२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

सुर्खेत — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेका छन् । उनी गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकसीपछि मुख्यमन्त्री कँडेलले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर बिहीबार विश्वासको मत लिन लागेका हुन् । 

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

सामाजिक विकास मन्त्रालयलाई दुवै दलले आफ्नो प्रतिष्ठाको विषय बनाएपछि लामो समयदेखि मन्त्रिपरिषद् विस्तारमा समस्या भएको हो । तर मंगलबार बसेको दुवै दलको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याएको थियो । जसअनुसार माओवादीले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ । एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा योजना र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।

बुधबार बिनाविभागीय मन्त्री परियारलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका छन् । उनी हुम्ला १ (१) बाट निर्वाचित सांसद हुन् । दुवै दलबीच भागबन्डा टुंगिएसँगै मुख्यमन्त्री कँडेलले बिहीबार संसद्बाट विश्वासको मत लिने कार्यक्रमका लागि मंगलबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने एक एमाले सांसदले बताए ।

आकांक्षी धेरै भएपछि माओवादीले नयाँ सांसदलाई मन्त्रीमा पठाउने निर्णय गरेको छ । माओवादी सांसद कृष्णबहादुर जीसीले भागबन्डाको विषय मिलिसकेकाले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘दुवै दलको सहमति भइसकेकाले अब केही समस्या नहोला,’ उनले भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारका कामले पनि तीव्रता पाउनेछन् ।’

प्रकाशित : वैशाख १३, २०८१ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?