कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका रावल थुनामा

रमेशकुमार पौडेल

चितवन — पोल्ट्री व्यवसायी तथा नेपाली कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्ष शंकर कँडेलको आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका जीवन रावललाई बिहीबार चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका रावल थुनामा

कँडेल मृत्यु सम्बन्धमा परिवारले रावलका साथै व्यवसायी प्रदीप रूगटाविरूद्ध पनि आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएको थियो । रूगटा अझसम्म पक्राउ परेका छैनन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश मातृका आचार्यले आदेश गरेलगत्तै रावल भरतपुर कारागार चलान भएको अदालतका शाखा अधिकृत टीकाराम पुनले बताए । पक्राउ पर्न नसकेर फरार रहेका रूगटा अदालतमा उपस्थित भएका बखत बयान लिएर उनका लागि पनि बहस र थुनछेक आदेश हुने छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत फरार व्यक्तिलाई अदालतमा हाजिर गराउने शाखा अधिकृत पुनले बताए । थुनामा रहने आदेश भएपछि मुद्दा फैसला नहुँदासम्म कारागारमै बस्नु पर्ने छ । आदेश चित्त नबुझे माथिल्लो अदालतमा निवेदन दिन पाउने व्यवस्था पनि छ ।

कँडेल एक महिनाअघि वैशाख १९ गते साँझ नारायणगढ बेलचोकमा रहेको अनमोल फिडको कार्यालय भवनमा मृत फेला परेका थिए । आत्महत्या दुरूत्साहनका आरोपित रूगटाले कँडेल सञ्चालक रहेको अनमोल फिड गत चैतमा किनेका थिए । रावल सोही फिडका कर्मचारी हुन् । उजुरी परेका दुवै जनाविरूद्ध मंगलबार पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना मागदाबी गरेर चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

बुधबारदेखि सो मुद्दामा थुनछेक आदेशका लागि बहस सुरू हुँदा कँडेलका शुभचिन्तक र स्थानीयले अदालत अगाडि प्रदर्शन गरेका थिए ।

प्रकाशित : जेष्ठ १८, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?