो ?

काउन्सिलको गलत सूचनाले पत्रकारलाई साईबर अपराध मुद्दा : डिआईजी शाही

कान्तिपुरकर्मी जनकराज सापकोटाले पत्रकार पक्राउको कारण र अन्तर्य बारे सीआईबीका प्रमुख डिआईजी निरज शाहीसँग गरेको संक्षिप्त कुराकानी :

तपाईंहरुले समाचार लेखेकै आधारमा पत्रकारमाथि साईबर अपराधको मुद्दा किन दर्ता गर्नुभयो ?

सुरुमा निवेदक विपेन्द्रराज बतास उजुरी लिएर केन्द्रिय अनुसन्धान ब्युरो आए । हामीले उजुरी हेरेपछि पत्रकार विरुद्धको उजुरी नलाग्ने भन्दै यसबारे पत्रकार महासंघमा जान वा गाली बेइज्जतीको मुद्दामा जान सल्लाह दियौं । उनी उजुरी दर्ता गर्न भन्दै दोस्रो पटक पनि आए ।

त्यतिबेला पनि हामीले उजुरी लिएनौं । तेस्रो दिन फेरी बतास प्रेस काउन्सिलको पत्र लिएर आए । त्यो पत्रमा पत्रकार गिरी आवद्ध रहेको ताण्डवन्युज डटकम दर्ता नभएको उल्लेख थियो । हामीले काउन्सिलमा फोन गरेर पनि सोध्यौं । काउन्सिलका कर्मचारीले उक्त अनलाईन दर्ता नभएको बतायो ।

काउन्सिलले भनेपछि पत्रकार नै नभएको मान्छेले लेख्न पाउँछ त भन्ने कुरा भयो । हामीले त पत्रकारलाई समातेको नै होईन नि । जो मान्छे पक्राउ पर्‍यो ऊ पत्रकार हो भन्ने कुरा त काउन्सिलले भन्यो । त्यसपछि पो हामी झुक्किएको थाह भयो ।

अब समाधान के हुन्छ त ?

हामीले आजै सरकारी वकिलको कार्यालय मार्फत अदालतमा मुद्दा बुझाईसकेका छौं । बिचमा मुद्दा फर्काउन नमिल्ने भएकाले हामीले छिटो–छिटो मुद्दा अगाडी बढायौं ।

सीआईबी त गम्भिर प्रकृतीको अनुसन्धान गर्ने निकाय । यो साईबर क्राईममा किन यस्तो चासो देखायो ?

नेपाल भरिमा साईबर अपराधको मुद्दा हेर्ने सिआईबी मात्रै हो । काठमाडौंको हकमा भने अपराध महाशाखाले पनि हेर्छ । काठमाडौं बाहिर साईबर अपराधको मुद्दा चल्दैन । सीआईबीको पिलर ६ साईबर अपराध हेर्नकै लागि बनाइएको हो ।

त्यसोभए प्रेस काउन्सिलमा दर्ता नभएको मान्छेले केही पनि लेख्नै नपाउने भयो होइन त ?

प्रेस काउन्सिलमा दर्ता नभएको मान्छेले लेख्दा त पहिला ऊ पत्रकार नै हुन पाएन । निवेदकले त साईबर अपराधको मुद्दा दर्ता गरे ।

भनेपछि प्रेस काउन्सिलले झुक्कायो ?

हो । सुरुका दुई दिन त हामीले उजुरी नै लिएनौं नि । काउन्सिलले दर्ता भएको छैन भने पछि कसरी यस्तो लेख्न मिल्छ भन्ने कुरा आयो । समातेर ल्याएपछि पो पत्रकार हो भन्ने खबर भयो । सुरुमा पोखरास्थित प्रहरीले प्रेस काउन्सिलमा फोन गर्दा पनि दर्ता भएको अनलाईन होइन भन्दिए छ । पछि पो यर्थाथ थाह भयो ।

अब के हुन्छ ?

अदालतमा मुद्दा गइसकेको छ । अब जे गर्छ अदालतले गर्छ । यसमा सबै फसे । साइबर अपराध हेर्ने अरु निकाय नभएकाले सानो मुद्दा पनि हामीले नै हेर्नुपर्छ ।

सीआईबी पनि फस्यो ?

फस्यो त कसरी भन्नु । पत्रकार हो भन्ने थाह नपाएकाले केस अन्तैतिर गयो । पत्रकार हो भन्ने पुष्टी भएपछि पत्रकारलाई किन पक्राउ गरेको भन्ने प्रश्न आयो ।

जे भएपनि तपाईंहरु विवादमा त तानिनुभयो नि त ?

तानियो त । एउटा सरकारी निकायले भनेको अर्को सरकारी निकायले नमान्ने भन्ने हुन्छ त ? झुक्कियो भन्नु कि के भन्नु । जानी जानी त के झुक्कायो होला र ? सही सूचना नआएकाले झुक्कियो ।


प्रकाशित : वैशाख ४, २०७६ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?