२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

इलामको दुर्गममा पुगेनन् उम्मेदवार

पानीको समस्यासहित भरपर्दो प्रसूति सेवा दिने, स्वास्थ्य संस्था नहुँदा धरान वा दमक पुग्नुपर्ने बाध्यता, फेवा र फाकफोक खोलामा लामो समयदेखि पुल नहुँदा बर्खाका बेला स्थानीय मर्कामा
लक्ष्मी गौतम

माङसेबुङ, इलाम — एक गाग्री पानी डोकोमा बोकेर घर ल्याइपुर्‍याउँदा माङसेबुङ–२ की सनुजा सङ्खरको आधा घण्टा बित्छ । पानी खेप्दा खेप्दै जिन्दगी नै जाने हो कि भन्ने चिन्ता छ उनलाई । ‘मुहान टाढा छ,’ पसिना पुछ्दै उनले सुनाइन्, ‘हाम्रो त पानी बोक्दा बोक्दै आधा जीवन बितिसक्यो ।’

इलामको दुर्गममा पुगेनन् उम्मेदवार

सनुजाकै जस्तो दुःख छ, रमिला सम्बाहाम्फेको पनि । एक हल गोरु, गाई र बाच्छोलाई खुवाउन उनले १२ गाग्री र भान्सालाई दिनहुँ ४ गाग्री पानी हरेक दिन नबोकी धरै छैन । नजिकिँदै गरेको उपचुनावले उनलाई यी सारा दुःख सुनाउने मेसो जुराइदिएजस्तो भएको छ । ‘पहिलेका चुनावमा घरघरै पानी ल्याइदिन्छौं, पाइप दिन्छौं भन्नेहरू जितेपछि फर्केर आएनन्,’ माङसेबुङ–२ इभाङकी सम्बाहाम्फेले भनिन्, ‘आफ्नो दुःख आफैंसँग छ । यस पटक त भोट माग्न पनि आइपुगेका छैनन् । आए भने मुखभरिको जवाफ दिएर पठाउँछु ।’

इलाम–२ मा पर्ने माङसेबुङ १ र २ का दुर्गमका यी बस्ती सुक्खाग्रस्त छन् । इलाम सदरमुकामबाट ८० किमि दूरीमा भए पनि बाटोको दुरवस्थाले गाडीमै पुग्न पनि ६ घण्टा लाग्छ । यहाँका अधिकांशको दुःख पनि पानीसँगै जोडिएको छ । यस्तै दुःख देउमाई र माई नगरपालिकामा पनि छ । तर पानीको यो हाहाकार चुनावमा मात्रै उठ्ने र त्यसपछि हराउने हुँदा स्थानीय आक्रोशित छन् । साथै, स्थानीय तहमा भरपर्दो प्रसूति सेवा दिने स्वास्थ्य संस्था नभएकाले धरान वा दमक पुग्नुपर्ने बाध्यता, बर्खाका बेला फेवा र फाकफोक खोलामा बाढी आएपछि सुरु हुने अत्यासमा बस्नुपर्ने बाध्यता स्थानीयले वर्षौंदेखि भोगिरहेका छन् । माङसेबुङ–४ की प्रेमकुमारीले राई यी दुईवटा खोलामा पुल बन्ने हो भने सुत्केरीले अकालमा ज्यान गुमाउनु नपर्ने बताउँछिन् । बाढीले २०७८ मा फाकफाके खोलाको मोटरेबल पुल बगाएको थियो । गत संसदीय निर्वाचनमा सबै उम्मेदवारले यो पुल बनाउने एजेन्डालाई प्राथमिकतामा राखे पनि पुल बनाउने वाचा त्यसै हरायो ।

माङसेबुङदेखि चतुरे, लारुम्बा, घतिदोभा, चुलाचुली हुँदै झापाको दोमुखासम्मको दूरी ५५ किमि मात्रै हो । तर सडकको दुरवस्थाका कारण स्थानीय चिसापानीबाट रवि हुँदै कच्ची सडक छिचोलेर राँकेबाट मेची राजमार्ग हुँदै १ सय ५५ किमि दूरी छिचोलेर झापा झर्न बाध्य छन् । चिसापानी, रवि–राँके सडकमा पनि गाडी गुड्न सक्दैनन् । दुवै सडकको विकल्प नहुँदा असारदेखि असोजसम्मै यहाँ नाकाबन्दी जस्तै हुन्छ ।

माङसेबुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष डकेन्द्र इदिङ्गो यस क्षेत्रबाट पटक–पटक निर्वाचित सांसद र पूर्वमन्त्रीहरूले पुल निर्माणलाई चुनावी एजेन्डा बनाए पनि जितेर गएपछि कहिल्यै नसम्झेको अनुभव सुनाउँछन् । ‘सांसदमा जिताएर इलामले कहिले प्रधानमन्त्री, कहिले सभामुख, संविधानसभा अध्यक्ष त कहिले मन्त्री पायो,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा उनीहरूले राम्रै प्रभाव पारे तर स्थानीय मुद्दालाई भने खोला तर्‍यो लौरो बिर्सियो भनेझैं चटक्कै छाडिदिए ।’

दुःख र अप्ठ्यारासँग जुधिरहेका यहाँका स्थानीय नजिकिँदो उपनिर्वाचनमा उठेका उम्मेदवारलाई यी सारा समस्या सुनाउने योजनामा थिए । तर यसपाला यो भेगका बस्तीमा उम्मेदवारहरू नै पुगेनन् । ‘माङसेबुङ–२ इभाङको पुछार गाउँमा अघिल्ला निर्वाचनको जस्तो भोट माग्नेको लस्कर यसपाला देखिएन,’ इभाङ–२ का डम्बर थापाले सुनाए, ‘पटक–पटक भोट माग्न आएर झर्को लगाउनुभन्दा नआउँदै ढुक्क भयो ।’

प्रकाशित : वैशाख १२, २०८१ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?