१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौँ — सत्तारुढ नेकपा एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्दै छ । ललितपुरको गोदावरीमा रहेको सनराईज हलमा शनिबार र आइतबार महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने शुक्रबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमालेको शनिबारदेखि महाधिवेशन प्रतिनिधि परिषद् बैठक

उनका अनुसार परिषद् बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी पूरा भएको समेत उनले बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‍यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

एमालेलाई कसरी अगाडि बढाउने निर्क्यौल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले मुलुकको ओरालो यात्रालाई रोकेर मुलुकलाई सकारात्मक दिशा दिने प्रयत्नको संश्लेषण परिषद्को बैठकबाट गर्ने बताए ।

बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताए । उनका अनुसार परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजनको पनि समीक्षा गरिनेछ । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।

यसैबीच, एमालेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको हीरक महोत्वस मनाउने भएको छ । एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रमसहित हीरक महोत्सव मनाउन लागेको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिको रुपमा सहभागी हुने एमाले महासचिव शंकर पोखरेलले बताए ।

समारोहमा एमालेले भने पार्टीको तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोहअवरोह समावेश गरिएको भिडियो डकुमेन्ट्री प्रस्तुत गर्नेछ । महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको विकास र समृद्धिको सन्दर्भसहितको पार्टीको भावी कार्यक्रमबारे पनि एमालेले समारोहमा आफ्नो दृष्टिकोणहरु राख्ने बताए ।

प्रकाशित : वैशाख ७, २०८१ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?