२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

शल्यक्रिया खाँचो रहेका बेला मलमपट्टीले अर्थतन्त्र उकास्दैन : अध्यक्ष अग्रवाल

काठमाडौँ — नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चौतर्फी चुनौती र समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि ठूलो शल्यक्रियाको खाँचो रहेका बेला मलमपट्टीबाटै सरकारले शिथिल अर्थतन्त्र उकास्न खोजिरहेको बताएका छन् । मंगलबार परिसंघको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले मलमपट्टीवाला सोचले अर्थतन्त्रलाई उकास्ने नभइ थप संकटतर्फ लैजाने चेतावनी दिए ।

शल्यक्रिया खाँचो रहेका बेला मलमपट्टीले अर्थतन्त्र उकास्दैन : अध्यक्ष अग्रवाल

प्रधामन्त्री पुष्पकमल दाहालसहित उद्योग, वाणिज्य तथा आपूर्त मन्त्री दामोदर भण्डारीलगायत उपस्थित कार्यक्रममा परिसंघ अध्यक्ष अग्रवालले कर्मठ उद्योगी व्यवसायीको अभावमा देशले समृद्धि हासिल गर्न नसक्ने बताए । ‘उद्योग व्यवसाय बचाउनु, प्रोत्साहन गर्नु, उद्योगीलाई सम्मान गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘उद्योगी व्यवसायीको मनोबल गिराएर, अपमानित गरेर समृद्धिको लक्ष्य हासिल हुन सक्दैन ।’

स्वदेशी लगानीलाई प्रवर्द्धन गर्ने, लगानीकर्तालाई प्रोत्साहन र सम्मान गर्नुपर्ने अग्रवालको भनाइ थियो । स्वदेशी लगानी बढ्यो भने मात्रै विदेशी लगानीकर्ताको पनि नजर नेपालमा पर्ने उनले बताए । पछिल्लो समय सामान्य उजुरीकै भरमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्न खोज्ने चलन बढ्दै गएकोमा अग्रवालले आपत्ति जनाए । ‘यस्तो अवस्था निजी क्षेत्रका लागि मात्रै होइन कर्मचारीतन्त्र, राजनीतिक नेतृत्वमाथि समेत भइरहेको छ,’ उनले भने, ‘थुन्ने नाममा बार्गेनिङ गर्ने, मानमर्दन गर्दै जनमानसमा नराम्रो स्थापित गर्न खोज्नेजस्ता काम भइरहेका छन् । त्यसैले नेपाल उद्योग परिसंघले अग्रिम जमानतसम्बन्धी व्यवस्था गर्न आग्रह गरेको छ ।’

विद्यमान आर्थिक मन्दीका कारण समग्र मागमा आएको उच्च संकुचनले उत्पादक मर्कामा परिरहेका बेला उधारोसमेत उठाउन नसक्दा अर्को पीडा थपिएको उनले जानकारी दिए । भुक्तानीको संरक्षण गर्न आवश्यक व्यवस्था गर्न उनले अनुरोध गरेका छन् । अर्थतन्त्रलाई गतिशिल बनाउन प्राथमिकता क्षेत्र पहिचान गरी परिसंघले सरकार र नियामक निकायलाई सुझाव दिँदै आए पनि ती सुझाव कार्यान्वयन नहनु दु:खद भएको उनको भनाइ थियो । ‘उद्योग, उर्जा, पर्यटन, सूचना प्रविधि, निर्माण तथा पूर्वाधार, कृषिजस्ता हाम्रा प्रतिस्पर्धी क्षमता बढी भएका क्षेत्रमा तत्काल गर्नुपर्ने, दीर्घकालिन रुपमा गर्नुपर्ने कामको स्पष्ट सुझाव दिएका थियौं,’ उनले भने, ‘तर, ती सुझावहरु अझै कार्यान्वयनमा आउन सकेका छैनन् ।’

दुई दसकअघिदेखि कल्पना गरिएको दोहोरो अंकको आर्थिक वृद्धि केबल हाम्रो आकांक्षामै सीमित हुने हो कि भन्नेमा उनले चिन्ता प्रकट गरे । देशमा उद्योग व्यवसायलाई प्रोत्साहन नदिँदा यहाँ रोजगारका अवसरमा पनि सिर्जना हुन नसकेको परिसंघ अध्यक्ष अग्रवालको विश्लेषण थियो । ‘रोजगारी नहुँदा युवाहरूको विदेश पलायन बढ्दो छ,’ उनले भने, ‘अहिले हामी उद्योगी व्यवसायीहरूलाई देशभित्रै जनशक्ति पाइँदैन कि भन्ने जति चिन्ता छ, राजनीतिक नेताहरूलाई पनि आफूलाई भोट हाल्ने जनता पनि नरहने हुन् कि भन्ने चिन्ता हुनुपर्‍यो ।’

प्रकाशित : वैशाख ४, २०८१ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?