कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु

एजेन्सी

काठमाडौं — अफ्रिकी मुलुक केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षाका कारण राजधानी नैरोबी छेउको अथी नदीको स्तर आपत्कालीन तहभन्दा माथि पुगेको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ ।

वर्षाले सामान्य व्यापारमा पनि बाधा पुर्‍याएको छ । केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार भएको वर्षामा थप एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

बाढीका कारण केही क्षेत्रहरूसँगको सम्पर्क विच्छेद भएको छ । राजधानी नैरोबीको दक्षिणमा रहेको किटेंगेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौं व्यापारी तथा कामदार अलपत्र परेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार मध्य केन्याको किरिन्यागा काउन्टीमा मंगलबार थिबा नदीको किनार फुट्दा उनीहरूको घर तथा व्यवसायमा बाढी आएपछि ६० भन्दा बढी परिवार घरबारविहीन भएका छन् ।

यस वर्ष मार्चमा वर्षा सुरु भएदेखि नै केन्याका धेरै काउन्टी प्रभावित भएका छन् । केन्या मौसम विज्ञान विभागका अनुसार केन्यामा अत्यधिक भारी वर्षा भएको छ भने केही क्षेत्रमा एकै दिनमा दुई सय मिलिमिटरसम्म वर्षा भएको छ । वर्षापछि देशभरि बाढी निम्त्याउने चेतावनी दिँदै काउन्टी र राष्ट्रिय सरकार दुवै तहबाट तल्लो र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जान सूचना जारी गरिएको छ ।

आन्तरिक तथा राष्ट्रिय प्रशासनका क्याबिनेट सचिव किन्डिकी किथुरेले पूर्वी क्षेत्रको मासिंगा र मध्य क्षेत्रको थिबासहित बाँध नजिक बस्ने बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गरेका छन् । थप वर्षाले विपत्ति निम्त्याउने जोखिम भएकाले बस्तीहरूमा बाढीको प्रभाव बढी हुने भएकाले सरकार उच्च सतर्कतामा रहेको र बहुएजेन्सी टोलीले कम गर्ने प्रयासमा काम गरिरहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १३, २०८१ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?