२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रधानसेनापति शर्मा भन्छन् : फास्ट ट्य्राक समयमै सकिन्छ, नसक्ने भए सक्दिनँ भनिदिन्थेँ

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई-मधेश द्रुतमार्गको लागत हालसम्म नबढेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले काठमाडौं–तराई-मधेश द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका छन् । 

प्रधानसेनापति शर्मा भन्छन् : फास्ट ट्य्राक समयमै सकिन्छ, नसक्ने भए सक्दिनँ भनिदिन्थेँ

अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको प्रधानसेनापति शर्माले बताए । फास्ट ट्य्राक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको उनको भनाइ छ । 'नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ । मलाई केही छैन । नेपालमा हजुर, हामी दाजुभाइ नै हौँ । केही लाज लाग्दैन । सक्ने, नसक्ने भन्नमा । सकिन्छ । तर एकदम सिँगारेर, फास्ट ट्य्राक भनेर युरोपको सडकजस्तो नगरे पनि हजुरहरूलाई खोकनाबाट गाडी चढाएर पूर्व-पश्चिम राजमार्गसम्म पुर्‍याउन पाएँ भने हजुरहरूले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको,' प्रधानसेनापति शर्माले भने ।

पछिल्लो समय पुल सुरुङ निर्माणलाई आफूहरूले प्राथमिकता दिएको पनि उनले बताए । 'पुल र टनेललाई विशेष महत्व दिएको हो । अन्य खन्ने बाटो त राति पनि खनेर सकिदिउँला । केही फरक पर्दैन । प्राविधिक रुपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ । त्यसमा जोड दिइएको कारण यहीँ हो । अहिलेसम्म बजेटभित्रै काम गर्न हामी सफल भएका छौँ । अहिलेसम्म बजेटभित्रै छौँ । त्यो पनि कट्दैन । पाँच वर्ष अगाडिको योजनामा अहिलेसम्म ठेक्का लाग्दाखेरी पनि हामीले कसरी मिलायौँ होला ? त्यो कुरा विचार गर्नुपर्छ,' उनले भने ।

प्रधानसेनापति शर्माले फास्ट ट्य्राक निर्माण समयमै सक्नेमा आफू ढुक्क रहेको पनि बताए । 'त्यो बेलाको योजना अनुरुपको बजेटभित्रै छौँ हामी । अझ बाँकी छ पैसा । त्यसो भएको हुनाले हामीसँग कन्फिडेन्स् छ भन्न खोजेको । लागत बढेको छैन । कुनैपनि पैसा बढेको छैन । समय पनि तोकेको समयभित्रै छौँ । ठुलो आयोजनाको कामको समय कुलो बनाएको जस्तो, एउटा पुल बनाएको जस्तो हुँदैन । त्यसले अलिकति समय लिन्छ । हामी समयभित्र पनि छौँ । बजेटभित्र पनि छौँ । काम पनि भइराखेको छ,' उनले भने। प्रधानसेनापति शर्माले काठमाडौं–तराई-मधेश द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताए । आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख ७, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?