कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

लेयर्समा जमेका युवराज

अन्डाका लागि गाउँमै लेयर्स कुखुरा पाल्न थालेका उनी अहिले जिल्लामै बढी अन्डा उत्पादन गर्ने फर्म चलाएर वार्षिक १० लाख रुपैयाँ बढी कमाइ गरिरहेका छन् ।
मनोज पौडेल

कपिलवस्तु — बाह्र वर्षअघि गाउँका प्रायः युवा रोजगारीका लागि खाडी मुलुक जाने क्रम बढ्दो थियो । इलेक्ट्रिसियनको काम सिकेकाले शिवराज नगरपालिका–४ डकैयाका ४३ वर्षीय युवराज अधिकारीले रोजगारीका लागि कतार जाने सोच बनाए ।

लेयर्समा जमेका युवराज

भिसा आइसकेपछि काम र दामबारे सोधखोज गर्दा विदेश गएर पनि त्यति गतिलो कमाउन सकिने लागेन । एक्कासि मन बदलेर उनले गाउँमै कुखुरा पाल्ने योजना बनाए ।

अन्डाका लागि गाउँमै लेयर्स कुखुरा पाल्न थालेका उनी अहिले जिल्लामै बढी अन्डा उत्पादन गर्ने फर्म चलाएर वार्षिक १० लाख रुपैयाँ बढी कमाइ गरिरहेका छन् । २०६८ मा ऋणधन गरेर तीन सय लेयर्सबाट सुरु गरेर अर्को वर्ष १२ सय कुखुरा पुर्‍याए । अधिकारी एग्रो प्रोडक्ट फर्म दर्ता गरेर ७ वर्षयता उनले ५ हजार लेयर्स पालिरहेका छन् । उनको फर्मबाट दैनिक ४५ सय अन्डा बुटवल, भैरहवा, पोखरालगायतका बजारमा पुर्‍याइरहेका छन् । अन्डा बेच्न पनि उनी आफैं खटिन्छन् ।

साइकल/मोटरसाइकलमा राखेर अन्डा बेच्न सुरु गरेका उनले अचेल अन्डा बेच्न अटो लोडर लिएर जान्छन् । अन्डा बिक्रीबाटै भएको कमाइले गत वर्ष साढे ७ लाख रुपैयाँमा लोडर किनेको उनले बताए । उनले गत वर्ष १० लाख रुपैयाँमा दाना बनाउने मेसिन पनि किनेका छन् ।

‘केज सिस्टमको खोर बनाउन बैंकबाट लिएको ६० लाख ऋण लगभग तिरिसकें । दानामा बढी खर्च हुन थालेपछि आफैं बनाउन थालेको छु । १० लाखमा मेसिन किनेपछि कम खर्चमा पोसिलो दाना बनाइरहेको छु,’ उनले भने, ‘परिवारसँग बसेर घरकै माटोमा पसिना बगाएर राम्रै आम्दानी भइरहेको छ । लगन र आँट गरेर काम गरे सफल हुन सकिने रहेछ ।’ फर्ममा भएका सबै कुखुराको बिमा गराउन उनले वर्षको ५० हजार रुपैयाँ लगानी गरेका छन् । गत वर्ष दाना बनाउने कच्चा पदार्थ मात्रै ९० लाख रुपैयाँको किनेको उनले सुनाए ।

केज सिस्टममा कुखुरा पालिरहेका उनले लागत धेरै भए पनि सानो ठाउँमा धेरै पाल्न सकिने बताए । उनले डेढ/डेढ फिट लम्बाइ/चौडाइको मेसवायर जालीको एउटा क्याबिनमा ४ वटा कुखुरा पालेका छन् । ९५ फिट लामो ६ वटा लाइनमा ९ सय ४० क्याबिन छन् । पानी र दाना अटोमेटिक सिस्टमबाट पुग्छ । चुच्चोले धारामा छुनासाथ पानी झर्छ । अन्डा पनि झरेर एक ठाउँमा जम्मा हुन्छन् । यसकारण कुखुरा रेखदेख गर्न कम जनशक्ति लागेको उनले सुनाए 

। ‘कुखुराको सुली ६ फिट तल जमिनमा खस्छ । कुखुरालाई सुलीकै कारण लाग्ने धेरै रोगव्याधिमा यसले कमी आउँछ,’ उनले भने, ‘कुखुराको सुली खेतबारीका लागि मलका रूपमा बेचेर थप आम्दानी पनि लिइरहेको छु ।’ एक दिनको चल्ला ल्याएर हुर्काएपछि साढे ५ महिनापछि अन्डा दिन सुरु गर्छ । झन्डै १८ महिनासम्म अन्डा दिन्छ । अन्डा दिन छाडेपछि मासुका रूपमा कुखुरा बेचिन्छ । यसले पनि आम्दानी थपिरहेको उनले बताए ।

प्रकाशित : वैशाख १४, २०८१ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?