कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

‘कांग्रेस पहिचानवादीको पक्षमा छ’

‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ कांग्रेसको ‘बटमलाइन’ यही हो ।
देशव्यापी रुपमा कांग्रेसको एकताको सुत्रको रुपमा इलामले सन्देश प्रवाह गर्नेछ । यसले सिंगो पार्टीलाई देशभर मजबुत बनाउने छ ।

काठमाडौँ — इलाम-२ मा प्रतिनिधिसभाका लागि वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा केही पुराना र केही नयाँ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

‘कांग्रेस पहिचानवादीको पक्षमा छ’

२०७९ मंसिरमा भएको चुनावमा कांग्रेसबाट उम्मेदवार भइ झिनो मतले पराजित भएका डम्बर खड्का यो उपचुनावमा पुन: उम्मेदवार बनेका छन् । कांग्रेस उम्मेदवार खड्कासँग कान्तिपुरका पर्वत पोर्तेलले गरेको कुराकानी :

यसपालीको चुनावी अनुभव अघिल्लो भन्दा के भिन्न छ ?

यसपटकको अनुभव पहिलाभन्दा धेरै फरक छ । अहिले धेरै दल मैदानमा छन् । जनतालाई छान्ने प्रशस्त अवसर छ । छानी छानी खुसीका साथ मत जाहेर गर्ने अवसर छ । पहिला जस्तो पार्टी भनेर हैन व्यक्ति हेरेर जाने अवस्था छ । जनताले यसपटक कामको मूल्यांकन गर्ने देखिन्छ । साथै भविष्यमा पनि काम गर्ने र काम लाग्ने उम्मेदवारलाई विश्लेषण गरेर मात्रै मत दिने अवस्था देखिन्छ ।

नयाँ र पुराना उम्मेदवारको कुरा छ । तपाईं नयाँ कि पुरानो ?

उम्मेदवार चाहीँ म नयाँ नै हो । तर, पार्टी पुरानो, पुरानो परिवक्व पार्टी हो । देशमा जे-जे परिवर्तन आयो त्यसको अगुवाई मुलतः कांग्रेसले नै गरेको छ । नयाँ पिंढीका मान्छेबाट भएका कमीकमजोरीलाई सुधारेर पार्टीलाई मजबुत पारेर लैजान चाहिरहेका छौं ।

जनताका सुख दु:खमा साथ दिएर, विकास निर्माणमा अग्रसर भएर नयाँ ढंगबाट अघि बढ्न चाहिरहेका छौं । पटक- पटक जित्ने नेता र दलबाट खासै विकास नभएको इलामलाई अब नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने अवस्था छ । बल्ल ५० वर्ष मात्रै पुग्दैछु । नेतृत्वका लागि तम्तयार छु ।

तपाईंको चुनावी एजेन्डा के हो ?

इलाममा किसानहरु पीडित छन् । दुध बिक्री भएको छैन, बाली कुहिएको छ । लम्पी स्किन जस्ता रोगहरुले किसानका धेरै चौपायहरु मरे । तर, किसानले बिमा रकम पाएका छैनन् । हरेक किसानहरु दु:ख र पीडामा छन् । चिया श्रमिकको अवस्था उस्तै छ । उनीहरुमाथि श्रम शोषण भइरहेको छ । सहकारी, वित्तीय संस्थाहरुले अत्याधिक महँगो ब्याज असुल्ने र निक्षेप पनि सुरक्षित नहुने अवस्था छ । यसबारे पनि आवाज उठाइरहेको छु ।

एउटै अनुहारले सँधै जित्ने तर, विकास निर्माणको काम चाहिँ माइ खोला तरेपछि ठप्प भएको अवस्था छ । पुलहरु बाढीले बगाएको छ । बाटोघाटोको विकराल स्थिति छ । स्वाथ्य चौकी, प्रहरी चौकी, खानेपानी अभाव छ । जनताका दुःख धेरै छन् । जनताका दुःखलाई निराकरण गर्ने एजेन्डा बोकर चुनावमा होमिएको छु ।

तपाईंले नै दोस्रो पटक टिकट पाएपछि नेता तथा कार्यकर्ताहरुको असन्तुष्टि सतहमै आएको थियो । अहिले त्यो असन्तुष्टि बाँकी छ कि मिलिसक्यो ? अर्न्तघातको सम्भावना कस्तो देख्नु हुन्छ ?

यसपाली त्यो अर्न्तघातको संभावना बिल्कुल छैन । सबै नेताहरु मलाई जिताउन लागिरहनु भएको छ । फेरि यो तीन वर्ष मात्रै हो । यसपटक जित्दा अर्को पटक जित्न सहज हुने निश्कर्षका साथ सबै एक ढिक्का भएर लाग्नु भएको छ ।देशव्यापी रुपमा कांग्रेसको एकताको सुत्रको रुपमा इलामले सन्देश प्रवाह गर्नेछ । यसले सिंगो पार्टीलाई देशभर मजबुत बनाउने छ । इलामेली कांग्रेसहरु एक ढिक्का छौं, यसको पुष्टि १६/ १७ गते हुने नै छ ।

पहिचानको मुद्दा पेचिलो छ । पहिचानप्रति कांग्रेसको आधिकारिक धारणा के हो ?

‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ कांग्रेसको ‘बटमलाइन’ यही हो । पहिचानवादीहरुको भावना बुझेर वर्ष दिनअघि प्रदेश १ का १४ जिल्लाकै कांग्रेस सभापतिहरुको संयुक्त बैठकले पहिचानवादी भावनाविपरीत राखिएको प्रदेशको नामकरणलाई पुनर्विचार गर्न र सच्याउन माग गर्ने निर्णय गरेकै हो ।

त्यसपछि केन्द्रीय सभापति शेरबहादुर देउवा १४ वटै जिल्लाका सभापतिहरुले गरेको निर्णयको प्रतिलिपि बुझाइयो । सभापतिजीले माननीय मुख्यमन्त्री केदार कार्कीलाई फोन गरेर पुनर्विचारका लागि भन्नु भएको छ । यो मुद्दामा तीनपटकसम्म बैठक बसिसकेको छ । हामी पहिचानवादीहरुको पक्षमा छौं । द्वन्द्व मेटिनुपर्छ र पहिचान पनि भेटिनुपर्छ भन्ने कांग्रेसको स्पष्ट धारणा छ ।

प्रकाशित : वैशाख १२, २०८१ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?