१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

कतारी अमिरको नेपाल भ्रमणको अर्थ

पाठक पत्र

कतार पछिल्लो दशक विश्वमै चिरपरिचित तथा समृद्ध मुलुकमा दरिएको छ । तिनै कतारका अमिर (राजा) तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणमा नेपाल आएका छन् । नेपाल–कतार दौत्य सम्बन्धको झन्डै आधा शताब्दी हुन लाग्दा उताबाट यो तहको अति विशिष्ट भ्रमण पहिलो हो ।

कतारी अमिरको नेपाल भ्रमणको अर्थ

हाम्रोबाट राष्ट्र प्रमुख तथा सरकार प्रमुख तहबाट पटक–पटक कतार भ्रमण भइसकेको नजिर छ । हाम्रो वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्ये कतार एक हो । यस पटक केही श्रम सम्झौता पुनरावलोकनसहित केही क्षेत्रमा समझदारी हुने समाचार छ ।

तर श्रमिक हितलाई प्राथमिकतामा राख्दै दुई देशीय हित हुने समझदारी होस् । कतारबाट हामीलाई दिगो विकास वा चिनो हुने विकासमा थप सहायता हुन सक्छ । तिनले पछिल्लो आधुनिक मेट्रो तथा हवाई सेवादेखि कृषि क्षेत्रमा गरेको कायापलट उदाहरणीय हुन् । विश्वकप जस्तो संसारकै प्रतिष्ठित खेल आयोजना भर्खरै सम्पन्न गरेको छ ।

पश्चिम एसियामा बेलाबखत देखा पर्ने संकटमा कतारले मध्यस्थता गरेर शान्ति कायम गरेको उदाहरण पनि छ । पश्चिम एसियामा मात्रै होइन, अमेरिका तथा युरोपसम्म कतारको विशेष खालको सम्बन्ध छ । विश्व नक्सामा सानो भए पनि हरेक क्षेत्रमा यसको परिचय बदलिएको छ ।

विगतमा मन्त्रीस्तरमा भएका भ्रमणमा जसरी यस पटक केही थान विलासी मसिर्डिज र डिप्लोम्याट भिसा छुट जस्ता झिनामसिना सरसहयोगमा केन्द्रित नहोस् ।

हामीले राम्रोसँग सम्बन्ध कायम गर्दै राजालाई नै प्रस्ताव गर्दा ठूला विकास आयोजनामा सहयोग मिल्न सक्छ । म आफैं कतार एयरवेजमा दुई दशक अगाडि जागिर खान जाँदा तीन दर्जन जति जहाज र चालीस जति मुलुकमा सरकारी ध्वजावाहकको सेवा थियो ।

आज दुई सय जति गन्तव्यमा अढाई सयभन्दा बढी जहाजले यात्रु तथा कार्गो सेवा दिइरहेका छन् । आज संसारका नाम र स्तरमा पाँच विश्वप्रख्यात हवाई सेवा कम्पनीको नाम लियो भने कतारको पनि आउँछ । नेपालमा पनि सायद सबैभन्दा बढी यात्रु सेवा दिने अन्तर्राष्ट्रिय जहाज कम्पनीमा कतार एयरवेज पनि आउन सक्ला ।

बेलाबखत पोखरा र भैरहवासहित काठमाडौंको विमानस्थल व्यवस्थापनका कुरा आउँदा साझेदार गर्न इच्छुक भनेर कतार एयरवेजको नाम पनि पढिन्छ । पर्यटन तथा आधुनिक कृषि र पशुपालनमा समेत कतारको सहायता हुन सक्छ ।

केही वर्षअघि खाडीका केही मुलुकबाट नाकाबन्दी व्यहोर्दा तिनले राताराज युरोपबाट हवाईजहाजमा दूधालु गाई ल्याएर दूधमा परनिर्भरता हटाएको समाचार पढेको थिएँ ।

उसरी नै कतारले टनेल कृषिमा पनि उत्तिकै प्रगति गरेको छ, जहाँ कामदारको रूपमा हाम्रै दाजुभाइले श्रम गरिरहेका छन् । यी क्षेत्रमा सहायता पाउँदा हामीले सहजै धेरै लाभ लिन सक्छौं । हाम्रो जस्तो अपार प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुकमा खाडीका नागरिकबाट खासै पर्यटकीय भ्रमण भएको पाइँदैन ।

यस्ता राजकीय भ्रमणमा समय र मौसम अनुकूल हुँदा राजा जस्ता विशिष्ट पाहुनालाई सगरमाथा क्षेत्रको हवाई तथा हेलिकोप्टरबाट दृश्यावलोकन गराउन सके यसको सन्देश तिनका मुलुकसँगै संसारमा पनि पुग्नेछ ।

उसरी नै यस्ता विशिष्ट पाहुनालाई रारा तथा शे फोक्सुन्डो तालसम्म हवाई भ्रमण गराउन सके यसले तिनको अनुभूति भोलि मिडियामा आए अन्य जनता तथा देशका विशिष्टले भ्रमणमा इच्छा जाहेर गर्न सक्छन् ।
– श्रीकृष्ण राजवंशी, सुनकोशी–३, सिन्धुली

दुई दशकअघिसम्म कतार उजाड थियो । विश्व स्तरका गगनचुम्बी भवन वा सपिङ मलहरू थिएनन् । विशाल पेट्रोलियम/ग्यास भण्डार भएको यो सानो मुलुकको महत्त्वाकांक्षा ठूलो थियो । त्यही महत्त्वाकांक्षालाई मूर्तरूप दिन सक्दा कतार छोटो समयमै समृद्ध मुलुक बनेको छ ।

अहिले पश्चिमी मिडियाको दशकौंको प्रभुत्वलाई चुनौती दिने अलजजिरा समाचार च्यानल कतारमै छ । कतार एयरवेजले पश्चिमी एयरलाइन्सको प्रभुत्वलाई खुम्च्याइदियो । विश्वकप फुटबलसमेत कतारले आयोजना गर्‍यो । आकारमा सानो भए पनि कतार विश्वव्यापी भूराजनीतिको प्रमुख खेलाडी बनेको छ ।

प्यालेस्टाइन र अफगानिस्तान संकटमा मध्यस्थताको भूमिका निर्वाह गर्छ । दुई क्षेत्रीय प्रतिद्वन्द्वी इरान र साउदी अरबबीच पुलको काम पनि गर्छ । अन्य खाडी मुलुकले कतारको ठूलो प्रभावको ईर्ष्या गर्छन् । एक पटक खाडी मुलुकहरूले कतारविरुद्ध आर्थिक नाकाबन्दी नै गरे ।

कतारले पूर्वाधारमा हासिल गरेको समृद्धि नेपाली आप्रवासी कामदारबिना असम्भव थियो भन्ने बिर्सनु हुँदैन । यो मरुभूमि राज्यका लागि हाम्रा देशवासीले रगत र पसिना दिएका छन् । यसमा कतारले निम्न माध्यमबाट कृतज्ञता देखाउनुपर्छ ।

१. हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई तुरुन्त रिहामा सहयोग
२. पेट्रोलियम पदार्थ सहुलियत मूल्यमा सिधै हवाई
ट्यांकरबाट आपूर्ति
३. उत्पादनमूलक उद्योगहरूमा लगानी
४. चिया र तरकारी जस्ता नेपाली कृषि उत्पादन आयात
५. नेपाली कामदारको तलब वृद्धि
– उज्ज्वल श्रेष्ठ, कुसुन्ती, ललितपुर

राष्ट्रपति रामचन्द्र पौडलको निमन्त्रणामा राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । फिलिपिन्स र बंगलादेशको भ्रमणपछि दुई निजी विमान लिएर नेपाल आएका अमिरको सम्मानमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ ।

नेपालका श्रमिकको प्रमुख गन्तव्यमध्ये एक बन्दै आएको मुलुकबाट राजा नै आउँदा सबै खुसी छन् । सन् १९७७ मा कतारसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भए पनि २० वर्षपछि नेपालका तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सो देशको औपचारिक भ्रमण गरेका थिए भने ४७ वर्षपछि कतारका अमिर नेपाल आइपुगेका हुन् ।

यथार्थमा अहिलेसम्म कतारलगायत अन्य खाडी मुलुकबाट कुनै राष्ट्र प्रमुखले नेपालको औपचारिक भ्रमण गरेका थिएनन् । यता नेपालबाट भने राजा वीरेन्द्र, ज्ञानेन्द्र, पूर्वराष्ट्रपतिद्वय रामवरण यादव, विद्यादेवी भण्डारीदेखि पूर्वप्रधानमन्त्री एवं एक दर्जन उच्च पदाधिकारीले कतारको भ्रमण गरिसकेका छन् ।

साढे तीन दशकसम्म मुलुकमा केही गर्न नसकेका, अरूको आसमा बसेका नेपाली शासक लाइन लागेर कतार भ्रमणमा जानुलाई अस्वाभाविक पनि मान्न सकिँदैन । अहिलेसम्म नेपालका १७ लाखभन्दा बढी श्रमिकले कतारमा काम गरिसकेका र हाल साढे तीन लाख कार्यरत रहेको बताइन्छ ।

यतिबेला कतारका राजाको भ्रमणमा श्रम, पर्यटन, जलविद्युत्, स्वास्थ्य, खेलकुद, संस्कृतिलगायत क्षेत्रमा समझदारी हुने विषय उल्लेख्य छन् । तथापि न्यून खर्चमा नेपालको पहिचान बढाउने, कतारी राजाको भ्रमणलाई सुनौलो अवसर ठानेर पर्यटन व्यवसायलाई उचाइमा पुर्‍याउने प्रयास कसैबाट भएको पाइँदैन ।

कतारलगायत खाडी क्षेत्रका अन्य मुलुकमा रहेका नेपालीले विभिन्न कार्यक्रम आयोजना गर्दा आफ्नो मुलुकको पर्यटन प्रवर्द्धन गर्ने अवसरमाथि पनि सत्ताधारी, सरोकारवालाको ध्यान पुगेको छैन ।

२७ लाख मानिसको बसोबास भएको सानो मुलुक कतार सुशासन अँगाल्दै समृद्धिको उचाइमा पुग्दा कुशासनले थलिएका हामी गरिबीको झन्डा बोकेर खाडीमा गिड्गिडाइरहन बाध्य छौं ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख १२, २०८१ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?