कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

बझाङमा उपनिर्वाचनको तयारी पूरा, १५ सय सुरक्षाकर्मी परिचालन 

बझाङ — शनिबार हुने बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं–१, को उपनिर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रको व्यवस्थापन, मतदाता र मतदान केन्द्रको सुरक्षा लगायतका मतदानसँग सम्बन्धित तयारीहरु सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बझाङमा उपनिर्वाचनको तयारी पूरा, १५ सय सुरक्षाकर्मी परिचालन 

प्रदेशसभा निर्वाचन क्षेत्र नं–१ अन्तर्गतका ७४ मतदानस्थलमा रहेका ९३ वटै मतदान केन्द्रमा मतदानको तयारी पूरा भएको हो । मतदानस्थलमा डोरी टाँग्ने, दलका प्रतिनिधिहरुलाई परिचयपत्र वितरण गर्ने र मतदानसम्बन्धी आचारसंहिताबारे जानकारी दिने काम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहले बताए । ‘शनिबार हुने मतदानको लागि मतदान केन्द्र व्यवस्थापनको सबै तयारी पूरा भएको छ,' सिंहले भने, ‘सबै ठाउँमा शान्तिपूर्ण तरिकाले तयारी पूरा भएकोले मतदान पनि सौहार्द वातावरणमा हुनेमा हामी ढुक्क छौं ।' सबै मतदान केन्द्रमा चार सय ६५ जना कर्मचारीहरु व्यवस्थापनका लागि खटिएको उनले बताए ।

यस्तै मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार पाँच सय बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए । सुरक्षा समितिको विश्लेषणअनुसार २३ वटा मतदान केन्द्र अति संवेदनशील रहेकोले सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको कुइँकेलले बताए । ‘सुरक्षा संवेदनशिलता हेरेर सातदेखि १५ जनासम्म प्रहरी एउटा मतदान केन्द्रमा खटाइएको छ,' उनले भने, ‘आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गर्न मोबाइल टोली पनि तयारी अवस्थामा राखिएको छ ।' उनले नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले समन्वयात्मक रुपमा काम गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए । सुरक्षा तयारीको अनुगमन गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी उपरीक्षक प्रेम बस्नेत पनि बझाङ पुगेका छन् ।

मतदानपछि मतपेटिका सदरमुकाम ओर्सानका लागि पनि आवश्यक सवारी साधन र सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत शाहले बताए । साइपाल गाउँपालिकाको काँडा, धुली र न्युना केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने र अन्य केन्द्रको सडक सवारीमार्फत ल्याउने गरी तयारी भएको उनले बताए ।

उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं–१ मा ११ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यस निर्वाचन क्षेत्रमा ६१ हजार ७४८ जना मतदाता रहेका छन् ।

सदरमुकाम चैनपुरस्थित बालमन्दिर आधारभूत विद्यालय मतदानस्थल व्यवस्थापन गर्दै मतदान कर्मचारी र सुरक्षाकर्मीहरु । तस्बिर : वसन्तप्रताप सिंह ।

प्रकाशित : वैशाख १४, २०८१ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?