२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

धर्मगुरुकोमा नेताहरूको लर्को

हरेक चुनावमा उम्मेदवारहरू लारुम्बामा धर्मगुरु भेट्न जाने चलन इलाममा नयाँ होइन, यसपाला नयाँ भनिएका दलसमेत यही लर्कोमा मिसिएका छन्
पर्वत पोर्तेल

लारुम्बा, इलाम — इलाम–२ को उपनिर्वाचनको उम्मेदवारीलगत्तै चैत १७ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई लिएर माङ्सेबुङको लारुम्बा पुगे । उनीहरूले लारुम्बाका ‘शक्तिकेन्द्र’ धर्मगुरु आत्मनन्द लिङ्देनसँग करिब एक घण्टा बिताएर फर्किए । मधेशवादी दल जनमत पार्टीका उम्मेदवार प्रेमसिंह थाम्सुहाङ पार्टी अध्यक्ष सीके राउतलाई लिएर चैत १६ मै धर्मगुरुलाई भेटेर फर्किएका थिए ।

धर्मगुरुकोमा नेताहरूको लर्को

हरेक चुनावमा उम्मेदवारहरू कार्यकर्तासहितको लर्को लिएर लारुम्बामा धर्मगुरु भेट्न जाने चलन इलाममा नयाँ होइन । यसपाला नयाँ भनिएका दल यही लर्कोमा मिसिएका मात्रै हुन् ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि सुवासचन्द्र नेम्वाङ, राम राना मात्र हैन, कांग्रेसका अहिलेका उम्मेदवार डम्बर खड्का, भेषराज आचार्य, माओवादीका धीरेन शर्मा लारुम्बा पुग्थे ।

धर्मगुरुको ‘खल्ती’ मा रहेको केही हजार मत रहेको पाउने ‘विश्वास’मा उनलाई भेट्न दलका नेता र उम्मेदवार पुग्ने गरेका हुन् । नयाँ भनिएका रास्वपा र जनमत पार्टीका उम्मेदवारले पनि त्यसैलाई पछ्याए ।

रास्वपाका मिलन लिम्बू उम्मेदवारी घोषणापूर्व पनि गुरु दर्शनमा पुगिसकेका थिए । पछि सभापति लामिछानेसहित उनी दोस्रो पटक पुगेका हुन् । ‘लारुम्बा हाम्रो धार्मिक स्थल हो,’ लिम्बूले भने, ‘गुरुको दर्शनका लागि गएको हुँ ।’ पछिल्लो पटक भने गृहमन्त्री आउने कुराले धर्मगुरु पनि भेट्न इच्छुक देखिएकाले गएको उनले दाबी गरे । ‘गुरुको आशीर्वाद लिन मात्रै गएको हो,’ उनले भने, ‘अरू कुनै स्वार्थ छैन ।’

राजनीतिशास्त्री युद्धप्रसाद वैद्यका अनुसार धर्मगुरुका अनुयायीको मत आफूतिर तान्न सकिन्छ कि भन्ने लोभमा उम्मेदवारहरू उनलाई भेट्न पुग्छन् । ‘मतको लोभले नेताहरू गुरु भेट्न पुगेका हुन्,’ उनले भने, ‘गुरुलाई खुसी पारेर नेताहरूले आशीर्वाद लिने चलन निकै पुरानो हो ।’ स्थानीयका अनुसार फाकफोकथुम, माङ्सेबुङ, माई, देउमाई र चुलाचुली क्षेत्रमा धर्मगुरुका अनुयायी छन् ।

विगतमा लारुम्बाका गुरु एमाले नेता सुवास नेम्वाङप्रति सकारात्मक रहेको बताइन्थ्यो । यसपाला लारुम्बाको झुकाव कतातिर छ भन्नेमा सबैको चासो छ । यसपाला लारुम्बा गुरुको झुकाव पहिचानको राजनीति बोकेर चुनावी मैदानमा उत्रिएकाहरूतिर जान सक्ने अड्कलबाजी पनि राजनीतिक वृत्तमा उत्तिकै छ । पहिचानवादीका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमले शिक्षण पेसाबाट अवकाशपछि लारुम्बामै बसेर गुरुको सेवा गरेको तथा कोशी प्रदेश नामकरणप्रति गुरुको असन्तुष्टि रहेको भन्ने तर्कलाई अघि सारेर एकथरीले गुरुको झुकाव थेगिमतिर हुने अड्कल काटिरहेका छन् ।

गुरुले सोमबार मात्रै पहिचानवादी उम्मेदवार थेगिमको चुनावी र्‍यालीको शुभमुहुर्त गरेका थिए । लारुम्बाका गुरुको मत कतातिर सोझिन्छ भन्ने मंगलबारसम्म प्रस्ट भइसकेको छैन तर उनको झुकावले पहिचानको राजनीतिलाई मलजल गर्छ कि गर्दैन भन्ने कुराले चुनावलाई प्रभावित पार्न सक्छ भन्नेमा सबै उम्मेदवार सजग देखिन्छन् ।

एमालेका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा कोशी प्रदेश नामकरण भएपछि त्यसको विरोधमा पहिचानवादी निरन्तर आन्दोलित छन् । भलै एमाले उम्मेदवार सुहाङ नेम्वाङले आफूहरू पहिचानविरोधी नभएको र पहिचानकै राजनीति गरिरहेको दाबी सुनाइरहेका छन् ।

तर विगतका वर्षमा सुवास नेम्वाङ चुनाव सामुन्नेमा लारुम्बा पुग्ने गरे पनि यसपाला उनका छोरा सुहाङले बाबुको बाटो पछ्याएका छैनन् । उनी लारुम्बा नजानुमा पहिचानकै मुद्दा मुख्य कारण रहेको एमालेकै नेताहरू बताउँछन् ।

कांग्रेस उम्मेदवार डम्बर खड्का सार्वजनिक रूपमा कोशी प्रदेशको नाम उच्चारण गर्न हिचकिचाइरहेको देखिन्छन् । उनले पहिचानसँग जोडिएका आफ्ना कार्यकर्तालाई आश्वस्त पार्दै आफू पहिचान पक्षधर भएको दाबी सुनाउने गरेका छन् । भन्छन्, ‘कोशी प्रदेश नामकरणलगत्तै मैले प्रदेशका १४ वटै जिल्ला सभापतिलाई हस्ताक्षर गराएर विरोध गरेको छु ।’ सोमबार मात्रै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितको टोली पनि लारुम्बा पुगेर धर्मगुरु भेटेर फर्किएको छ । उनीहरूको यो भेटघाटलाई पनि सन्निकट चुनावी दौडधुपकै एउटा हिस्साका रूपमा कांग्रेसका कार्यकर्ताले अर्थ्याइरहेका छन् ।

महामन्त्री शर्माले धर्मगुरुले माया गर्ने केही मान्छेमा आफू पनि पर्ने भएकाले गुरुलाई भेट्न गएको सुनाए । केही समयअघि प्रदेशको नाम ‘विराट–किरात’ हुनु पर्छ भनेर शर्माले गरेको भाषण उनले मन पराएका थिए । केही समय गुरुसँग भलाकुसारी गर्ने क्रममा गुरु यसपटक आफैं अलमलमा परेजस्तो देखिएको उनले बताए ।

प्रकाशित : वैशाख १२, २०८१ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?