कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरी, बर्दिबास र बुटवलबाट श्रम स्वीकृति

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन इटहरी, बर्दिबास र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

इटहरी, बर्दिबास र बुटवलबाट श्रम स्वीकृति

‘जुन क्षेत्रबाट बढी कामदार विदेश गएका छन् । त्यही क्षेत्रमा श्रम स्वीकृति प्रदान गर्न कार्यालय स्थापना गर्नेछौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले भने, ‘पूर्वको इटहरी, दुई नम्बर प्रदेशको बर्दिबास र पश्चिमको बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको हो ।’ उनले यसलाई तुरुन्त कार्यान्वयनमा लैजाने गृहकार्य सुरु भइसकेको बताए । ‘विद्यमान कानुनी व्यवस्थाअनुसार फरक नपर्ने गरी सेवा दिन प्रक्रिया मिलाइहाल्न निर्देशन दिइसकेको छु,’ उनले भने, ‘कुन कुन प्रकारको श्रम स्वीकृति दिन मिल्छ । त्यो दिइहाल्छौं ।’

मन्त्रालयका अधिकारीहरुका अनुसार तत्काल श्रम स्वीकृति दिन मिल्नेछ । ‘बिदामा आएका कामदार श्रम स्वीकृतिको लागि काठमाडौं आउनुपरेन,’ विष्टले भने, ‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिको विषयबारे तुरुन्तै टुंगाउनेछौं ।’

पत्रकार सम्मेलनमा मन्त्री विष्टले वैदेशिक रोजगारलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्नको लागि सबै खाले ‘सिन्डीकेट’लाई हटाउने बताए । वैदेशिक रोजगार व्यवसायीहरुले स्वास्थ्य परीक्षणको नाममा ठूलो सिन्डीकेट रहेको बताउँदै आएका छन् । उनले कामदारलाई न्यून सेवा शुल्कमा कामदार पठाइने विषयमा गहनरुपमा छलफल भइरहेको बताए । ‘कामदार न्युन सेवा शुल्क तिरेर वैदेशिक रोजगारीमा जाने वातावरण मिलाउन सरोकारवाला पक्षसँग छलफल गरी तुरुन्तै निर्णय लिइनेछ,’ उनले भने ।

उनले सीपयुक्त जनशक्ति उत्पादन, सुरक्षित रोजगारको लागि आफूहरुले योजनाबद्ध रुपमा कामहरु अगाडि बढाउने बताए ।


प्रकाशित : चैत्र ६, २०७४ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?