काठमाडौंमा विस्फोट

काठमाडौं विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो [अपडेट] 

काठमाडौंमा आइतबार अपराह्न भएको बम विस्फोटनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सुकेधारा विस्फोटमा थप एकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । सुकेधारा ढलान पुल नजिक दिउँसो बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेमध्ये ओम अस्पतालमा उपचाररत एक जनाको राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुकेधारा विस्फोटमा मृत्यु हुनेको परिचय अझै खुलेन, अनामनगर घटनामा चन्द कार्यकर्ताको मृत्यु 

घटना भएको चार घन्टा बितिसक्दा पनि सुकेधारा विस्फोटका मृतकको परिचय खुल्न सकेको छैन । अनामनगर विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको जनाएको छ । शाही प्रतिबन्धित चन्द समूहका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) इकाईका विधार्थी नेता हुन् । अनामनगर र सुकेधारामा लगभग दस मिनेटको अन्तरमा विस्फोट भएको थियो । 

गृहमन्त्रीद्वारा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । 

नागढुंगा नजिक बम विस्फोट, २ जना घाइते

काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ नागढुंगा नजिक बम विस्फोट भएको छ । आइतबार राति थानकोट बजारको इट्टाभट्टा नजिक बम विस्फोट भएको हो । थानकोटका डिएसपी कुमार थापाले घटनामा दुई जना घाइते भएको जानकारी दिए ।

लगनखेल र ग्वार्कोमा शंकास्पद वस्तु फेला

जिल्लाका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । लगनखेल बसपार्क र ग्वार्कोमा प्रेसर कुकरसहित शंकास्पद वस्तु भेटिएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । शंकास्पद वस्तु राति नै प्रहरीले नस्ट गरेको छ । घटनाबारे अनुसन्धानसमेत अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ । 

बम विस्फोटका घाइतेलाई ट्रमा र टिचिङ अस्पताल पुर्‍याइयो, दुईको अवस्था चिन्ताजनक

सिलिन्डर बम विस्फोटमा घाइते भएकाहरुलाई वीर र टिचिङ अस्तापल पुर्‍याइएको छ । उनीहरुमध्ये ट्रमा सेन्टरमा पुर्‍याइएका दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइते ट्रमामा पुर्‍याइएका घाइतेहरुमा मोहत्तरी रामनगर १ का ५६ वर्षीय छोटु ठाकुर र सानीभेरी रुकुमका २६ वर्षीय रविन केसी रहेका छन् ।

काठमाडौंका दुई स्थानमा भएको विस्फोटपछिका तस्बिरहरु

काठमाडौंमा आइतबार अपरान्ह बम विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर बम विस्फोटन हुँदा सुकेधारामा २ र अनामनगरमा १ गरी ३ जनाको मृत्यु भएको हो । घटनास्थलमा नेपाली सेना, प्रहरी, स्थानीयको भीड लागेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । विस्फोटनपछिका तस्बिरहरु ।

प्रहरी उच्च स्रोतले भन्यो- 'विस्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता हुनसक्छन्'

काठमाडौंमा ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विस्फोटन भएका स्थानमा चन्द नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ ।

काठमाडौंका दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते

सुकेधारा र अनामनगरमा आइतबार अपराह्न सिलिन्डर बम विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । बम पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ७ जना घाइते भएका छन् । सुकेधारामा ढलाने पुलनजिकको सटरभित्र र अनामनगरमा कोठाभित्र सिलिन्डर पड्किएको हो । मृतकको सनाखत भइसकेको छैन ।