कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

‘पहिचान पक्षधर एक ढिक्का छन्’

रास्वपाले समेत पहिचान पक्षधर हुँ भन्दै मत मागिरहेको भन्ने कुरा हाँस्यास्पद छ । पहिचानको पक्षधरताको त कुरै नगरौं त्यो पार्टी त संघीयताविरोधी नै हो ।

इलाम — वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धीहरू मध्येका एक उम्मेदवार हुन् डकेन्द्रसिंह थेगिम ।

‘पहिचान पक्षधर एक ढिक्का छन्’

कोशी प्रदेशमा चर्केको पहिचानको आधारमा नामकरण गर्नुपर्ने मागको र आन्दोलनको पृष्ठभूमि भएका थेगिम अहिले स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी प्रचारमा छन् । उनीसँग कान्तिपुरका पर्वत पोर्तेलले गरेको संक्षिप्त कुराकानी :

तपाईंको चुनाव जित्ने आधार के छ ?

पहिचान नै मूल आधार हो । पहिचान पक्षधर ४१ घटक एक ठाउँमा छौं । विभिन्न पार्टीमा आवद्ध भएपनि उहाँहरु पहिचानको पक्षमा एक ढिक्का हुनुहुन्छ । जसले मेरो जित्ने आधार खडा भएको छ ।

इलाम २ पहिचानवादीहरुको गढ मानिएपनि विगतलाई हेर्दा यहाँ खासगरी एमाले विजयी हुँदै आएको लामो इतिहास छ । यसलाई कसरी चिर्नुहुन्छ ?

२०७४ र २०७९ मा मत माग्दै गर्दा उहाँहरुले के भनेर झुक्याउनु भयो भने बहुपहिचान पनि दिने, बहुपहिचानमा पहिचान पनि भेटिने गन्ध पनि मेटिने भनेर घोषणापत्रहरू बनाएर झुठो आश्वासन दिएर चुनाव जितेको थियो । अब भने इलाम-२ का जनता भ्रममा पर्ने अवस्था छैन । सचेत भएका छन् । कुनै पनि हालतमा पहिचान पक्षभन्दा बाहिर मत जाने अवस्था देखिँदैन । यसले हामीलाई उत्साहित बनाएको छ ।

युवा मतदाताको मनोभाव के देख्नु हुन्छ ?

एमाले–कांग्रेस जस्ता ठूला दलका अधिकांश युवा मतदाताहरु यतिबेला पहिचानको पक्षमा एकजुट भइसकेका छन् । विगतमा एमाले–कांग्रेसले विभिन्न बहानामा अल्मलाएको गुनासो युवा साथीहरुको छ । एमाले–कांग्रेसका पहिचान चाहने युवा जमातले अब विद्रोह गरेर पहिचानका पक्षमा मत दिने कुरामा म ढुक्क छु ।

ठूला दलका युवाहरु हामी पहिचान पक्षधर हौं भन्दै चुनावी दौडमा छन् ती उम्मेदवारबारे तपाईंको धारणा के छ ?

रास्वपाले समेत पहिचान पक्षधर हुँ भन्दै मत मागिरहेको भन्ने कुरा हाँस्यास्पद छ । पहिचानको पक्षधरताको त कुरै नगरौं त्यो पार्टी त संघीयताविरोधी नै हो । धर्म निरपेक्षको सवालमा पनि अस्पष्ट दलले पहिचान पक्षधर भन्नु दिउँसै रात पार्ने काम मात्रै हो । तर, मतदाताले यो सबै कुरा बुझिसकेका छन् । अब मतदाता पहिलाभन्दा धेरै सजग भइसकेका छन् । पहिचानका विषयमा एमालेको पक्षधरता त सबैलाई थाहै भएको कुरा हो । त्यही पार्टीको अगुवाईमा पहिचानलाई लत्याएर ‘कोशी’ प्रदेश बनाउने काम भएको इलामे मतदाताले बिर्सिएका छैनन् ।

धर्म गुरूको आर्शिवाद तपाईंतिरै आउँला कि अन्त जाला ?

धर्म गुरुलाई भेट्न पुरानो कांग्रेसदेखि नयाँ दलहरु पनि लारुम्बा पुगिसक्नु भएको छ । अहिले दैनिकजसो भीडभाड छ लारुम्बामा । गुरुले मलाई जनताका लागि सेवा गर्नुस्, इमान्दार पूर्वक काम गर्नुस् सत्यको जीत हुन्छ । जनता ठूलो शक्ति हो, जनतलाई धोका दिने काम नगर्नुस् भन्नु भएको छ । म गुरुको आर्शिवाद थापेर चुनावी अभियानमा होमिएको छु । विगतमा सुवास नेम्वाङले मत पाउनुहुन्थ्यो । हेभिवेट नेता हुनुहुन्थ्यो, उहाँ लिम्बू समुदायको भएको नाताले र इलाम २ मा जनजाति समुदायका धेरै मतदाता भएकाले स्वाभाविक रुपमा उहाँले मत पाउनु भएको थियो ।

प्रकाशित : वैशाख १२, २०८१ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?