कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादीको विधानमै डिजिटल प्रविधि प्रयोग प्राथमिकतामा

काठमाडौँ — माओवादी केन्द्रले विधान मस्यौदाको प्रस्तावनामै समाजवादको बाटोमा अघि बढ्न डिजिटल प्रविधिमा जोड दिएको छ । विधान अधिवेशनका लागि तयारी गरी सुझावका लागि तल्लो समितिमा पठाएको प्रस्तावित विधान मस्यौदामा डिजिटल प्रविधिलाई सुनिश्चित गर्ने उल्लेख छ ।

माओवादीको विधानमै डिजिटल प्रविधि प्रयोग प्राथमिकतामा

‘समाजवादमा जनसमुदायलाई वैज्ञानिक र प्राविधिक ज्ञानले सुनिश्चित गर्नेछ । यसले समाजमा व्यक्तिलाई सशक्तिकरण गर्न शिक्षा, सूचना र डिजिटल पहुँचलाई विशेष जोड दिनेछ,’ मस्यौदामा भनिएको छ, ‘समाजवादमा आर्थिक उत्पादन र वितरणमा समन्यायिक नीति अवलम्बन गरिनेछ । सामूहिक स्वामित्व, स्रोतहरुको साझा वितरण र एकीकृत जिम्मेवारीलाई जोड दिँदै कम्युन उन्मुख दृष्टिकोण र व्यवहारिक अभ्यासको दिशामा अगाडि बढ्नेछ ।’

माओवादीले ‘कम्युनिष्ट पार्टीका सदस्यहरुका लागि वर्ग संघर्ष र वर्ग संघर्षमा सहभागिता, सामाजिक न्याय, व्यक्तिहरुको स्वरुपान्तरण र आत्मशुद्धीकरणलाई जोड’ दिएको छ, ‘समाजवादी व्यवस्थाले वर्गीय उत्पीडनका साथै जातीय, लैंगिक, क्षेत्रीय, भाषिक र सांस्कृतिक उत्पीडनलाई अन्त्य गर्नेछ । समाजवादले आर्थिक असमानता र सामाजिक विभेदहरुलाई अन्त्य गर्नेछ र समावेशी तथा समानतामूलक समाज निर्माण गर्नेछ ।’

माओवादीले तत्कालीन कार्यभारका रुपमा समाजवादी क्रान्तिको तयारी गर्नु प्रस्तावनामा जोड दिएको छ । ‘तत्काल सामन्तवादका अवशेषहरुको अन्त्य एवं जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार तयार पार्ने कार्यनीति अवलम्बन गरिनेछ,’ विधानमा भनिएको छ, ‘तात्कालीकरुपमा देशभित्रका एकाधिकार, दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको दिशामा अघि बढ्नेछ । तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादी क्रान्तिको तयारी गर्नु पार्टीको तात्कालीक कार्यभार हो ।’

माओवादीले राष्ट्रियताको आन्दोलनलाई जारी राख्ने प्रतिबद्धतासमेत जनाएको छ । ‘राष्ट्रिय स्वाधीनतालाई केन्द्र विन्दुमा राख्दै विश्व साम्राज्यवाद, विस्तारवाद, नवउपनिवेशवादलगायत सबै खाले वैदेशिक हस्तक्षेप र शोषण तथा उत्पीडनका विरुद्ध संघर्षरत रहनेछ,’ विधानमा थप जोड दिइएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीकरण एवं सामाजिक न्याय लगायतका उपलब्धिहरु सहितको समाजवाद उन्मुख समावेशी लोकतन्त्रको रक्षा गर्दै उत्पीडित वर्ग र जनसमुदायका बाँकी रहेका अधिकारहरूको प्राप्तिका लागि पार्टी निरन्तर संघर्षरत रहनेछ ।’

माओवादीले सबै प्रकारका उत्पीडन र भेद्भावलाई अन्त्यका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता विधानमा उल्लेख गरेको छ । ‘विशेषगरी विगतमा सामन्तवाद र साम्राज्यवादले नेपाली समाजलाई फुटाउ र शासन गरको मान्यताअनुसार महिला, दलित, जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रीय विविधतालाई गलत ढंगले प्रयोग गर्दै जसरी नेपाली समाजलाई विभाजित गराइएको छ,’ मस्यौदाले जोड दिएको छ, ‘त्यस प्रकारको विभाजनकारी नीतिका विरुद्धमा सबै प्रकारका उत्पीडन र भेद्भावहरुलाई अन्त्य गर्दै नेपाली समाजलाई एकताबद्ध तुल्याउन निरन्तर संघर्षरत रहनेछ ।’

पार्टी सामूहिक निर्णय पद्धतिलाई अंगाल्ने विधानमा उल्लेख गरेको छ । ‘पार्टी सञ्चालन जनवादमा आधारित केन्द्रीयताको सिद्धान्तअनुरुप हुनेछ’ मस्यौदमा भनिएको छ, ‘सामूहिक निर्णय व्यक्तिगत उत्तरदायित्व तथा सामूहिकताको केन्द्रिकृत अभिव्यक्तिको प्रणालीलाई अवलम्बन गरिनेछ ।’

फागुन पहिलो साता हुने विधान अधिवेशनले यो मस्यौदालाई संशोधनसहित पारित गर्नेछ ।

प्रकाशित : माघ ६, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?