२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

सवारी सुरक्षा दिने ट्राफिक प्रहरी नै असुरक्षित

साउनयता काठमाडौं उपत्यकामा १५ जना ट्राफिक घाइते
सुगम दुलाल

काठमाडौँ — गत फागुन २० मा कोटेश्वर चोकमा जुनेली यातायातको बसले ठक्कर दिँदा ४१ वर्षीय प्रहरी नायव निरीक्षक टोपबहादुर खत्री गम्भीर घाइते भए । ड्युटीमा खटिएका खत्रीलाई प्र ३–०१ ००५ ख ९७५५ नम्बरको बसले बिहान ९ बजेर ४० मिनेटमा ठक्कर दिएको थियो । टाउकोमा चोट लागेका उनको उपचारका क्रममा २७ गते दिउँसो माइतीघस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भयो ।

सवारी सुरक्षा दिने ट्राफिक प्रहरी नै असुरक्षित

सडक सुरक्षामा खटिने ट्राफिक प्रहरीहरूकै सुरक्षामाथि सवाल उठ्ने प्रकारको घटना यो नै पहिलो भने होइन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठका अनुसार पछिल्लो पाँच वर्ष (आव ७६/७७ देखि ८०/८१ फागुनसम्म) मा काठमाडौं उपत्यकामा १ सय ७ जना ट्राफिक प्रहरी दुर्घटनामा परेर घाइते भए । यो दर बर्सेनि बढिरहेको छ । आव ०७६/७७ (मा १७ जना, आव ०७७/७८ मा २० जना, आव ०७८/७९ मा २७, आव ७९/८० मा २८ जना र चालु आवको हालसम्म १५ जना घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अभिलेख छ । बढ्दो दुर्घटना दरले सडक सुरक्षामा खटिने ट्राफिक प्रहरीहरू नै जोखिममा रहेको स्पष्ट हुन्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा उल्लेख गरिएअनुसार काठमाडौं उपत्यकामा १ हजार ११३ जना ट्राफिक प्रहरी कार्यरत छन् । ट्राफिक प्रहरीहरूकै सुरक्षाका निम्ति फ्लरोसेन्ट ज्याकेट लगाउने, सुरक्षित ठाउँमा उभिने, राति म्याजिक लाइटको प्रयोग गर्ने, चेक पोइन्टभन्दा अगाडि नै जनाउ बोर्ड राख्ने र स्वास्थ्य सावधानीका लागि मास्क र चस्माको बन्दोबस्त मिलाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ बताउँछन् । ट्राफिकलाई बन्दोबस्तीसहित फिल्डमा खटाइने गरेको उनले बताए पनि ट्राफिक प्रहरीहरू निर्धक्कका साथ सडकमा निस्कनका लागि जोखिम भने टरेको छैन ।

ट्राफिकहरूलाई सडकमा हुने दुर्घटनाको जोखिम न्यूनीकरणलाई मध्यनजर गर्दै पर्याप्त नीति र मापदण्ड तयार नभएको हुँदा यस्ता दुर्घटना भविष्यमा बढ्न सक्ने सम्भावना रहेको सडक सुरक्षाविज्ञ भगवती सेढाईंले बताइन् । ट्राफिक पोसाक लगाएर दिनहुँ सडक सुरक्षा र व्यवस्थापनमा खटिने प्रहरीहरूलाई कुन बेला सडकमै दुर्घटनाको सिकार बन्ने हो थाहा हुँदैन । ‘श्रम ऐनले उनीहरूको कार्यक्षेत्रमा सुरक्षाको विषयमा समेटेको भए पनि सडक सुरक्षासम्बन्धी कार्ययोजना र मापदण्डहरूले नसमेटेको छैन,’ सेढाईंले भनिन् । उनका अनुसार पैदलयात्रीका लागि फुटपाथमा हिँड्ने र सवारी चालकका लागि दाहिनेतिरबाट ओभरटेक गर्नेजस्ता नियम ट्राफिक प्रहरीका लागि बनेका छैनन् । ‘एक दिनको अभिमुखीकरण कक्षा गराएर सडक सुरक्षामा पठाइने चलन छ, न तालिम छ, न प्रशिक्षण, न पुनर्ताजकी तालिम छ,’ उनले भनिन् ।

सडकको बीचमा उभिएर सडक व्यवस्थापन गर्ने परम्परागत अभ्यासबाट प्रविधितर्फ परिष्कृत गर्नुपर्ने यातायातविज्ञ आशिष गजुरेलको सुझाव छ । ‘अझै पनि चोकको बीचमा ट्राफिक उभिनलाई पर्याप्त सुरक्षित ठाउँ अर्थात् आइल्यान्ड बनेका छैनन्,’ गजुरेलले भने, ‘त्यस्तै ट्राफिक रहने अधिकांश स्थानहरूभन्दा अगाडि हम्प्स वा रम्बल स्ट्राइपस (सवारीको गति घटाउन प्रयोग गरिने उबडखाबड) उपलब्ध छैनन् ।’ अझ विभिन्न ठाउँमा ट्राफिक बत्तीहरू नचल्ने हुँदा ट्राफिक प्रहरीहरूको थप कार्यभार बढेको मात्र छैन, उनीहरू दिनभर सडकबीच नै उभिनुपर्ने बाध्यता छ । यस्तै कारणहरूले गर्दा ट्राफिकहरूका निम्ति हरेक दिन जोखिम बढ्दै गएको गजुरेल बताउँछन् ।

विदेशमा जसरी प्रविधिमैत्री ट्राफिक व्यवस्थापन र सञ्चालनका निम्ति नयाँ योजनाहरू तयार गर्दै, लागू गर्दै जानुपर्ने गजुरेलले बताए । यसले ट्राफिकहरूको सुरक्षासँगै सडक व्यवस्थापनलाई प्रभावकारी, मितव्ययी बनाउने बताए । ‘सडक आफैंमा जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँ दिनभर उभिएर सवारीसाधनबीच काम गर्नु असुरक्षित हुने नै भयो, प्रविधिको प्रयोग बढाए यो समस्या न्यूनीकरण हुँदै जान्छ,’ गजुरेलले बताए । ट्राफिक प्रहरी नै दुर्घटनामा परेको घटना बढ्दै जानुले सडक प्रयोग गर्ने जोकोही यात्रुलाई त्रसित बनाउने र देशकै सडक सुरक्षाको दयनीय अवस्थालाई छर्लङ्ग पारिदिन्छ । त्यति मात्र नभई यस्ता जोखिम न्यूनीकरण हुन नसके भविष्यमा ट्राफिक प्रहरीको पेसा नै जोखिमपूर्ण हुँदै जाने विज्ञहरूको तर्क छ ।

– प्रशिक्षार्थी

प्रकाशित : चैत्र ६, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?