कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङ कारागारबाट फरारमध्ये एक पक्राउ 

काठमाडौँ — लमजुङ कारागारबाट फरार दुईमध्ये एकजना पक्राउ परेका छन् । बिहीबार राति साढे १ बजेतिर कारागारको पर्खाल नाघेर एक कैदी र अर्का एक थुनुवा फरार भएका थिए । फरारमध्ये जिल्लाको मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेका २७ वर्षीय विनोद बिक बिहीबार दिउँसो पक्राउ परेका प्रहरीले जनाएको छ ।

लमजुङ कारागारबाट फरारमध्ये एक पक्राउ 

उनलाई बेसीसहर–२ चिसापानीको जंगलमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी जबर्जस्ती करणी मुद्दामा २०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भइ जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते ४ वर्ष कैद र ४ लाख जरिवानाको फैसला सुनाएको थियो । बिकसँगै ठगी मुद्दामा २०८० वैशाख ३१ गते पुर्पक्षका लागि कारागार चलान भएका गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोला घर भई हाल पोखरा महानगरपालिका–१६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङ पनि फरार भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रातको समयमा पर्खाल चढेर हाम फाल्दै भागेको सीसीटीभीमा देखिएको बताए । प्रहरी स्रोतका अनुसार कैदीबन्दीले बुनेको मुढामाथि मुढा राखेर पर्खाल पार गरी उनीहरू फरार भएका हुन् । पर्खालको दायाँबायाँ चौबिसै घण्टा प्रहरीको ड्युटी भए पनि रातको समयमा प्रहरीलाई समेत छलेर कैदी र थुनुवा भागेका हुन् । उनीहरूले आफूले लगाएको लुगाफाटासमेत फुकालेर भागेको प्रहरी स्रोतले बताएको छ ।


प्रकाशित : जेष्ठ १८, २०८० १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?