कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महासेठ सबैभन्दा धनी मन्त्री !

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीमा दरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार सम्पत्ति विवरण बुझाएका प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीमध्ये महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी देखिएको छ । 

महासेठ सबैभन्दा धनी मन्त्री !

उनको धेरैजसो सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख गरेका छन् । नबिल, माछापुच्छ्रे, इन्भेस्टमेन्ट, एनआईसी एसिया र एभरेष्ट बैंकमा खाता भएको उल्लेख गरे पनि नगद कति छ भन्ने उल्लेख गरेका छैनन् ।

श्रीमती जुलीकुमारी महतोको नाममा धनुषा जनकपुर उपमहानगरपालिका ९ मा करिब ४२ सय वर्गफिटमा साढे दुई तले घर, उनकै नाममा ललितपुर उपमहानगरपालिका–२५ मा ५८ सय वर्गफिटमा बनेको साढे दुई तले घर रहेको उल्लेख छ । ललितपुरको जग्गा २०५६ मा जग्गा खरीद गरेर घर बनाएको उल्लेख छ । सगोलमा धनुषा मिथिला विहारी नगरपालिका ३ मा ६५ सय वर्गफिट पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै, श्रीमती महतोकै नाममा धनुषा छिरेश्वर नगरपालिकामा ८ विगाहा जमिन रहेको उल्लेख छ । उनकै नाममा सिन्धुलीको कमलामाई, ललितपुरको नख्खु र धोबिघाटमा जमिन रहेको उल्लेख छ । रघुबीरको नाममा धनुषामा ५ कठ्ठा र मिथिला विहारी नगरपालिकामा १ विगाहा १० कठ्ठा जमिन रहेको उल्लेख छ । नगद ७२ लाखसहित सुन २७ तोला, दाईजोबाट पाएको सुन २५ तोला दाईजो, चाँदी डेढ केजी, जवाहरात, औंठी, सिक्रिलगायतका गरगहना भएको उल्लेख छ । जवाहारत विदेशी पाहुनाबाट प्राप्त भएको महासेठले उल्लेख गरेका छन् ।

महतोका नाममा माछापुच्छ्रे, एनआईसी एसिया, स्टान्डर्ड चार्टड बैंकमा खाता भए पनि रकम खुलाइएको छैन । जुलिकै नाममा गुडविल फाईनाईन्स, काठमाडौंमा ७० हजारको सेयर, एनभिपिएल प्रालिमा ३७ करोड, कर्पोरेट बैंक वीरगञ्ज २ करोड ५० लाख, लक्ष्मी बैंक, काठमाडौं एक करोड ५० लाख, महिला अधिकार तथा विकास केन्द्र ५० लाख सेयर भएको उल्लेख छ ।

महासेठले नबिल बैंक, दरबारमार्गबाट दुई करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । यस्तै, करिब ३ करोड रुपैयाँ ऋण सापटी स्वरुप पटक पटक गरी लिएको पनि उल्लेख छ । जुलि महतोको नाममा २१ करोड रुपैयाँ ऋण लिएवापत जग्गा, घर, घडेरी घितो राखिएकोसमेत उल्लेख छ ।


प्रकाशित : जेष्ठ ९, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?