कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

वेस्ट इन्डिज ‘ए’ को बलियो टोली नेपाल आउँदै

वेस्ट इन्डिजका एकदिवसीय र ट्वान्टी–२० क्रिकेटका प्रशिक्षक डारेन सामी पनि नेपाल भ्रमणलाई लिएर उत्साहित 

काठमाडौँ — वेस्ट इन्डिज ‘ए’ ले नेपाली राष्ट्रिय टोलीसँगको ५ ट्वान्टी–२० खेल शृंखलाका लागि मंगलबार बलियो टोली घोषणा गरेको छ । रोस्टन चेजको कप्तानीमा रहने वेस्ट इन्डिज ‘ए’ टोलीमा अनुभवी खेलाडीको बाक्लो उपस्थिति छ । 

वेस्ट इन्डिज ‘ए’ को बलियो टोली नेपाल आउँदै

वेस्ट इन्डिज टोली पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेल शृंखलाको पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ । अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौथो खेल र मे ४ मा अन्तिम खेल हुनेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

वेस्ट इन्डिज ‘ए’ को टोलीमा जोन्सन चार्ल्स, फाबियन एलेन, एन्ड्रे फ्लेचर, हेडेन वाल्ससहित एलिक अथानाजे, कदिम एलेयन, जोसुवा बिसोप, केएसी कार्टी, मार्क डेयाल, म्याथ्यु फोर्ड, ओबेड म्याकोय, गुडाकेस मोटी, किमो पाउल, ओसाने थोमस छन् ।

नेपाल आउन लागेको वेस्ट इन्डिज ‘ए’ का ३२ वर्षे कप्तान चेजले ४९ टेस्ट, ४५ एकदिवसीय अन्तर्राष्ट्रिय र ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । अलरान्डर उनले यी तीन संरचनामा ३ हजारभन्दा बढी रन बनाउनुका साथै १ सय २१ विकेट लिएका छन् । वेस्ट इन्डिजले पछिल्लो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दा उनी पनि अस्ट्रेलिया भ्रमणमा टोलीसँगै रहेका थिए ।

बलिङ अलराउन्डर एलेनले २० एकदिवसीय र ३४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय, माथिल्लोक्रमका ब्याटर फ्लेचरले २५ एकदिवसीय र ५४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय, विकेटकिपर/ब्याटर चार्ल्सले ५८ एकदिवसीय र ४८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय, वाल्सले २३ एकदिवसीय र ३८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय, अलराउन्डर पाउलले ३ टेस्ट, ३० एकदिवसीय र २३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय, थोमसले २५ एकदिवसीय र २१ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

स्पिनर वाल्सले वेस्ट इन्डिजका साथै अमेरिकाबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय अमेरिकाबाट डेब्यु गरेका ३२ वर्षे लेग ब्रेक बलर सन् २०१९ यता भने वेस्ट इन्डिजबाटै खेलिरहेका छन् । पूर्व टेस्ट क्रिकेटर फ्लोयड रेइफरको प्रशिक्षणमा वेस्ट इन्डिज ‘ए’ को टोली नेपाल आउन लागेको हो ।

वेस्ट इन्डिजबाट नियमित खेल्दै आएका ९ खेलाडी कप्तान रोभमन पावेल, एन्ड्रे रसेल, निकोलस पूरन, केयल मेयर्स, सेरफान रदरफोर्ड, रोमारियो सेफर्ड, अल्जारी जोसेफ र सिमरन हेटमर इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिरहेका छन् भने पूर्वकप्तान जेसन होल्डर इंग्लिस काउन्टी क्रिकेटमा खेलिरहेका छन् ।

नेपाल भ्रमणले ट्वान्टी–२० विश्वकपअघि वेस्ट इन्डिजको तयारीमा सघाउन पुग्ने विश्वास प्रमुख छनोटकर्ता डेसमन्ड हेन्सको छ । वेस्ट इन्डिजका पूर्वओपनिङ ब्याटर हेन्सले वेस्ट इन्डिज क्रिकेटले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘आईपीएलमा नरहेका हाम्रा खेलाडीलाई नेपाल भ्रमणले ट्वान्टी–२० मा फर्कने अवसरका साथै केही उदीयमान खेलाडीलाई सम्भावना उजगार गर्ने अवसर दिनेछ ।’

वेस्ट इन्डिजले अमेरिकासँग मिलेर जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा खेलाडीको नामावली बुझाउने अन्तिम मौका मे १ सम्म छ । वेस्ट इन्डिज ‘ए’ ले त्यसअघि नेपाली राष्ट्रिय टोलीसँग दुई खेल खेलिसकेको हुनेछ ।

वेस्ट इन्डिजका एकदिवसीय र ट्वान्टी–२० प्रशिक्षक डारेन सामी पनि नेपाल भ्रमणलाई लिएर उत्साहित छन् । वेस्ट इन्डिजलाई दुई पटक ट्वान्टी–२० विश्वकप दिलाएका उनले भनेका छन्, ‘प्रशिक्षणको दृष्टिकोणबाट हेर्ने हो भने नेपाल भ्रमण योभन्दा उपयुक्त समयमा आउन सक्दैन । यसले हाम्रो विश्वकप टोलीलाई अझ परिस्कृत हुने मौका दिएको छ ।’

प्रकाशित : वैशाख १२, २०८१ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?