सरकार र चन्द समूह वार्ता

चन्द समूहलाई मन्त्री बाँस्कोटाले भने, ‘छक्का पञ्जा गर्ने भए वार्ता हुँदैन’ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द समूहले छक्का पञ्जा गर्ने भए वार्ता नहुने बताएका छन् । ‘हामी वार्ता गर्न तयार छौँ, यो कुरा सरकारले धेरै पटक भनिसक्यो,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने,‘शक्ति सञ्चयका लागि वार्ता हुँदैन, पक्राउ परेका कार्यकर्ता छाड्नु पर्ने, मुद्दा फिर्ता लिनुपर्ने त्यसपछि उनीहरु वार्तामा आएनन् भने के गर्ने ? ।’ उनले छक्का पञ्जा गर्ने हिसाबले वार्ता नहुने स्पष्ट पारे । 

सरकार र चन्द समूहबीच कहिले तात्छ वार्ताको तावा ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र अर्धभूमिगत नेत्रविक्रम चन्द समूहबीच अनौपचारिक वार्ता सुरु भएको छ । सरकारसँग भने वार्ता सुरु भइसकेको छैन । चन्द समूहसँग कुनै न कुनै रुपमा वार्ता भइरहेको छ । नेकपाका नेताहरुले चन्द समूहका नेतासँग अनौपचारिक वार्ता गरिरहेका छन् । खासगरी भोजपुरमा चन्दका एक नेता र प्रहरी जवानबीच गोली हानाहानमा मृत्यु भएपछि यो अनौपचारिक वार्ताको सुरुवात भएको हो । औपचारिक वार्ताका लागि भने केही समय लाग्ने छ ।