कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इण्डो–नेपाल ट्वान्टी २० क्रिकेट :  उपाधिका लागि मधेस प्रदेश र कोलकाता भिड्ने

चितवन — भरतपुरमा जारी इण्डो–नेपाल ट्वान्टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता भिड्ने भएका छन् । रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा समूहको शीर्ष स्थानमा रहेको भारतको क्षेत्रीय टोली  पीएसआरए ग्रुप लखनउलाई दुई विकेटले पराजित गर्दै मधेस प्रदेश फाइनलमा पुगेको हो । 

इण्डो–नेपाल ट्वान्टी २० क्रिकेट :  उपाधिका लागि मधेस प्रदेश र कोलकाता भिड्ने

जितको लागि लखनउले दिएको १४८ रनको लक्ष्य मधेस प्रदेशले १९.४ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्‍यो । मधेसलाई जित्न अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । अन्तिम ओभरको पहिलो बलमा प्रदीप पासवान रन आउट भए । दोस्रो बलमा अभिषेक तिवारीले रन जोड्न सकेनन् । तेस्रो र चौथो बलमा तिवारीले लगातार दुई छक्का प्रहार गर्दै मधेसलाई महत्त्वपूर्ण जित दिलाए ।

मधेसका लागि तिवारीले अविजित १४ बलमा २३ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै रोहन बिकले ५० बलमा ८३ रन बनाए । उनले ६ चौका र ६ छक्का प्रहार गरे । उनकै महत्त्वपूर्ण पारीले मधेसले बलियो टोली लखनउलाई पराजित गर्न सफल भयो । मधेसका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

लखनउका लागि प्रिन्स शाहीले चार ओभरमा १६ रन खर्चिएर पाँच विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । मोहम्मद सरिम र कार्तिक यादवले समान १ विकेट लिए । पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । लखनउका लागि सन्दीप मितलले २६ बलमा ३६ रन, निखिल रावले २२ बलमा २३ रन बनाए ।

मधेसका लागि भुलन सहनीले चार ओभरमा १५ रन खर्चिदै तीन विकेट लिए । विशाल पटेल र अभिषेक तिवारीले समान एक एक विकेट लिए । खेलमा महत्त्वपूर्ण पारी खेलेका मधेशका रोहन बिकप्लेयर अफ दि म्याच घोषित भए । लिग चरणमा लखनउसँग पराजित भएको मधेस चौथो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो । लखनउ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै अर्को भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले उपाधिका लागि मधेससँगको भिडन्त पक्का गरेको छ । सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य कोलकाताले १५.३ ओभरमा ३ विकेट गुमाउँदै १५० रन बनाएर जित हासिल गर्‍यो ।

कोलकातालाई सहज जित दिलाउन विकास चौधरीले ७१ रनको विस्फोटक पारी खेले । उनले ४२ बलमा पाँच छक्का र ६ चौकाको मद्दतमा ७१ रन बनाए । रमन कदयनले ३७ बलमा तीन छक्का र सात चौका प्रहरी गर्दै ६० रन बनाए । कुनाल नगरले ६ बलमा १३ रन बनाए । सुदूरपश्चिमका लागि नरेन साउदले चार ओभरमा ३७ रन खर्चिँदै दुई विकेट लिए । दीपक बोहोराले चार ओभरमा ३८ रन खर्चिएर एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १४४ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ५८ रन बनाए । उनले ४३ बलमा १ छक्का र ६ चौका प्रहार गरे । बसन्त कार्कीले १९ बलमा ३४, दीपक बोहोराले १३ बलमा १५ रन बनाए ।

मधेसलाई अलआउट गर्न कोलकाताका सन्दीप गुप्ताले तीन ओभरमा १६ रन खर्चिँदै महत्त्वपूर्ण चार विकेट लिए । सौरभ यादवले चार ओभरमा २१ रन खर्चिँदै तीन विकेट लिए । अभिषेक सिंह, प्रशान्त र मिलन यादवले समान एक विकेट लिए ।

खेलमा कोलकाताका विकास चौधरी प्लेयर अफ दि म्याच घोषित भए । लिग चरणमा सुदूरपश्चिम प्रदेशले कोलकातालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल पुगेको थियो ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित : चैत्र १६, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?