३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

साइपालमा बैंक राख्न राष्ट्र बैंकको स्थलगत अवलोकन

जनप्रतिनिधिले भने- बैंकका कर्मचारीलाई हामी तलब दिन्छौं, संचालन गरिदिनुहोस्
वसन्तप्रताप सिंह

बझाङ — स्थानीय तह स्थापना भएको सात वर्षसम्म पनि बैंक स्थापना नभएको साइपाल गाउँपालिकामा नेपाल राष्ट्र बैंकको टोली पुगेको छ । 

साइपालमा बैंक राख्न राष्ट्र बैंकको स्थलगत अवलोकन

देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये बैंक नभएको एकमात्रै पालिका साइपालमा टोलीले बैंक स्थापनाको लागि अवस्था अध्ययन गरेको हो । बैंक स्थापना गर्न सकिने/ नसकिनेबारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेस्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्मा र एभरेष्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङसहितको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो ।

दुई दिन हिँडेर काँडा पुगेको अध्ययन टोलीले बैंक स्थापना हुने ठाउँ, बाटोघाटो, सुरक्षा, लगानीका सम्भावनाबारे स्थानीय र जनप्रतिनिधिसँग पनि छलफल गरेको गाउँपालिकाले जनाएको छ । ‘बैंक स्थापना भएपछि कारोबार कति हुन्छ ? कर्मचारीको व्यवस्थापन कसरी गर्ने ? रकम ढुवानी कसरी गर्ने ? जस्ता विषयमा उहाँहरुले छलफल गर्नुभएको छ,’ गाउँपालिकाका प्रवक्ता नरेन्द्र बोहराले भने, ‘बैंकको कार्यालय राख्न मिल्ने सम्भावित घर पनि हेरेर जानुभएको छ ।’ उनले बैंक स्थापना हुने वा नहुने विषयमा भने टोलीले केही नभनेको बताए ।

राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई तोकेको थियो । सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीयस्तरसम्म उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले बैंक स्थापना गर्न आनकानी गर्दै आएका कारण साइपाल गाउँपालिका बैंकिङ सुविधाविहीन छ । अहिले पनि अध्ययनका क्रममा त्यहाँ पुग्दा साइपालको भौगोलिक अवस्था विकट पाइएको बताउँदै टोलीका सदस्य एवं एभरेस्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्मा बैंक स्थापना हुने नहुने बारे यसै भन्न नसकिने बताए । ‘कसरी सेवा दिन सकिन्छ ? भनेर बुझ्नकै लागि गएका हौं,’ शर्माले भने, ‘दुई दिन हिँडेर त्यहाँ पुग्यौ । भूगोल एकदमै विकट छ । स्थानीय तह र राष्ट्र बैंकसँग छलफल गरेर कुन मोडालिटी अपनाउन सकिन्छ भनेर छलफल गर्छौं । बैंक स्थापना हुने नहुने बारे अहिले केही भन्न सकिन्न ।’

अध्ययन टोलीको नेतृत्व गरेका राष्ट्र बैंकका निर्देशक तिमिल्सिनाले भने साइपालका स्थानीयले कुनै न कुनै हिसाबले बैंकिङ सेवा पाउने गरी काम हुने बताए । उनले भने, ‘विकट भए पनि स्थानीय तह बैंकविहीन हुनु हुँदैन । साइपालवासीले कुनै कुनै रुपमा बैंकिङ सेवा पाउनु पर्छ भन्ने राष्ट्र बैंकको मान्यता हो । त्यो विकल्प के हुनसक्छ हामी छलफल गर्दैछौं ।’ उनले बैंक र स्थानीय तहलाई राखेर छलफल गरेपछि यो विषय टुंगो लाग्ने बताए ।

साइपाल गाउँपालिकाका जनप्रतिनधिहरुले भने बैंक स्थापना भइदिए पालिकाको तर्फबाट गर्न सकिने सबै सहयोग गर्न तयार रहेको बताएका छन् । ‘हामीले उहाँहरुलाई पालिकामा बैंकमात्रै संचालन गरिदिनुहोस् । त्यसका लागि पालिकाले जस्तो सहयोग गर्न परे पनि तयार छौ भनेका छौं,’ गाउँपालिका अध्यक्ष मनवीर बोहराले भने, ‘हामीले धेरै दु:ख पाइसक्यौं । बैंक राख्नका लागि तपाईंहरुले रोजेको घरमा मान्छे छन् भने पनि खाली गराउँछौं । कर्मचारी पाल्न गाह्रो हुन्छ भने पालिकाले तलब व्यहोर्न तयार छौं । रकम ढुवानीका लागि हेलिकोप्टर चार्टर गर्नु परे पनि गर्छौं भनेका छौं ।’

उनले पालिकामा बैंकिङ सेवा नभएका कारण विकास योजनाको गुणस्तर घटाउनु पर्ने बाध्यता रहेको, सात वर्षदेखि पालिकाको कार्यालय सदरमुकाममै रहेको र जनताले संघीयताको अनुभव लिन नपाएको बताउँदै बैंक स्थापनाका लागि जे पनि गर्न पालिका तयार भएको बताए ।

प्रकाशित : चैत्र १४, २०८० १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?