१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

मदन भण्डारीको घर मर्मत गरिँदै

आनन्द गौतम

काठमाडौँ — तत्काली एमाले महासचिव मदन भण्डारीको जीर्ण अवस्थामा रहेको घर मर्मत गर्न लागिएको छ । स्वर्गीय भण्डारीको घर मर्मत गर्न राष्ट्रिय युवा संघ र अनेरास्ववियु तम्सिएका छन् । घरको स्वरुप नबिग्रने गरी छाना फेर्ने, घर मर्मत गर्ने र वरिपरिको क्षेत्र सरसफाई गर्ने कामलाई तीव्रता दिइएको युवा संघका केन्द्रीय सदस्य गोपाल न्यौपानेले जानकारी दिए । 

मदन भण्डारीको घर मर्मत गरिँदै

उनका अनुसार खरको छानो चुहिन थालेपछि त्यही स्वरुपमा रहने गरी छानो फेर्न लागिएको हो । खाम्लुङ, सान्थाक्रा लगायतका स्थानबाट खर काटेर ल्याइएको न्यौपानेले बताए । ‘सोमबार पहिलो दिन हामी ३०/३५ जनाले छानोको खर निकाल्ने, व्यवस्थापन गर्ने, छानामा लगाउने डाँडाभाटाको काम गर्‍यौं,’ न्यौपानेले भने, ‘अब दक्ष कालिगढ लगाएर छानो छाउने, घर मर्मत गर्ने गर्छौं र हामी चाहिँ वरिपरिको क्षेत्र सरसफाइमा लाग्छौं ।’ सदरमुकाम फुङलिङबाट गएको टोली तीन दिनसम्म गाउँमै बसेर काम गर्ने उनले बताए ।

मैवाखोला गाउँपालिका-१ ढुङगेसाँघुमा रहेको घर अहिले खाली छ । बसाइँसराइको क्रम बढी रहँदा र गाउँघरका घर खाली हुँदा मदन भण्डारीको घर स्याहारेर बस्नेप नि कोही भेटिएको छैन । पार्टीका कार्यकर्ता बेलाबेला गएर सरसफाई गर्ने लगायतका काम गर्दै आएका छन् । विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा यो घरमा आएकी थिइन् । एमाले नेता भण्डारी २००९ साल असार १४ गते यही घरमा जन्मिएका थिए । २०२६ सालमा मोरङमा बसाइ गएका थिए । २०५० जेष्ठ ३ गते दासढुंगामा भएको दुर्घटनामा उनको मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख १२, २०८१ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?