कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

उपचारको दुष्प्रचार

अरुणा उप्रेती

काठमाडौँ — बाबा रामदेवले योगको प्रचार गरेर जनस्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेकामा कुनै शंका छैन । जब उनले योगले क्यान्सर, छारेरोग पनि ठीक पार्छ भनेर झूट बोल्न थाले तब समस्या सुरु भयो । साथै ‘आधुनिक औषधि र डाक्टर खत्तम, मेरो आयुर्वेद औषधि मात्रै राम्रो’ भन्ने उनको प्रचारले जनतामा धेरै भ्रम पर्न गयो ।

यही औषधिको व्यापार गरेर उनले साम्राज्य नै खडा गरेका हुन् । अमला, गुलाबजल, बेल र जल बेचेर मात्र होइन क्यान्सरदेखि छारेरोग, मानसिक रोग, मोटोपन पनि ठीक पार्ने औषधिको ‘भ्रमपूर्ण’ प्रचार गरेर कमाए । यस्तै प्रचार पत्याएर आधुनिक औषधि छाडेर उनका आयुर्वेदिक औषधि खाँदा उच्च रक्तचाप अनियन्त्रित भएर पक्षाघात भएका र मृत्युसमेत भएका घटना बाहिर आए । आधुनिक डाक्टरहरूले उनको विरोध गरे, जथाभाबी यस्ता औषधि नखानू भनेर बोले पनि । तर राजनीतिक रूपमा पहुँच बनाएका बाबा रामदेवले कसैका कुरा टेरेका छैनन् ।

त्यसो त रामदेवले अदालतसामु माफी मागिसकेका छन् । ‘विज्ञापनसम्बन्धी मुद्दामा म बिनासर्त माफी माग्छु । अदालतलाई म भन्न चाहन्छु कि अब यस्तो गल्ती हुँदैन । २१ नोभेम्बर २०२३ मा मैले अदालतको आदेश उल्लंघन गरेकामा पनि माफी माग्छु । कानुन र न्यायको गरिमा बचाइराख्न म बचनबद्ध छु ।’ माफी माग्दै उनले लेखेको पत्र हो यो । उनले माफी माग्नुपर्ने गरी के गरेका थिए त ?

रामदेवले ‘आधुनिक औषधि खराब’, ‘डाक्टरले दिएको औषधिले राम्रो गर्दैन’, ‘उच्च रक्तचाप, मधुमेह या क्यान्सर सबैका लागि पतञ्जलीका औषधि प्रभावकारी छन्’ भनेर भ्रमपूर्ण प्रचार गरेका थिए । अदालतसँग माफी त मागे तर अहिले पनि उनले पूर्ण रूपमा आफ्नो भ्रमपूर्ण प्रचार रोकेका छैनन् । दुई वर्षअघि भारतका डाक्टरहरूको एक संस्थाले रामदेवको भ्रामक प्रचारविरुद्ध अदालतमा मुद्दा हालेका थिए । अचम्म छ, ससानो कुरालाई पहाड बनाएर देखाउने भारतीय मिडिया यो विषयमा केही बोलेनन् । तर जागरुक पत्रकार, सामाजिक कार्यकर्ता (जो अहिलेको आमसञ्चारमा अटाउँदैनन्) उनीहरूले भने धेरै बोलेर जनतालाई जागरुक गराए ।

मानव जीवनमा आयुर्वेदको ठूलो महत्त्व छ । तर औषधि खाएर मुटुको प्वाल टालिन्न, दुर्घटना भएका बेला अंगभंग भएकालाई आयुर्वेदले मात्रै उपचार गर्न सक्दैन । योगासन र स्वस्थ खानपानले मान्छेको स्वास्थ्य राम्रो राख्न सक्छ तर गर्भवती आमालाई जटिलता भयो भने र शल्यक्रिया गरेर जीवन बचाउन आधुनिक औषधि र आधुनिक चिकित्सकले मात्र सक्छन् । स्वयं आचार्य बालकृष्णलाई मुटुको उपचार गराउँदा आधुनिक डाक्टरहरूको ज्ञान नै चाहियो ।

रामदेवले ‘स्वस्थ भोजन, शाकाहारी भोजन गर्नु’ भन्नु ठीक छ तर के शाकाहारी भोजन गरेकालाई कहिल्यै क्यान्सर र मधुमेह हुँदैन ? त्यो बेलामा त रामदेवको औषधि र लौकाको जुस काम लाग्दैन, शल्यक्रिया उपचार नै चाहिन्छ । के तपाईं सित्तैमा औषधि र भोजन दिनुहुन्छ ? के तपार्इंको आश्रममा आउने मान्छेलाई योगासन सित्तैमा सिकाउनुहुन्छ ?

यसरी आयुर्वेदको नाममा ‘ठगी’ गर्ने रामदेव पहिला भने होइन्न है । भारतको ऋषिकेषमा ‘नीरज क्लिनिक’ खोलेर छारेरोगको उपचार गर्ने भनेर ठाउँ–ठाउँमा विज्ञापन गर्ने ‘डा. नीरज’ नामका ठगलाई प्रहरीले झन्डै दस वर्षअघि पक्राउ गरेको थियो । उनी डाक्टर बनी ‘आयुर्वेदिक क्लिनिक’ मा अचम्मैसँग बदमासी गर्दा रहेछन् । छारेरोगको आयुर्वेद औषधि भनेर पुरिया दिने रहेछन् । ती पुरियामा आधुनिक औषधि पिनेर राख्दा रहेछन् । छारेरोगमा प्रयोग हुने केही औषधिले गिजा फुल्ने समस्या गराउँछ, केहीले शरीरमा एलर्जी उत्पन्न गराउँछ । यसरी औषधि पिसेर दिएका कतिपय बिरामीलाई एलर्जी भएपछि दिल्लीको अल इन्डिया मेडिकल इन्स्टिच्युटमा जाँदा पो साँचो कुरा पत्तो लाग्यो । तर ती ठग डाक्टरले विभिन्न प्रतिष्ठित पत्रिकामा फोटो छपाएर विज्ञापन दिने रहेछन् । अनि ‘मलाई छारेरोग उनकै औषधि खाएर ठीक भएको छ’ भन्ने चिठी लेख्ने कामचाहिँ कसैलाई पैसा दिएर गराउने रहेछन् ।

आश्चर्यको कुरा त भारतको नीरज क्लिनिकको अहिलेसम्म पनि तडकभडकका साथ प्रचारप्रसार भइरहेको छ । ‘हामी आयुर्वेद औषधिले छारेरोगको उपचार गर्छौं’ भनेर विज्ञापन गरी नै रहेको छ । कति बालबालिका, वयस्कले यस्ता ठगको फन्दामा परेर आँखाको ज्योति गुमाइसकेका होलान् ?

सजग रहनुहोस्, वास्तविक आयुर्वेदिक डाक्टर, आधुनिक डाक्टर कसैले पनि ‘म शतप्रतिशत निको पार्छु’ भन्दैनन् । त्यसो भन्छन् भने त्यो मान्छे ठग हो भनेर विचार गर्नुस् । त्यस्तोको फन्दामा नपर्नुस् र रामदेव वा अर्को कुनै देवको भ्रमबाट बच्नुहोस् ।

प्रकाशित : वैशाख १२, २०८१ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?