कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्ट फिल्मको लङ जम्प

विश्व चर्चित बर्लिन फिल्म फेस्टिभलमा यो वर्ष ‘शाम्बाला’ र सर्ट फिल्म ‘सङस् अफ लभ एन्ड हेट’ ले बलियो उपस्थिति जनाए । प्रमुख प्रतिस्पर्धातर्फ छनोट भएको ‘शाम्बाला’ ले प्रशंसा बटुल्यो । यी फिल्मले सर्ट फिल्मप्रति युवा फिल्मकर्मीको सक्रियता, झुकाब र सफलता छर्लङ्ग पारेका छन् । 
रीना मोक्तान

काठमाडौँ — विश्व चर्चित बर्लिन फिल्म फेस्टिभलमा यो वर्ष ‘शाम्बाला’ सँगै नेपालबाट ‘सर्ट फिल्म’  ‘सङस् अफ लभ एन्ड हेट’ ले बलियो उपस्थिति जनायो । प्रमुख प्रतिस्पर्धातर्फ छनोट भएको ‘शाम्बाला’ ले जुन किसिमको प्रशंसा बटुल्यो, त्यसको दाँजोमा ‘सर्ट फिल्म’ को चर्चा साह्रै न्यून रह्यो । 

सर्ट फिल्मको लङ जम्प

सौरभ घिमिरे निर्देशित फिल्मले बर्लिनको ‘जेनेरेसन फोर्टिन प्लस’ तर्फ ‘स्पेसल जुरी मेन्सन’ अवार्ड जित्यो । फिल्मले अन्तर्राष्ट्रिय बजारमा नेपालबाट ‘सर्ट फिल्म’ ले बढाइरहेको पहुँच, उपस्थिति र प्रतिनिधित्व प्रस्तुत गरेको छ । त्यस्तै, ‘सर्ट फिल्म’ को विश्व बजारमा नेपालले नापिरहेको उचाइको उदाहरण बन्न सफल भयो, ‘सङस् अफ लभ एन्ड हेट’ । घिमिरेको निर्देशन र मिङ्सो लिम्बूद्वारा निर्मित यी फिल्मले ‘सर्ट फिल्म’ प्रति युवा फिल्मकर्मीको सक्रियता, झुकाब र सफलताबारे पनि बोलेका छन् ।

यसअघि बर्लिनकै ‘जेनेरेसन के प्लस’ मा राजेशप्रसाद खत्रीको ‘जालगेडी’ उत्कृष्ट ‘सर्ट फिल्म’ घोषित भएको थियो । पछिल्ला वर्षमा अविनाश विक्रम शाह निर्देशित ‘लोरी’ ले कान्समा ‘स्पेसल मेन्सन’ जित्यो । सन् २०१६ मा पूजा गुरुङ र विभूषण बस्नेतको ‘सर्ट फिल्म’ ‘दद्या’ ले सनडान्समा सिनिमेटोग्राफीका लागि ‘स्पेसल जुरी अवार्ड’ पाएको थियो । नेपालका ‘सर्ट फिल्म’ विश्वका प्रमुख फेस्टिभल भेनिस, कान, बर्लिन, टोरोन्टो र सनडान्समा उपस्थिति जनाउने मात्र होइन, अवार्ड नै भित्र्याउन अग्रसर देखिन्छन् । उपस्थितिका हिसाबले पनि विश्वका थुप्रै फेस्टिभलमा नेपाली ‘सर्ट फिल्म’ ले सक्रियता बढाउँदै लगेका छन् ।

यो वर्ष मात्रै निरञ्जन भेटवालको ‘साक्षी रूख’ बुसानमा वर्ल्ड प्रिमियर भयो । यो फिल्म रोटरड्याम र क्लेरमोन्ट फेराडमा पुग्यो । त्यस्तै, यही वर्ष सुनील गुरुङको ‘विन्डहर्स’, विदुषी गिरीको ‘चिसो घर’ र ‘हेलेना’ ले मामी हुँदै विश्व बजारको बाटो रोज्न सफल भए । गत वर्ष दीपक

रौनियार निर्देशित ‘फोर नाइट्स’ बर्लिनकै ‘सर्ट फिल्म’ तर्फ प्रतिस्पर्धामा पुगेको थियो । त्यस्तै, निरञ्जन भेटवालको ‘अनहद’ र र सुनील पाण्डेको ‘बाघथान’ पनि रोटरड्याममा पुगेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली ‘सर्ट फिल्म’ को छलाङ एक हिसाबले अप्रत्याशित पनि छ । किनकि, ‘सर्ट फिल्म’ का लागि नेपालमा बजार छैन । बजेट पनि छैन । व्यावसायिक फिल्मका लागि घरेलु बजार छ । नेपाली बजारसँगै विदेशमा गरिने प्रदर्शनबाट फिल्मकर्मीले लगानी जोगाउँछन् । तर, ‘सर्ट फिल्म’ मा लगानी गरिदिनेकै अभाव छ । लगानी गरेको रकम उठ्ने पक्का नभएपछि लगानीकर्ता आकर्षित हुने कुरै भएन । त्यसैले ‘सर्ट फिल्म’ बनाउनेहरूले ‘इन्डिपेन्डेन्ट शैली’ मा फिल्म बनाउने गरेको ‘लोरी’ निर्देशक अविनाश विक्रम शाह बताउँछन् ।

‘क्यामरा पनि साथीसँग भाडामा लिएर बनाउँछौं । सहयोग मागेर नै काम गर्छौं । त्यसरी एकदमै इन्डिपेन्डेन्ट शैलीमा फिल्म बनाउँछौं, ‘अविनाश सुनाउँछन्,’ यस्तो फिल्ममा लगानी गरिदिने कोही हुँदैन । फिल्म बनाइसकेपछि पनि कसरी बेच्ने भन्ने पनि गाह्रो हुन्छ । त्यसैले सकेसम्म कम पैसामा कसरी फिल्म बनाउने भन्ने नै हाम्रो उदेश्य हुन्छ ।’ बजार र बजेटकै अभावले विश्व बजार पुगेकाहरूले ‘सर्ट फिल्म’ को बजार त्यता देखेका छन् । अन्तर्राष्ट्रिय बजार पुगिरहँदा नै ‘लोरी’ले हङकङको कम्पनीबाट लगानी प्राप्त गरेको थियो । ‘‘सर्ट फिल्म’ को दर्शक एकदमै सानो हुन्छ । ‘सर्ट फिल्म’ देखाउने भनेकै फेस्टिभलहरूमा हो,’ अविनाशले भने ।

युवा फिल्मकर्मी यस किसिमको प्लेटफर्ममा पुग्नुपर्ने आवश्यकता देख्छन्, सौरभ । ‘यस्तो फेस्टिभलमा हामीजस्ता युवा फिल्मकर्मीको फिल्म छानिनु गौरवको कुरा हो । अवार्ड पाउँदा त झन् त्यसले हामीलाई स्थापित नै गराइदिन्छ,’ उनले भने । त्यस्ता प्लेटफर्मले नेपाली फिल्मकर्मीको क्षमता देखाइदिने उनको भनाइ छ । ‘फिल्मसँग पैसा पनि जोडिन्छ, त्यसैले फिल्म बनाएपछि बजार पुग्नु त पर्ने नै भयो नि । अनुदान, लगानीका लागि पनि यस्तो ठाउँमा हामीहरू पुग्नुपर्ने हुन्छ,’ सौरभले भने ।

मिङ्सो भने यस्ता प्लेटफर्ममा निर्माता पनि पुग्नुपर्ने बताउँछन् । ‘सर्ट फिल्म’ का लागि खर्च ल्याउन पनि उनीहरू त्यहाँ पुग्नुपर्ने उनको धारणा छ । ‘सेल्स र ठूलो संख्याको दर्शकबीच फिल्मलाई पुर्‍याउन पनि निर्माताले यस्तो ठाउँमा पुग्नुपर्छ । फिल्मका लागि फन्डिङ ल्याउन पनि बजार पुग्नुपर्छ,’ मिङ्सोले भने, ‘आर्ट हाउसको फिल्म बनाएर, कबड्डी र छक्का पञ्जाजस्ता फिल्मले व्यापार गर्छु भनेर सोच्नु भएन । आफ्नो फिल्मको बजार कहाँ हो भनेर पहिल्यैदेखि प्रस्ट हुनुपर्छ ।’

कथाशैलीमा फरक प्रयोग

‘सर्ट फिल्म’ प्रयोगका हिसाबले फिचरभन्दा धेरै अगाडि छन् । छोटो समयमा भनिने कथामा जोखिम मोल्न फिल्मकर्मीले हिम्मत गर्छन् पनि । शैली र विषयवस्तुका हिसाबले पनि ‘सर्ट फिल्म’ मा विविधता भेटिन्छ । बर्लिन जितेकै सौरभ र मिङ्सोको फिल्मलाई हेरौं । फिल्मको कथा रेडियोमा प्रेमको सल्लाह दिँदै हिँड्ने प्रेम भन्ने चरित्र वरिपरि घुम्छ । स्रोतालाई प्रेम सुझाब दिने उनै प्रेमको जीवनमा वियोगले प्रवेश गर्छ, त्यसपछि उक्त पात्रले गर्ने यात्रामाथि आधारित छ फिल्म । झट्ट सुन्दा, लाग्छ यो प्रेममा आधारित फिल्म हो । तर, यो फिल्मले रेडियोमा स्रोताले सुनाउने प्रेमका अनेकन जटिल सम्बन्धमार्फत नेपाली समाजमा गढेर बसेको जात व्यवस्था, यौनिक तथा अल्पसंख्यक समुदायको पीडा अनि अन्य सामाजिक मुद्दामाथि व्यंग्य गर्छ । यस्तो भारी विषय उठाइएको यो फिल्मले निकै फरक शैलीमार्फत कथा भन्छ ।

यो फिल्म ‘अर्काइभ फुटेज’ मार्फत बनाइएको निर्देशक सौरभ बताउँछन् । फिल्ममा कतै कलाकार देखिँदैनन्, रेडियो र स्रोताकै स्वर मात्र पृष्ठभूमिमा सुनिन्छ । अँध्यारा दृश्यमा धूमिल आकृति र चित्रजस्ता देखिने दृश्यको प्रयोग छ । परम्परागत कथ्य शैलीभन्दा निकै फरक ढंगले बनाइएको यो फिल्ममा कथा श्रव्यदृश्यकै भरमा भनिएको छ । सम्पादन टेबलमा लामो समय खर्चेपछि यो फिल्म बनेको सौरभ बताउँछन् । व्यावसायिक फिल्मकर्मीले एउटै शैली अपनाइरहँदा ‘सर्ट फिल्म’ ले कथा भन्ने शैलीमै निकै जोखिम मोलिरहेको साउन्ड डिजाइनर किशोर बताउँछन् । ‘नयाँ विषय र नयाँ विधामा प्रयोग गरिरहेको हुन्छ । फरक शैली उनीहरूले अभ्यास गरिरहेको हुन्छ,’ ‘सर्ट फिल्म’ ले व्यस्त बनाएका किशोरले भने ।

यो वर्ष अन्तर्राष्ट्रिय बजार घुमेको ‘साक्षी रूख’ ले व्रतबन्धभित्रको विश्वाससँगै आमा र छोराबीचको जटिल सम्बन्ध, मातृप्रेम अनि अस्तित्वको कथा पस्क्यो । यो फिल्ममा नेपाली समाजको मूल्य, मान्यता र विश्वास मिसाइएको छ । विषयवस्तुसँगै कथ्य शैलीमा फिल्मकर्मीले ध्यान पुर्‍याउनुपर्ने मिङ्सो सुनाउँछन् । ‘कन्टेन्टभन्दा पनि शैली अझै विकास गर्नुपर्छ कि भन्ने लाग्छ । कन्टेन्टमा त काम भइरहेकै छ । फेरि फिल्म भन्नु कन्टेन्ट मात्रै पनि होइन । पहिला ‘सर्ट फिल्म’ लाई प्रोफाइलका लागि बनाइने बुझाइ थियो, तर यो आफैंमा माध्यम हो भन्ने बहससम्म हामी आइपुग्यौं,’ मिङ्सोले भने । कन्टेन्ट भए पनि त्यसलाई भन्ने तरिकामा ध्यान पुग्नुपर्ने उनी बताउँछन् ।

‘सर्ट फिल्म’ ‘जुन्को’ लाई अन्तर्राष्ट्रिय बजार पुर्‍याएका मिङ्सो फरक शैलीले पहिचान दिलाउने धारणा राख्छन् । ‘हाम्रो फिल्म छानिएको विधामा अन्य ७ राम्रा फिल्म छानिएका थिए । सबै फिल्मले आफ्नो आवाज बोकेको थियो । त्यसमध्येमा अवार्ड पाउनु त्यत्ति सजिलो थिएन । अवार्डपछि निर्णायकसँग गफिएपछि थाहा पायौं, हाम्रो फिल्ममा उनीहरूले अलि बढी आवाज भेटेछन्, हाम्रो शैलीलाई मन पराएछन्,’ उनले भने ।

संख्यात्मक हिसाबले पनि ‘सर्ट फिल्म’ को उपस्थिति विश्व बजारमा बढ्दै गएको साउन्ड डिजाइनर किशोर सुनाउँछन् । तीन महिनामा किशोरले मात्रै यो ७ ‘सर्ट फिल्म’ मा ध्वनिको काम गरे । उनी ‘सर्ट फिल्म’ मा ध्वनिको काम गर्ने व्यस्त साउन्ड डिजाइनर हुन् । ४० भन्दा बढी ‘सर्ट फिल्म’ मा काम गरिरहेका उनी प्राविधिक पक्षदेखि फिल्म निर्माणमै पनि ‘सर्ट फिल्म’ बनाउनेहरू परिपक्व रहेको विश्लेषण गर्छन् । फिचरको दाँजोमा अन्तर्राष्ट्रिय बजारमा ‘सर्ट फिल्म’ ले आफूलाई सावित गर्न सफल बनिसकेको किशोरको भनाइ छ ।

‘फिचरमा अहिले पनि पैसा लगानी गर्नेलाई निर्माता भनिरहेको हुन्छ । तर, ‘सर्ट फिल्म’ मा ल्याबदेखि फन्डका लागि स्टोरी पिच गर्ने जिम्मेवार व्यक्तिलाई निर्माता भनिरहेको हुन्छ । निर्माताले त टिम बनाएर, बजारबाट पैसा खोजेर फिल्म निर्माणका लागि सहज वातावरण बनाइदिरहेको हुन्छ,’ उनले भने, ‘त्यो हिसाबले निर्माताले अनुदान ल्याएर फिल्म बनाइरहेको हुन्छ । त्यसैले निर्माताको हकमा यस्तो विचारलाई ब्रेक गरिसक्यो । अहिले बल्ल व्यावसायिक फिल्मले सिंक साउन्ड गर्नुपर्छ भन्ने बुझिरहेका छन् । तर, ‘सर्ट फिल्म’ ले पहिल्यैदेखि यसको अभ्यास गर्दै आइरहेका छन् ।’

‘सर्ट फिल्म’ को कथा भन्ने तरिका नै परिस्कृत बन्दै आएको तर्क गर्छन् निर्देशक निरञ्जन भेटवाल । लगातार ‘सर्ट फिल्म’ बनाइरहेका उनी भन्छन्, ‘‘सर्ट फिल्म’ हरू अहिले खुलेर आउन थालेका छन् । समाजको वास्तविक कथालाई उनीहरूले खुलेर भन्न थालेका छन् ।’ प्रविधिको पहुँचसँगै युवा फिल्मकर्मीको झुकाब ‘सर्ट फिल्म’ तर्फ बढ्न थालेको काठमाडौं माउन्टेन फिल्म फेस्टिभलका निर्देशक रम्यता लिम्बूको विश्लेषण छ । ‘फिल्म स्कुलको विकाससँगै फिल्मकर्मी बढ्न थालेका छन् । प्रविधिमा पहुँच हुँदा फिल्म नै अनलाइनमा पढ्न पाउने भए, घरमै पनि फिल्म सम्पादन गर्न सक्ने भए,’ उनले भनिन्, ‘पुरुष फिल्मकर्मीको दाँजोमा कम भए पनि पछिल्लो समय महिला फिल्मकर्मीको सहभागिता बढेको छु ।’

कहाँ चुक्यो विकास बोर्ड ?

अन्तर्राष्ट्रिय बजारमा नेपाली ‘सर्ट फिल्म’ छनोट हुँदा होस् वा अवार्ड जित्दा, यसको महत्त्व चलचित्र विकास बोर्डले अझै बुझ्न सकेको छैन । विदेशमा कलाकार बोकेर अवार्ड कार्यक्रम गर्ने बोर्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नतर्फ चासो नदिनु सबैभन्दा ठूलो विडम्बना हो । सौरभ र मिङ्सोजस्ता नयाँ प्रतिभालाई बोर्डले प्रोत्साहन गर्नुपर्ने धारणा राख्छन्, अविनाश । ‘मेरो फिल्मले कान्स जित्दा पनि बोर्डबाट केही पनि पाइएन,’ अविनाशले भने, ‘शाम्बाला बर्लिनको प्रमुख प्रतिस्पर्धामा पुग्दासमेत बोर्डले बधाई पनि दिएको कतै देखिएन ।’

साना स्केलका यी फिल्मको शक्ति नबुझ्दा बोर्डकै अस्तित्त्वमाथि प्रश्न उठाउँछन् मिङ्सो । ‘शाम्बाला बर्लिन पुग्दा नेपालले भन्दा पनि भारतले त्यहाँ साथ दिइरहेको थियो । भारतबाट त्यहाँ बजारको बुथ थियो । तर, हाम्रो विकास बोर्डको त त्यहाँ अस्तित्त्व नै थिएन । रेड सुटकेस भेनिस जाओस् वा गाउँ आएको बाटो टोरोन्टोमै होस् । त्यस्तो ठाउँहरूमा फिल्म पुग्दा पनि बजार र फिल्मका लागि विकास बोर्डको त्यहाँ उपस्थिति देखिन्न,’ मिङ्सोले भने, ‘यस्तो बजार भएको ठाउँमा विकास बोर्डले प्रचारको बुथ राख्न सक्थ्यो । बंगलादेश, श्रीलंका अनि भारतको बुथ बर्लिनमा थियो । जब कि बंगलादेश र श्रीलंकाको यो वर्ष फिल्म नै थिएनन् । तर, हाम्रो फिल्म यसरी छनोट हुँदा पनि विकास बोर्डको त्यहाँ अस्तित्व हुँदैन ।’

हुन त विकास बोर्डले यसरी फेस्टिभल पुग्ने फिल्मका लागि भनेर बाटो खर्च जुटाएको छ । तर, त्यो पनि हात्तीको मुख जिरा सावित भएको फिल्मकर्मीले आलोचना गर्दै आएका छन् । बाटो खर्च दिने नीतिमा सुधार आवश्यक रहेको सौरभको माग छ । ‘कान, बर्लिन, भेनिस, लोकार्नो जानेलाई यति–यति भनेर पैसा छुट्याइएको छ । तर, यी फेस्टिभलको प्रमुख प्रतिस्पर्धामै जाने मात्रै होइन यही फेस्टिभल अन्तर्गतकै अन्य विधा समेटिएको कार्यक्रममा फिल्मकर्मी सहभागि हुन पुग्छन् । तर, त्यस्तो ठाउँमा जानेलाई कसरी दिन्छ भन्ने कुरा नै प्रस्ट छैन । कसले–कसरी खर्च पाउने हो ? त्यो नै प्रस्ट छैन, ‘सौरभले भने । उनी यसरी फेस्टिभल पुग्ने फिल्मलाई प्याकेज बनाएर बोर्डले सहयोग गर्नुपर्ने बताउँछन् ।

‘यसरी पैसा दिनुभन्दा पनि, दुई फिल्मकर्मी जाँदै छ भने निश्चित समयका लागि बोर्डले सहयोग गरिदिनुपर्छ,’ सौरभले उपाय सुझाए । सौरभकै कुरामा सहमत हुँदै मिङ्सोले थपे, ‘विकास बोर्डले पाँच वर्षमा एक पटक मात्र पुग्न सकिने महोत्सवका लागि बाटाखर्च छुट्याएको छ । तर त्यसको प्रक्रियामाथि नै पुनर्विचार गर्नुपर्छ भन्ने लाग्छ । यस्तो प्लेटफर्ममा पुगेर फर्किसकेपछि त्यहाँको यात्रामाथि निबन्ध लेख्दै खर्च माग्ने प्रक्रिया त झन्झटिलो नै छ नि ।’

नेपालमै पनि ‘सर्ट फिल्म’ का लागि बजार व्यवस्था गरिदिन बोर्ड चुकेको छ । यस्ता प्रतिभालाई हुर्काउन राज्यले लगानीसमेत गर्नुपर्ने किशोरको धारणा छ । ‘पहिलो पटक फिल्म बनाउने निर्देशक भनेर फरक विधामा बोर्डले अनुदान सक्छ । फेस्टिभलमा छानिएको अथवा कतै ल्याबमा पिचिङका लागि छनोट भएको फिल्म छ भने त्यस्ता स्क्रिप्टलाई अनुदान दिन सकिन्छ,’ उनले भने, ‘यस्ता प्रतिभालाई न साथ छ न तालिम । छुट्याइएको फन्ड पाउन पनि गाह्रो । एक साताअघि मात्रै एक वर्षअघि बर्लिन जाँदाको बाटो खर्च पाएँ । त्यो पनि लामो लफडापछि । जाँदा दुई लाख खर्च भयो, बोर्डले ५० हजार दियो ।’

किशोर ‘सर्ट फिल्म’ को बजार प्रवर्द्धनका लागि बोर्डले डिजिटल प्लेटफर्मसँग समन्वय गर्न भूमिका खेल्नुपर्ने बताउँछन् । कुनै डिजिटल प्लेटफर्मलाई एम्जी (मिनिमम ग्यारेन्टी) दिँदै बोर्डले अवार्ड जितेका यी फिल्मको बजारमा टेवा पुर्‍याउन सक्ने उनको विचार छ । ‘डिजिटल प्लेटफर्ममा प्रदर्शन गर्ने माध्यम बनाउनुपर्छ । त्यसले मार्केट पनि बढ्ने भए, दर्शकले पनि पैसा तिरेर यस्तो फिल्म हेर्न पाउने थिए । केही युट्युब च्यानलसँगै मिलेर पनि यी फिल्मको बजार व्यवस्थापनतर्फ बोर्डले सोच्नुपर्छ भन्ने लाग्छ ।’ ‘सर्ट फिल्म’ मा सक्रिय युवाहरूका लागि मेन्टरसिपको आवश्यकता देख्छन्, सौरभ । ‘इन्डिपेन्डेन्ट शैलीमा काम गर्नेहरूबीच स्क्रिप्ट विश्लेषककै कमी छ । युवा फिल्मकर्मीले बनाइसकेपछि सम्पादनमै पनि विश्लेषण गरिदिन सक्ने मेन्टरसिप नै छैन । तर, यो त अतिआवश्यक छ नि,’ सौरभले भने ।

नेपालमा आयोजना हुने केही फेस्टिभलले ‘सर्ट फिल्म’ का प्रतिभालाई प्लेटफर्म त दिइरहेको हुन्छ । तर, ती प्लेटफर्मले युवा फिल्मकर्मीलाई बजारसग जोड्न चुकेको मिङ्सो सुनाउँछन् । ‘नेपालमा जति नै फेस्टिभल भए नि, फिल्मकर्मीले त्यहाँ स्पेस नै पाइरहेका हुँदैनन् । फेस्टिभलले त बजारसँग जोडिने काम गर्छ नि त । फेस्टिभलमा पुगिसकेपछि विभिन्न प्लेटफर्मले फिल्म किन्न सक्छ । तर, नेपालका फेस्टिभलमा प्रदर्शन भएका ‘सर्ट फिल्म’ कहाँ पुगे त ? किन पुगेनन् । त्यहाँ फिल्म देखाएबापत फिल्मकर्मीले के पाए ?’ उनले प्रश्न गरे । फिल्म क्षेत्रका लागि नयाँ प्रतिभा जन्माउने हुँदा ‘सर्ट फिल्म’ मा राज्यले लगानी गर्नुपर्ने उनको धारणा छ । ‘फिल्मकर्मीले आफ्नै बलबुतामा फिल्म बनाउँदै यहाँसम्म आइपुगे । तर, अब उनीहरूलाई राज्यबाट सहयोग चाहिन्छ,’ उनले भने ।

प्रकाशित : चैत्र १५, २०८० ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?