कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मासिँदै सीप, हराउँदै मौलिक सामग्री

ठेकी बोक्ने जाबो, घाँस बोक्ने डोको, नाम्लो र विभिन्न थरीमा डोरी र बाबियोबाट बनाइएका ढकिया र पेटारो पाउनै छाडियो
महेश केसी

रुकुम पूर्व — सिस्ने गाउँपालिका–३ पोखराका ७९ वर्षीय देवबहादुर खत्री थरीथरीका सीपयुक्त काम गर्छन् । कुनै बेला यहाँबाट घिउ बेच्न रूपन्देहीको बटौली बजारदेखि नेपालगन्जसम्म पुग्ने गरेको उनले सुनाए । गाउँमा मोटर पुगेपछि आफ्ना ती दुःखका दिन हटेको उनको अनुभव छ । तर, साँझ–बिहान छाक जुटाउनु पर्ने बाध्यता भने टरेको छैन । त्यसैले जीविकोपार्जनका लागि दैनिक प्रयोगमा आउने सरसामान घरमै बनाउने गरेको उनले सुनाए ।

मासिँदै सीप, हराउँदै मौलिक सामग्री

घरेलु उत्पादनको प्रयोग पहिलेजस्तो छैन । त्यस्ता सामानको प्रयोग हराउँदै गएपछि उनलाई चिन्ता लागेको छ । नयाँ पुस्ता यस्तो सीप सिक्न खोज्दैन । देवबहादुर आफूले जानेको सीप संकटमा पर्दै गएको बताउँछन् । नयाँ पुस्ताले सिक्न चासो नदिएको दुखेसो उनको छ । ‘डोको, नाम्लो घरमै बनाउँथ्यौं,’ उनले भने, ‘पशु–चौपाया बाँध्ने दाम्लोदेखि अन्नपात भण्डारण गर्ने कोठा अनि सुपो, झर्ना र ढकिया पनि बुन्थ्यौं ।’ घरमा अहिले यस्ता सामान छन् । ती पुराना हुँदै गएका छन् । बिक्री नभएपछि बनाउने जाँगर चल्न छाडेको उनले बताए ।

खत्रीको मात्रै यस्तो अवस्था छैन । मौलिक सीप जानेको पुस्ता पाको हुँदै छन् । नयाँ पुस्ताले सिक्न चासो देखाएनन् । त्यसैले गाउँघरबाट मौलिक सीप हराउँदै गएको छ । ग्रामीण बस्तीमै यस्ता सामग्री हराउन थालेका छन् । भिमलको र अल्लोको डोरी अनि निगालो र बाँसको चोयाबाट बनाइने घरायसी सामग्रीको उत्पादनसँगै प्रयोग पनि घट्दो छ । सिस्ने–३ की चन्द्रकला खड्का बुवा–आमाले बुनेका डोका–नाम्ला प्रयोगमा आउन छाडेको बताउँछिन् । बजारमा आउने प्लास्टिकका तयारी सामानको प्रयोग हुन थालेपछि घरेलु उत्पादन बिक्री ठप्प भएको उनको अनुभव छ ।


स्थानीय ८४ वर्षीय मनराम बुढा भिमल र भाङ्गोका डोरीबाट नाम्लो र डोरी बनाएको सम्झिन्छन् । ‘भिमलको पात, घाँस अनि डालोलाई पानीमा भिजाएर लोक्ता निकाली घाममा सुकाएर डोरी बनाउँथ्यौं,’ उनले भने, ‘भाँगोको पनि डाठको बाहिरपट्टिको बोक्रा निकालेर डोरी बनाइन्थ्यो । यसैलाई प्रयोग गरेर बरियो (नाम्लो) अनि भैंसी बाँध्ने दाम्लोदेखि धेरै सामग्री बनाउँथ्यौं ।’ यसरी बनाएको डोरी लामो समय टिक्ने र प्रयोग गर्न पनि सहज हुने गरेको उनको भनाइ छ । यसको साटो बजारिया प्लास्टिकको डोरी नै प्रयोग हुने बताउँछन् ।

बाँस र निगालोको चोया काढेर बनाइएका विभिन्न थरीका डोको लगायत सामान बुन्ने सीप हराउँदै गएको सिस्ने–२ का टलकबहादुर खड्काले बताए । फागुन–चैतमा वनमा गएर निगालो ल्याएपछि चोया निकालेर डोको, मान्द्रो बुन्ने गरेको उनले सम्झिए । उनका छोराले सीप सिकेका थिए । तर, उनले निरन्तरता दिएनन् । अहिले आफैंलाई डोको आवश्यक परेका बेला नयाँ बुन्न नसकिने उनी बताउँछन् । घाँस–दाउराका लागि डोकोको प्रयोग अहिले पनि छ । तर, गाउँमा डोको बुन्ने मानिसको अभाव भइरहेको छ । आफूहरूको सीप पछिल्लो पुस्तामा हन्तान्तरण हुन नसकेको खड्काको भनाइ छ ।


सिस्ने–५ की सपना वीसीले अहिले पनि बाबियोबाट ढकिया, कुचो र विभिन्न डोरी अनि धानको परालबाट गुन्द्री, मकैको पोस्करबाट चकटी आदि तयार गर्ने गरेको बताइन् । तर, हस्तान्तरण नगर्दा समस्या भइरहेको उनले बताइन् । आमा र काकीबाट सीप सिकेको बताउँदै उनले अब यस्ता सामग्रीको प्रयोग हराउँदै गएको बताइन् । पोखराका ८१ वर्षीय दलवीर ओलीले पनि दैनिक प्रयोगमा आउने सबै सामान घरमै तयार गर्ने गरेको बताए । डोको, नाम्लोदेखि बरियो अनि अन्न भण्डार गर्ने थरीथरीका मौलिक भकारी बनाएको सम्झिँदै उनी भन्छन्, ‘हामीले चोयाबाट विभिन्न घरबुना मौलिक भकारी बनाउँथ्यौं । अनि ठेकी बोक्ने जाबो, घाँस बोक्ने डोको, नाम्लो र विभिन्न थरीमा डोरी र बाबियोको ढकिया र पेटारो बनाउँथ्यौं ।’

पशु–चौपाया चराउन वनपाखा चहार्दा हात खाली नगरेर यस प्रकारका सर–सामान बनाउने गरेको ओलीको भनाइ छ । ‘गाईभैसी चराउँदा पनि हाम्रो हात खाली हुन्थेन,’ पहिलेका दिन सम्झिँदै उनी भन्छन्, ‘साथी–साथीबीचमा यस्ता सर–सामान बनाउने प्रतिस्पर्धा नै पो हुन्थ्यो, कसले धेरै र कसले राम्रो बनाउने भन्ने । तर, अब त न त्यो जाँगर रह्यो, न ती बेलाका साथीसंगी । समय फेरियो, याद भने ताजै छ ।’


गाउँघरमा बनाइएका यसप्रकारका विभिन्न सामग्री अरू सामानसँग साटेर आपसका आवश्यकता पूरा गर्ने गरेको अघिल्लो पुस्ताको भनाइ छ । पोखराका देवबहादुर खत्रीले भने, ‘हामी दाम्लो बाट्थ्यौं अनि डोकोसँग साट्थ्यौं । यसरी साटफेर गरेर काम चल्थ्यो । यसो गर्दा धेरै चिज किन्नै पर्थेन ।’ पोखराकै तेजेन्द्र खड्काले आफूहरूले बा पुस्ताबाट केही सीप सिकेको भए पनि त्यसको व्यावहारिक प्रयोग निकै कम भइरहेको बताए । ‘हरेक कुराको विकल्प आयो । यसकारण हामी पनि अल्छी हुँदै गयौं । अब त बजारमा पाइने तयारी सामान नै सजिलो लाग्छ ।’ दैनिक आवश्यकता मात्रै पूरा गर्नका लागि काम गर्ने समयबाट आफूहरू माथि आएको र समयसँगै मान्छेको जीवनशैली र आवश्यकताहरूमा पनि फरक आएकाले यसप्रकारका मौलिक सीपहरू मासिँदै जान थालेको खड्काको अनुमान छ । उनी थप्छन्, ‘हामीभन्दा अघिल्लो पुस्ताले खेतबारी र पशु–चौपायाकै सेवामा समय बिताए । हामी भने संसारसँग प्रतिस्पर्धा गर्न तम्सिएका छौं । अनि डोको–नाम्लो हाम्रो प्राथमिकतामै परेन ।’


स्थानीय वस्तुको बहुउपयोग गरेर दैनिक आवश्यकता पूर्ति गर्ने मौलिक शैलीमा ह्रास आएकामा पोखराकै पूर्वशिक्षक महेन्द्र केसीलाई राम्रो लागेको छैन । ‘हामी त हात खाली नगरेर काम गर्थ्यौं । छर–छिमेक र चौतारीमा सुस्ताउँदा पनि हातमा केही न केही काम हुन्थ्यो । यसरी काम गर्दा एकातिर सिर्जनशील भइन्थ्यो भने अर्कोतिर आवश्यतका पूर्ति हुन्थ्यो,’ उनी भन्छन्, ‘भिमलको पातलाई घाँस, डालीलाई दाउरा र बोक्राको डोरी बनाउँथ्यौं । निगालो अनि बाँसको पनि पातको घाँस, डालीको दाउरा र बोक्राको चोया निकालेर डोको बुन्थ्यौं । यसो गर्दा केही कुरा खेर जान्थेन । सबै प्रयोग हुन्थ्यो ।’


प्रकाशित : चैत्र १६, २०८० १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?