२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

नयाँ प्रतिद्वन्द्वी बहराइनसँग खेल्दै

विश्वकप र एसिया कप दुवैको छनोट रहेको खेलमा नेपालले बिहीबार बहराइनको सामना गर्दा नयाा इतिहास बन्नेछ, यो अन्तर्राष्ट्रिय फुटबलमा दुई देशबीचको पहिलो खेल हुनेछ  
हिमेश

काठमाडौँ — नेपालले सन् १९८२ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको मान्ने हो भने चार दशकभन्दा बढी भइसकेको छ । यसबीच नेपालले एसियाका लगभग सबै देशको सामना गरेको छ । तर, अहिलेसम्म बहराइनविरुद्ध खेलेको छैन । 

नयाँ प्रतिद्वन्द्वी बहराइनसँग खेल्दै

त्यसैले विश्वकप र एसिया कप दुवैको छनोट रहेको खेलमा नेपालले बिहीबार बहराइनको सामना गर्दा नयाँ इतिहास बन्नेछ । यो अन्तर्राष्ट्रिय फुटबलमा दुई देशबीचको पहिलो खेल हुनेछ । नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा बहराइन नयाँ प्रतिद्वन्द्वी रहनेछ ।

नेपालको पहिलो औपचारिक प्रतिद्वन्द्वी हो, कुवेत । भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले कुवेतविरुद्ध खेलेको थियो । त्यसयता नेपालले औपचारिक अन्तर्राष्ट्रिय फुटबलमा ४३ देशको सामना गरेको छ । यस्तोमा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा बहराइन ४४ औं प्रतिद्वन्द्वी रहनेछ । नेपालले अहिलेसम्म खेलेका टिममध्ये मौरिससलाई छाडेर अरू सबै एसियाली फुटबल महासंघ (एएफसी) को सदस्य रहेको छ ।

विश्वकप छनोटमा भने नेपालले सामना गर्न लागेको बहराइन १८ औं प्रतिद्वन्द्वी हुनेछ । नेपालले सन् १९८६ को विश्वकपको छनोट पहिलोपल्ट खेलेको थियो । त्यसयता नेपालले १७ टिमको सामना गरेको छ । पछिल्लो समय विश्वकपमा एसियाको नियमित प्रतिनिधित्व गरिरहेको दक्षिण कोरिया नेपालको विश्वकप छनोटमा पहिलो प्रतिद्वन्द्वी छ । त्यसबाहेक नेपालले विश्वकप छनोटमा मलेसिया, सिंगापुर, मकाउ, ओमान, जापान, काजकिस्तान र इराकको सामना गरेको छ ।

नेपालले विश्वकप छनोटमा टिमोर लिस्टे, जोर्डन, भारत, कुवेत, चाइनिज ताइपेई, अस्ट्रेलिया, लाओस, यूएई र यमनविरुद्ध पनि खेलेको छ । नेपालले विश्वकप छनोटमा अहिलेसम्म ४० खेल खेलेकोमा बहराइनविरुद्धको खेल ४१ औं हुनेछ । दुःखद संयोग कस्तो भने यो नेपालको ‘होम म्याच’ का रूपमा खेलिनेछ । त्यसपछि मंगलबार हुने अर्को खेल भने बहराइनको आफ्नो ‘होम म्याच’ हुनेछ । यसपल्टको एसियाली विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा छ ।

नेपालको यस समूहमा यूएई र यमन पनि छन् । समूहमा सबै टिमले २–२ खेल खेलेका छन् । नेपाल आफ्नो दुवै खेल गुमाएर शून्य अंकमा अन्तिम स्थानमा छ । यूएईले दुवै खेल जितेर ६ अंकसहित शीर्षस्थानमा छ । त्यसपछि बहराइन र यमनको तीन ३ अंक छ । उनीहरू दुवैले एक खेल जितेको छ भने एक खेल गुमाएको छ । नेपालले खेलेका दुई खेलमध्ये यूएईसँग ४–० र यमनसँग २–० को हार बेहोरेको छ ।

नेपालको ऐतिहासिक जित

बहराइनको कुनै औपचारिक टिमविरुद्ध खेल्न लागेको भने यो पहिलो पटक होइन । नेपालले बहराइनको यू–२३ टिमविरुद्ध एकपल्ट खेलेको थियो र त्यसमा ३–० को जित निकाल्दै ऐतिहासिक सफलता चुमेको थियो । जतिबेला अहिलेको विश्वकप छनोटमा बहराइनको सामना गर्नेछ, त्यतिबेला नेपाली टिमसँग त्यस खेलको मीठो सम्झना भने रहनेछ । त्यो खेल थियो सन् २०१६ को बंगबन्धु गोल्डकपको फाइनल । त्यही खेल जितेर नेपालले २३ वर्षको उपाधिविहीन यात्रा टुंग्याएको थियो ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको उक्त खेलमा नेपालको प्रदर्शन उच्च रह्यो । संयोग कस्तो थियो भने नेपालले सन् १९९३ मा अन्तिम पटक त्यही बंगबन्धु रंगशालामै भारतलाई टाइब्रेकरमा हराएर दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलको स्वर्ण जितेको थियो । बहराइन यू–२३ विरुद्धको उक्त खेलमा विमल घर्तीमगरले पाँचौं मिनेटमा गोलको खाता खोले । नेपालको एक गोलको अग्रता लगभग खेलको अन्त्यसम्म कायम थियो ।

विशाल राईले ८७ औं मिनेटमा दोस्रो गोल थपे र नेपालको जित निश्चित जस्तै देखिएको थियो । अझ दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा नवयुग श्रेष्ठले तेस्रो गोल गरेर बहराइनको खेलमा फर्कने सबै खाले सम्भावना समाप्त पारेका थिए । यो जितमा नेपाली गोलरक्षक विकेश कुथुको पनि उत्तिकै महत्त्वपूर्ण योगदान रह्यो । उनले शृंखलाबद्ध बचाउ गरे । के नेपालले यसपल्ट बहराइनको सामना गर्दा आठ वर्षअगाडि उसकै यू–२३ टिमविरुद्ध प्राप्त जितले प्रेरित गर्नेछ त ?

प्रकाशित : चैत्र ६, २०८० ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?