१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

इलाम उपनिर्वाचनको राजनीतिक झुल्को 

देशका प्रमुख शक्तिहरू इलाम-२ को निर्वाचनलाई आफ्नो पोल्टामा पारेर २०८४ का लागि आफ्नो हातमाथि परेको सन्देश प्रवाह गर्न चाहन्छन् ।
शंकर तिवारी

काठमाडौँ — वैशाख १५ गते इलाम-२ मा हुन हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिको ध्यान आकर्षित गरेको छ । यस क्षेत्रका विजेता सुबास नेम्वाङको अवसानपछि रिक्त हुन गएको स्थानमा  प्रचण्डले सत्ता गठबन्धनका सत्ता साझेदारहरू फेरेर तेस्रोपटक विश्वासको मत लिएपछि हुन लागेको निर्वाचनले २०८४ को आम निर्वाचनका लागि आफ्नो भाष्य खडा गर्नका लागि प्रमुख तीन दलले आफ्नो वर्चश्व देखाउने प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

इलाम उपनिर्वाचनको राजनीतिक झुल्को 

यसमा पहिचानको राजनीतिले कोशी प्रदेशको नामाकरणपछि नयाँ कोल्टे फेरेको पहिचान पक्षधरको पनि उत्साहजनक उपस्थितिले उपनिर्वाचनको सरगर्मी अझ रोचक बनेको छ।

दोस्रो गणतान्त्रिक संसद्को सत्तागणितमा खास फरक नपरेपनि बाँकी तीन वर्षको लागि यो परिणामले दलको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिको भूमिकाबारे नयाँ मनोविज्ञानका लागि माहोल खडा गर्नेछ।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति माग गरेर रचनात्मक रूपमा संसद अबरुद्ध गरेर रास्वपाको प्रियतावादी उर्लँदो खहरेविरुद्ध धावा बोलेको उत्कर्ष समयमा यो उपनिर्वाचन भईरहेको छ। सहकारी प्रकरणमा रवि लामिछानेको संदिग्ध संलग्नताबारे कांग्रेस यसरी अडिएर रहला भन्ने अनुमान कांग्रेस पंक्तिभित्र र बाहिर पनि थोरैले मात्र आंकलन गरेका थिए ।

संसदमा सहकारी प्रकरणमा प्रमुख सचेतक रमेश लेखकले विषय प्रवेश गरेको गराएको भएतापनि यो पार्टीको एकमतको निर्णय होइन भनेर पार्टी भित्र र बाहिरबाट आशंका प्रकट भएपछि संसदीय दलको बैठक बसेर सहकारी प्रकरणबारे कांग्रेस संसदीय दलले औपचारिक निर्णय नै गरेको थियो ।

रविको ' पुराना सबै खराब र नयाँको सबै ठीक ' भन्ने एकोहोरो संकथनमा ब्रेक लाग्न सुरु भएको छ। नयाँ झन् ढोंगी र दोहोरो चरित्रका भएको उदाङ्गिएको छ । यो एक महिनामा सहकारी प्रकरणबारे नेपाली कांग्रेसको कार्यकर्ताको पंक्ति पार्टी नीतिमा सहमत भएको छ र आम मानिसको तहमा व्याप्त भ्रम चिर्न सफल हुँदै गएको देखिन्छ।

पार्टीको स्थापना कालदेखि नै रविको विश्वसनीयता र जवादेहितामा जति नै प्रश्न उठ्ने गरेतापनि उनले आफ्नो हात माथि पार्न सफल हुने गरेकोमा यो मामिलामा उनलाई ठूलो धक्का लागेको देखिन्छ। जसरी चितवन र तनहुँमा देश भरका समर्थक पुगेर माहोल खडा गरी दिएका थिए अहिले पुरै सत्ता प्रयोग गर्दापनि माहोल उसको पक्षमा गर्माउन सकस परेको छ।

इलाम उपनिर्वाचनमा इलाम जिल्ला भित्रकै उम्मेदवारहरू निर्वाचनका लागि प्रतिस्पर्धाको मैदानमा छन्। पार्टीको परिचयका अलवा मतदाता माझ कसैको पुरानो र दोहोरो परिचय स्थापित छ भने त्यो कांग्रेस उम्मेदवार डम्बर खड्काको मात्रै छ ।

समाजसेवी व्यक्तित्व मार्फत सेवाभावले खड्का इलामको जजनजीवनसँग निरन्तर जोडिएका छन् चाहे त्यो कोरोनाको कहरको समयमा होस् वा जुनसुकै प्राकृतिक विपत्तिको बेला होस् वा कुनै सामाजिक अभियानमा होस् उनको उपस्थितिले जनतामाझ सहानुभूति छ ।

त्यसका अलावा उनी गत निर्वाचनमा सुबास नेम्वाङ सँग अत्यन्त झिनो मतले पराजित मात्र भएका थिएनन् , हेभी वेट सुबास नेम्वाङ पछिको इलामको वैकल्पिक नेताको रूपमा स्थपित गरेका थिए । कांग्रेसले पुन: उनलाई टिकट दिएर इलामको राजनीतिमा सुबास को अवसानपछि इलामको राजनीतिमा कांग्रेसको बलशाली उपस्थितिको पहल गर्दैछ।

सुबास पुत्र सुहाङले पहिलो पटक निर्वाचनमा उत्रदैँछन् । पार्टीमा उनको व्यक्तिगत लगानी नभएकाले उनलाई मैदानमा पठाउन केही दिन अगाडि मात्र पार्टीको कानुन विभागको सदस्यता दिएको थियो । रास्वपाका उम्मेदवार मिलन लिम्बू पहिचानवादी पत्रकार नेताका अलावा लामो समय माओवादी कार्यकर्ता भएर कार्य गरेकाले उनको निर्वाचनको मुखमा रास्वपा प्रवेशलाई धेरैले स्वाभाविक रूपमा ग्रहण नगरेको देखिन्छ ।

पहिचान पक्षका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई धरानका स्वतन्त्र मयेर हर्क साम्पाङ समेतको साथले माहोल खडा गर्न सहज भएको छ । यही सेरोफेरोमा इलाम उपनिर्वाचन लाई यो आलेखमा नेकपा एमाले, कांग्रेस , र स्वपा र पहिचान पक्षधरको कोणबाट अलग अलग हेर्ने कोसिस गरिएको छ।

परिदृश्य १

२०७९ मंसिरको निर्वाचन परिणाममा दोस्रो ठूलो दलमा खुम्चिन बाध्य एमाले डेढ वर्षको अन्तरालमा दोस्रोपटक सत्ता साझेदार बनेको पृष्ठभूमिमा इलामको उपनिर्वाचन हुँदैछ। नेकपा एमालेका उम्मेदवार दिवंगत नेता सुबास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ विजयी भएमा कोशी पूर्वको राजनीतिमा एमालेको परम्परागत वर्चश्व पुनर्स्थापित हुनेछ ।

यसले पार्टी अध्यक्ष केपी ओलीका आत्मविश्वासलाई कायम राख्नेछ र पार्टी भित्रका निर्णय प्रक्रियामा देखा परिरहेको उनको हुकुमीशैली झन् बढेर जानेछ । तर त्यसले एमालेभित्रको वंश परम्परामा सुहाङ नयाँ तारा भएर उदाउने भएकाले एमालेको स्थानीय पंक्तिले कम्युनिस्ट पार्टीको केन्द्रीय दासता स्वीकार्न सहज नमानिरहेको देखिन्छ।

माओवादी र अन्य बाम दल सँग गठबन्धनका बावजुद एमाले दोस्रो स्थानमा चित्त बुझाउनु परेमा केपी ओलिको नुर गिर्नेछ । यसले उनको तजबिजी निर्णय शैलीबारे पार्टीभित्र तीब्र असन्तुष्टिको ढोका उघर्नेछ र उनको नेतृत्वको औचित्यबारे पार्टीभित्र मुखर रूपमा प्रश्न उठ्नेछ। त्यसका साथसाथै इलामको राजनीतिमा मात्र नभएर पूर्वी पहाडमा एमालेको दबदबा ओरालो लाग्न सुरु हुनेछ। त्यसैले केपी ओलीले यो निर्वाचनमा कसैलाई पनि हाबी हुन नदिइकन आफ्नो सम्पूर्ण तागत लगाएको देखिन्छ।

परिदृश्य २

नेपाली कांग्रेस संविधान जोगाउने गठबन्धनको नेतृत्व गरेर दोश्रो गणतान्त्रिक संसद्को पहिलो पार्टी बनेपनि दोस्रो पटक सत्ता साझेदार हुनबाट विमुख भएको छ। फागुनमा सम्पन्न महासमिति बैठकले पार्टी सभापति देउवाको अनिच्छाका बावजुद चुनावभन्दा पहिला गठबंधन नगर्ने महामन्त्री गगन थापा लगायतको नीति पारित भएपछि इलाममा हुन लागेको पहिलो निर्वाचन हो ।

कांग्रेस पार्टी भित्रको सम्पूर्ण एकतासहित निर्वाचनमा होमिँदा एक्लैपनि परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने आत्मविश्वास पार्टी पंक्तिमा सञ्चारित गर्न यो निर्वाचन देउवाको विश्रामपछि नेतृत्व हात पार्न खोजेको पुस्ताको लागि प्रतिष्ठाको सवाल बनेको छ। यो निर्वाचनको कमान्डरको रूपमा महामन्त्री विश्वप्रकाश शर्मा चुनाव अभियानको नेतृत्व गरिरहेका छन् र तनहुँ र चितवनको उपनिर्वाचनबाट पाठ सिक्दै चुनावी रणनीति अगाडि बढाएको देखिन्छ।

नेपाली कांग्रेसका उम्मेदवार इलाम जिल्लाका नेपाली कांग्रेसका सभापति डम्बर खड्का विजयी बनेमा कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको नयाँ नीतिको अनुमोदन मात्र हुनेछैन, त्यसलाई राष्ट्रिय राजनीतिमा कांग्रेसको आत्मविश्वासलाई उँचो बनाउनेछ। रास्वपातिर कांग्रेसको कार्यकर्ता लहसिने क्रम पनि रोकिनेछ । कांग्रेस पराजित हुनपुगे महासमिति बैठकमा पारित प्रस्तावहरू केन्द्रीय समितिमा प्रस्तुत भई अनुमोदन नगरीसकेको अवस्थामा सभापतिको नीति पुनः प्रभावी हुनेछ ।

इलामको परिणाम आफ्नो पक्षमा नआए पनि कांग्रेसले जसरी सहकारी प्रकरणलाई विधिको शासन स्थपित गर्नका लागि उपयोग गर्‍यो, र त्यसको राष्ट्रिय राजनीतिमा आक्रामक रूपमा हाबी बनेका रविलाई अप्रत्याशित रूपमा रक्षात्मक बनाउन बाध्य बनाएको छ त्यसले कांग्रेसका लागि ठूलै ऊर्जा प्राप्त हुनेछ ।

परिदृश्य ३

रास्वपाका लागि इलामको उपनिर्वाचन पेचिलो लडाइँको विषय बनेको छ। कोशीपारी आफ्ना पदचाप बढाउन खोजेको रास्वपाका लागि यो निर्वाचन सम्पूर्ण सत्ताको दुरुपयोग गरेर पनि फलामको चिउरा साबित हुँदै गएको छ। पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री निर्वाचन घोषणा भए यता काठमाडौंभन्दा इलाममा ज्यादा समय खर्चिएको देखिन्छ।

चितवन तनहुँ र बारामा भएको उपनिर्वाचनबाट अति उत्साहित भएको पार्टीलाई मिसन 0८४ का लागि इलामले प्राप्त हुने नतिजाले मनोवैज्ञानिक लडाइँमा विशेष प्रभाव छोड्नेछ। बाराबाट तराईमा संगठन विस्तारका लागि हतोत्साह हात लागेको रास्वपा इलामबाट त्यस्तो परिणाम बेहोर्नु नपरोस् भनेर निकै सचेत भएपनि परिणाम उनीहरूले सोचेजस्तो नहुने देखिएको छ ।

उल्टो तेस्रो स्थानका लागि पहिचान पक्षधर शक्तिसँग राष्ट्रपतिको प्रतिस्पर्धा भएको देखिनु पार्टीकी लागि गम्भीर र सोचनीय विषय हुनेछ । अरूलाई प्रश्न गर्ने तर आफू ऊपर प्रश्न उठ्दा उत्तर दिनु नपर्ने शैली अंगीकार गर्न खोज्दा र सहकारी प्रकरणमा कांग्रेसले उठाएको सवालहरूको विश्वसनीय उत्तर दिन नसकेकाले उसको नियतमाथि चौतर्फी रूपमा शंका बढेको छ । प्रचण्ड र ओलीले प्रारम्भमा जति सुकै बचाउ गरेपनि रविका पाइला बिस्तारै लड्खडाउँदै गएका छन् ।

तनहुँमा एमालेको कमजोर उम्मेदवारले गर्दा लाभ पाएको रास्वपा लाई इलाममा त्यस्तो कुनै पनि लाभ मिल्ने देखिएको छैन। तनहुँ र चितवनको उपनिर्वाचनमा उनीहरूको खिलाफमा सिंगो सत्ता र शक्ति लागेको आरोपमा लगाएको र राश्वपालाई नै अहिले आएर ठीक उल्टो आरोप लागेको अवस्था छ । इलाम उपनिर्वचनमा तेस्रो वा चौथोमा खुम्चिनु उसका लागि बाराको जमानत जफतको घटनाभन्दा पनि महंगो पर्ने निश्चित छ। बारामा निर्वाचन लडेका रमेश खरेलले रास्वपा परित्याग गरिसकेका छन् ।

इलामबाट दोस्रो शक्ति समेत नबनी पराजित भएर काठमाडौँ पुग्दा सत्ता समीकरणबाट समेत बाहिरिनु पर्ने परिस्थितिको सामना गर्दा हतासको मनोविज्ञानबाट बाहिर आउने नयाँ तुरुपको खोजी गर्नु पर्नेछ, जुन उनीहरूसँग छैन नै भन्दा पनि हुन्छ। सहकारी प्रकरणमा पार्टी सभापति रविको बचाउ गर्दा उनको विकल्पका रूपमा हेरिएका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो प्रतिष्ठा धमिल्याइसकेका छन् । इलाममा रवि र स्वर्णिमले जति सभा र कोण सभा गरे त्यति अरु कुनै पार्टीका शीर्ष नेताले गरेका छैनन् ।

परिदृश्य ४

पहिचान पक्षधर करिब चार दर्जन संस्थाहरूका साझा उम्मेदवारका रूपमा डिकेन्द्रको उम्मेदवारीले कोशी प्रदेशमा पहिचानको राजनीतिलाई नयाँ रूप दिएको छ। सात प्रदेशमध्ये सबभन्दा ढिला गरी भएको कोशी प्रदेशको नामाकरणसँगै पहिचानवादी राजनीतिले लिएको राजनीतिको गतिले इलामको उपनिर्नचनबाट थप आक्रामक आकार ग्रहण गरेको छ ।

इलाममा पहिचान पक्षधरले विजयी निकाल्नु भनेको कोशी प्रदेशको राजनीतिमात्र नभएर सिङ्गो देशको पहिचान पक्षधर राजनीति गर्नेहरुलाई अभूतपूर्व क्षण त हुनेछ तर निर्वाचन नजिकिँदै जाँदा उनीहरूले प्रदर्शित गरेको अतिबादी शैलीले गर्दा त्यो सम्भव हुने देखिँदैन। यदि त्यसो भएमा राष्ट्रिय राजनीतिमा पहिचानको मुद्दाले पहिलो संविधानसभाको समयकै हाराहारीमा ध्रुबीकृत हुनेछ।

इलाममा पहिचान पक्षधरलाई पराजित गर्दै एमालेले जित्नु भनेको पहिचान पक्षको राजनीति गर्नेहरूलाई सबभन्दा ठूलो अनुदारवादी झट्का हुनेछ। इलाममा कांग्रेस विजयी हुनु भनेको पहिचान पक्षधरका लागि पनि अप्रत्यक्ष विजयी हुनेछ किनकी कोशी प्रदेशको नामाकरणमा भएको गल्तीलाई संस्थागत रूपमा स्वीकार गरेर यसको पुनर्नामाङ्कन गर्न नेपाली कांग्रेस पार्टी मात्रै खुलेर नै लागेको देखिन्छ ।

कांग्रेस नेतृत्वमा काेशी सरकारले वार्ता समिति, तीन चरण वार्ता र १४ जिल्ला सभापतिहरू इलाम सभापति डम्बर खड्काको नेतृत्वमा गरेको नामाकरण पुनः विचारकाे हस्ताक्षर अभियानले कांग्रेसको पहिचान भेटिने र द्वन्द्व पनि मेटिने नीतिलाई आत्मसाथ गरेको कुराको पहिचान पक्षधर मतदातामा समेत कांग्रेसकाप्रति सहानुभूति रहेको देखिन्छ। पूर्वी पहाडमा पहिचानको राजनीति जतिसुकै आक्रमक भएपनि निर्वाचनमा अभिव्यक्त हुँदा निर्वाचनको अभिमतमा त्यो कांग्रेस एमाले र माओवादी भन्दा निक्कै तल र झिनो शक्ति बन्ने गरेकोमा यो इलाम उपनिर्वाचनमा पाएको उर्जाले उनीहरूलाई आगामी दिनमा उत्साही बनाई राख्नेछ।

अन्त्यमा ,

त्यसैले झट्ट हेर्दा इलाम दुईको उपनिर्वाचनमा भूगोलका हिसाबले सहभागिता इलाममा मात्रै सिमित भएपनि सिङ्गो देशभरि चासोका रूपमा लिईएको छ, जुन जायज पनि छ। देशका प्रमुख शक्तिहरू इलाम-२ को निर्वाचनलाई आफ्नो पोल्टामा पारेर २०८४ का लागि आफ्नो हातमाथि परेको सन्देश प्रवाहित गर्न चाहन्छन् ।

राष्ट्रिय राजनीतिमा रवि लामिछानेको गिर्दो साख उकास्ने कोसिस, एमालेभित्र ओलीको दबदबा कायम राखीराख्ने र पहिचानबारे कायम अनुदार नीतिको निरन्तरता, कांग्रेसको एक्लै चुनाव लड्ने प्रस्तावित नीति र पहिचानको लडाइँमा उदार नीति अनि पहिचान पक्षधरले अस्मिताको लडाइँको रूपमा इलाम उपनिर्वचनमा एकमुष्ट रूपमा परीक्षण हुनेछ । इलाम उपनिर्वाचन परिणामलाई आफ्नो पोल्टामा पार्ने शक्तिले यो चुनावबाट आफ्नो भाष्य र मनोवैज्ञानिक विजयलाई देशभरि फैलाउन कोसिस गर्नेछन् भने पराजित हुने बाँकी तीन पक्षले यसबाट प्राप्त पाठ सिक्दै इलाम उपनिर्वाचन बिर्सने कोसिस गर्नेछन् ।

इलाम उपनिर्वाचन बाछिटाले देशको राजनीतिलाई २०८४ सम्म राष्ट्रिय राजनीतिलाई दिशानिर्देश गर्नेछ, किनकी इलामको परिणामको आलोकमा प्रमुख राजनीतिक शक्तिहरूले नयाँ नीति अख्तियार गर्नेछन्। इलामको राजनीतिको सन्देशको झुल्को निश्चय पनि सामान्य हुने छैन किनकी देशका प्रमुख शक्तिहरू ले यसलाई असमान्य रूप दिई सकेका छन् ।

जय लोकतन्त्र, जय निर्वाचन

X : @shankarktm1

प्रकाशित : वैशाख १२, २०८१ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?