२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

पुरुषभन्दा महिला कृषि कामदारलाई १३४ रुपैयाँ कम ज्याला

- उस्तै प्रकृतिको काममा पुरुष कृषि कामदारले दैनिक ६ सय ६५ ज्याला पाउादा महिलालाई ५ सय ३१ मात्रै 
- सबैभन्दा बढी असमानता गण्डकीमा, कम सुदूरपश्चिममा, कृषि कामदारलाई सबैभन्दा थोरै ज्याला मधेशमा
राजु चौधरी

काठमाडौँ — कामको प्रकृति एउटै भए पनि कृषिमा महिला र पुरुषबीच ज्यालामा विभेद रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ । उस्तै प्रकृतिको काममा पुरुषभन्दा महिलाले पाउने ज्यालादरमा दैनिक औसत १ सय ३४ रुपैयाँ कम रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको हो ।

पुरुषभन्दा महिला कृषि कामदारलाई १३४ रुपैयाँ कम ज्याला

कार्यालयले सार्वजनिक गरेको कृषि गणनाअन्तर्गत सामुदायिक प्रतिवेदनअनुसार महिला कृषि कामदारले दैनिक ५ सय ३१ रुपैयाँ पाउँछन् । पुरुष कृषि कामदारले भने दैनिक औसत ६ सय ६५ रुपैयाँ पाउँदै आएका छन् । श्रम ऐन २०७४ को दफा ७ मा लिङ्गका आधारमा पारिश्रमिकमा भेदभाव गर्न नहुने भनिएको छ । तर, देशका कुल वडामध्ये ६ हजार ३६ (करिब ९० प्रतिशत) वटाबाट विवरण संकलन गरी तयार पारिएको प्रतिवेदनले पारिश्रमिकमा भेदभाव भइरहेको देखाएको छ ।

कामदारको ज्यालामा असमानता सबै प्रदेशमा देखिएको छ । कृषि कामदारले सबैभन्दा बढी ज्याला वाग्मती प्रदेशमा पाउँछन् । पुरुषको भन्दा महिलाले दैनिक २ सय ५ रुपैयाँ कम ज्याला पाउँछन् । प्रतिवेदनअनुसार वाग्मतीमा पुरुषले दैनिक ८ सय १० रुपैयाँ पाउँछन् । महिला कामदारले भने दैनिक ६ सय ५ रुपैयाँ मात्रै पाउँछन् । दोस्रोमा बढी ज्याला गण्डकी प्रदेशमा छ । गण्डकीमा पुरुष कृषि कामदारले ८ सय ८ रुपैयाँ र महिलाले ५ सय ५ रुपैयाँ पाउँछन् । उस्तै काममा पुरुषभन्दा महिला कृषि कामदारले दैनिक ३ सय ३ रुपैयाँ कम मूल्य पाएका छन् ।

सबैभन्दा बढी असमानता गण्डकी र कम सुदूरपश्चिममा छ । सुदूरपश्चिममा महिला र पुरुषबीच ज्यालामा दैनिक ६३ रुपैयाँ फरक छ । सुदूरमा पुरुषले दैनिक औसत ६ सय १ रुपैयाँ र महिलाले दैनिक औसत ५ सय ३८ रुपैयाँ ज्याला पाउँछन् । सबैभन्दा थोरै ज्याला भने मधेश प्रदेशमा पाउँछन् । मधेशमा पुरुष कृषि कामदारले दैनिक ५ सय ५७ रुपैयाँ पाउँछन् । महिला कामदारले पुरुषभन्दा ८८ रुपैयाँ कम ४ सय ७७ रुपैयाँ ज्याला पाउने गरेका छन् । प्रतिवेदनअनुसार कोशीमा पुरुष कृषि कामदारले ६ सय ८ र महिलाले ४ सय ८८ रुपैयाँ ज्याला पाउँछन् । लुम्बिनीमा पुरुष कृषि कामदारले ६ सय २० र महिलाले ५ सय ११ रुपैयाँ पाउने गरेका छन् । कर्णालीमा पुरुष कामदारले ६ सय ९९ रुपैयाँ र महिलाले ५ सय ८१ रुपैयाँ पाएको प्रतिवेदनमा उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार २०८० साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । तर २०७८ साउन १ को तुलनामा २ हजार ३ सय रुपैयाँ बढाएर १७ हजार ३ सय पुर्‍याएको छ । मन्त्रालयका अनुसार अब चिया बगानबाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ थियो । तर, सरकारले बढाएअनुसार श्रमिकले ज्याला पाउन सकेका छैनन् ।

मन्त्रालयको सूचनाअनुसार आधारभूत पारिश्रमिक १० हजार ८ सय २०, महँगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ गरी १७ हजार ३ सय पुर्‍याइएको छ । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५ र महँगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ थियो ।

अब श्रमिकको दैनिक पारिश्रमिक ६ सय ६८ रुपैयाँ पुगेको छ । यसअघि ५ सय ७७ रुपैयाँ थियो । चिया बगानका श्रमिकको हकमा मासिक पारिश्रमिक १३ हजार ८ सय ९३ रुपैयाँ पुगेको छ । यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ थियो । दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४ सय ३५ रुपैयाँ थियो ।

सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गरे पनि पूर्णरूपमा कार्यान्वयन भएको छैन । पछिल्लो समय आर्थिक गतिविधि सुस्त भएकै कारण पूर्ण कार्यान्वयनमा समस्या भएको व्यवसायीको दाबी छ । ‘कोभिडले थलिएका उद्योगी/व्यवसायीहरू तंग्रिन सकेका छैनन् । कतिपय व्यवसाय बन्द भए, धेरैजसो उद्योग धराशायी बनेका छन्,’ नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका एक सदस्यले भने, ‘केहीले कार्यान्वयन गरेका छन्, कतिपयले गर्न सकेका छैनन् ।’


प्रकाशित : वैशाख ४, २०८१ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?