सभामुख-उपसभामुख

उपसभामुखमा राधिका निर्विरोध 

प्रदेश ३ को उपसभामुखमा नुवाकोट क्षेत्र नं १ (क) की सांसद् राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसलगायत अन्य दलको उम्मेदवारी नपरेपछि एमालेको समर्थनमा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी माओवादी केन्द्रकी सांसद हुन् ।

प्रदेश ६ को सभामुखमा शाही र्निविरोध

प्रदेशसभाको सभामुखमा दैलेख २ (ख) बाट निर्वाचित सांसद राजबहादुर शाहीको एकल उम्मेदवारी परेको छ ।आइतबार दिउँसो १ देखि २ बजेसम्म तोकिएको समयमा शाहीको मात्रै मनोनयन दर्ता भएपछि र्निविरोध निर्वाचित हुने भएका हुन् ।

प्रदेश १ को सभामुखमा प्रदीप भण्डारी

लामो समयसम्म शिक्षण पेसामा रहेका धरान-१३ का ६३ वर्षीया प्रदीपकुमार भण्डारी प्रदेश १ को सभामुख बनेका छन् । निर्वाचन कार्यक्रमअनुसार आइतबार दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन दर्ताका क्रममा सभामुख पदका लागि भण्डारीको मात्र उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध भएका हुन् ।

सभामुखमा थापा निर्विरोध

प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् । उम्मेदवारी दर्ता प्रक्रियामा थापा निर्विरोध भए पनि निर्वाचित भएको औपचारिक घोषणाका लागि भने सोमबारको प्रदेशसभाको बैठकसम्म पर्खनुपर्ने भएको छ ।