३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
सत्ता गठबन्धनमा खटपट

सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन कांग्रेस तयार

काठमाडौँ — सुदूरपश्चिममा सरकार गठनका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री लिएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।

सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन कांग्रेस तयार

यसअघि नेकपा एस र कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गठबन्धनमा मुख्यमन्त्री पाउने गरी नेकपा एसले समर्थन फिर्ता लिएपनि कांग्रेसले फेरि नेकपा एसका संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी प्रस्ताव गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बेलुका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सुदूरपश्चिमबाट नयाँ सहकार्यको सुरुवात गर्न प्रस्ताव गरेका थिए । देउवा र नेपालबीच गल्फुटारस्थित कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवासमा बुधबार साँझ ६ बजेदेखि करिब एक घण्टा संवाद भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनदेखि कोशी र अन्य प्रदेश तथा केन्द्रीय राजनीतिका विषयमा समेत छलफल भएको थियो ।

नेपालसँग छलफलपछि सभापति देउवाले बिहीबार बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले अहिले बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग समेत परामर्श गरेका छन् । सभापति देउवाले प्रदेश सरकारहरुका विषयमा कानूनविद्सँग समेत छलफल गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा वैकल्पिक गठबन्धनबाट सरकार बनाउने प्रयास भएको एक नेताले बताए । 'सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस ठूलो दल हो । नेकपा एस र नागरिक उन्मुक्तिले साथ दिएको अवस्थामा केन्द्रकोभन्दा फरक गठबन्धनको सरकार बन्ने अवस्था छ,' ती नेताले भने, 'हामीले नेकपा एसकै नेतृत्वमा सरकार गठन र आगामी सहकार्यका लागि बाटो खुला गरेका मात्रै हौँ ।' ती नेताका अनुसार छलफल सकारात्मक ढंगले अघि बढेको छ ।

नेकपा एसले प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीकारुपमा अघि बढाउने निर्णय गरिसकेको छ । तर सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएका छन् । एमालेको अडानका कारण बिहीबार बिहानसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेबारे गठबन्धन नै अनिर्णित छ ।

यसअघि पनि गठबन्धनले मुख्यमन्त्री नदिएपछि नेकपा एसले कांग्रेससँग मिलेर सरकार बनाउन तयार भएको थियो । त्यसो त सुदूरपश्चिममा नेकपा एस गठबन्धनबाट बाहिरिए वर्तमान सत्ता गठबन्धनमा संकट पैदा हुने निश्चित छ ।

कांग्रेसले केन्द्रमा समेत सहकार्य गरेर अघि बढ्न यसअघि नै नेकपा एसलाई प्रस्ताव गरिसकेको छ । फागुन २१ गते नयाँ गठबन्धन बनेको भोलिपल्ट माधव नेपाललाई भेट्न देउवा उनकै निवास पुगेका थिए । बिरामी भएर स्वास्थ्यलाभ गरिरहेका नेपालसँग त्यतिबेला कांग्रेसहितको नयाँ समीकरण बनाउन देउवाले आग्रह गरेका थिए।

सुदूरपश्चिममा प्रदेश मियाँले दोश्रोपटक बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गरी नयाँ सरकार गठनका लागि गरेको आह्वानको समयसीमा पनि आज साँझ सकिँदैछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ जना छन् । कांग्रेसका १८, एमाले र सभामुखबाहेक माओवादीका १०–१०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद रहेका छन् । बहुमत पुर्‍याउन कम्तीमा २७ सांसदको आवश्यकता रहेको छ ।

प्रकाशित : वैशाख ६, २०८१ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?