कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

डायरीमा बीपीको जीवन दर्शन

धर्मलाई राजनीतिक हत्कण्डाका रूपमा प्रयोग गर्न नहुने विचार राख्थे बीपी । भन्थे– राज्यको आफ्नो निजी धर्म हुँदैन । ‘जेल डायरी’ मा धर्ममाथि बीपीको फरक दार्शनिक व्याख्या छ । किताबले बीपी–व्यक्तित्वको उचाइ र गहिराइ कायम गरेको छ ।
लोकराज बराल

यस वर्ष बीपी कोइरालाको व्यक्तित्व, सोच, सिद्धान्त र जीवनबारे केही खँदिला बहस चलाइए । त्यसका लागि प्राध्यापक कृष्ण खनाल, ‘जेल डायरी’ का सम्पादक शंकर तिवारी धन्यवादका पात्र छन् । खनालको पुस्तक ‘विश्वेश्वरप्रसाद कोइराला— चेतना, चिन्तन र राजनीति’ मा बीपी कोइरालाको सम्पूर्ण पक्षमाथि विश्लेषण गरिएको छ र उनका प्रतिनिधि भनाइ पनि उल्लेख गरिएको छ । ‘जेल डायरी’ बीपीको आफ्नै डायरी हो । 

डायरीमा बीपीको जीवन दर्शन

बीपी अति विवादित र चर्चित राजनेता हुन्, जसको तुलना आधुनिक नेपालको इतिहासमा अरूसित हुन सक्दैन । त्यसैले बीपीको निधनको भोलिपल्ट भारतको ‘टाइम्स अफ इन्डिया’ ले लेखेको थियो– ‘उनी बीसौं शताब्दीका सबैभन्दा ठूला नेपाली हुन् ।’ मैले ३० वर्षपहिले उनलाई नेपाली पुनर्जागरणको प्रतिनिधि भनी लेखेको–बोलेको थिएँ । यसो भनिरहँदा बीपीलाई देवत्वकरण गर्न खोजेको होइन किनभने त्यत्रो प्रतिभा नेपालमा आजसम्म अर्को भेटिएको छैन । यो जस्तुगत विचार हो ।

बीपी चलायमान राजनीतिज्ञ, लेखक, साहित्यिक र चिन्तक मात्रै थिएनन् सामाजिक, आर्थिक र राजनीतिक विसंगतीका कट्टर आलोचक–योद्धा पनि थिए, जो राजनीतिको केन्द्रविन्दुमा सधैं छाइरहे । उनी परम्परावादी नेपाली समाजका मूल्यमान्यता र शैलीप्रति विद्रोह गर्थे । बोलचालको भाषामा होस्, गराइ–सोचाइमा होस् वा जीवन शैलीमा होस् बीपी अरूभन्दा फरक थिए ।

म आफैं बाल्यकालदेखि नै बीपीबारे जानकारी राख्ने, उनका कृति पढ्ने–बझ्ने व्यक्ति र अन्वेषक भए पनि उनको जेलबाहिरकै धेरै पक्षमाथि अनभिज्ञ रहेछु भन्ने तथ्य यो किताब पढेपछि महसुस भएको छ । राजनीतिक विश्लेषकले धेरै परस्परविरोधी विचार प्रवाह, कार्य (एक्सन) र शैलीप्रति तीक्ष्ण टिप्पणी गरिरहँदा त्यस नेताको तात्कालिक परिस्थिति, सन्दर्भ र निर्णय गर्ने सीमित अवसरको हेक्का गरेको हुँदैन । बीपी कोइरालाको राजनीतिक घटनाप्रतिको विश्लेषण, नयाँ निर्णय लिई त्यस परिस्थितिलाई समयसापेक्ष चित्रण गरी गतिशील भइरहने विशेषताले उनी सधैं विवादास्पद भइरहे ।

उनी सही रूपमा २००७ सालको क्रान्तिका नायक भए पनि त्यतिखेरको परिस्थितिले उनलाई निर्णायक भूमिकाबाट वञ्चित गर्दा राणा र कांग्रेसको संयुक्त सरकार ढल्यो र देशको राजनीति नयाँ दिशामा हिँड्यो । २००७ सालपछि २०१७ सालसम्म आइपुग्दा बीपीले आफ्नो अडान परिवर्तन गरेको प्रमाण समाजशास्त्रीका रूपमा र स्वयं उनका सहपाठीका नजरमा आलोच्य थिए । अति चञ्चल स्वभाव र गतिशील भएकाले धेरैले (गणेशमान सिंहलगायतले) मर्कुरियल (पारो जस्तो) भन्थे उनलाई । र, यो प्रशंग स्वयंम बीपीले आफ्नो डायरीमा लेखेका छन् ।

बीपीले २००७ सालमा घोषणा गरिएको संविधानसभाको चुनाव त्यागी सम्प्रभु भएको राजाले दिएको संविधान मान्दा उनको राजनीतिले पलटवाजी (युटर्न) लिएको देखिन्छ । तर, समय र बद्लिँदा घटनाचक्र हेर्दा देखिन्छ– एक गतिशील नेता अडिएर एकै ठाउँं बसिरहने अवस्था थिएन । उनले यही विषयमाथि नयाँ किसिमले औचित्य स्थापित गर्दै भने, ‘नेता त्यो हो जो यथार्थताको धरातलमा उभिन्छ ।’

राजतन्त्रको उदीयमान शक्ति र दलहरूको यसमाथि प्रतिकार गर्ने क्षमता कम भएका बखत संविधान मानेर चुनाव लड्नुबाहेक एक लोकतान्त्रिक नेताले अरू के गर्न सक्थे ? तर, राजाको असीमित महत्त्वाकांक्षाले स्थापित अर्धसंसदीय व्यवस्था मात्रै तिरस्कृत भएन राजनीतिक दलको अस्तित्वसमेत मेटाउने प्रयास भयो । तर, २०१७ सालको सैनिक बलमा गरिएको ‘कु’ र बीपीको जेल–यात्राले उनका लागि लोकतन्त्रको प्रतीक बन्ने अवसर दिलायो । पछि विचार गर्दा २०१७ सालको घटना नै राजतन्त्र विनाशको एक प्रमुख कारण बन्यो । बीपीका विचारमा राजा महेन्द्रले राजनीति छाडेर हतियार उठाएको र सैन्य विजेता भए पनि ‘आफ्नो राजनीतिक जमिन गुमाउँदै गएका थिए ।’ यस्तो सैनिक आक्रमण कुनै जित नभएको भनाइ बीपीको छ । बीपीले जेल जीवनताका र पछि तथाकथित सुधारिएको पञ्चायत व्यवस्थाको संविधान २०३७ माथि प्रतिक्रिया दिँदै राजा र जनताबीचको संघर्ष बढ्ने संकेत दिएका थिए ।

प्रतिपक्ष मतको बेवास्ता भएकाले नेपाली कांग्रेसले चुनावमा भाग लिएन । पञ्चको आन्तरिक झगडा, प्रतिपक्षको बहिष्कार र अन्तर्राष्ट्रिय राजनीतिक दवाबले २०४६ सालमा बहुदलीय व्यवस्था पुन:स्थापनाका लागि भएको जनआन्दोलन सफल हुनु निरंकुश राजतन्त्रको अधोगमनको थालनी थियो । दरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको अदूरदर्शिता र समयसापेक्ष सोचाइको कमीले विधिवत् रूपमा सन् २००८ मा राजतन्त्र अन्त्यको घोषणा भएको हो । कसैकसैले षड्यन्त्र भयो र विदेशीको प्रभावले राजतन्त्रको अन्त्य गरियो भने पनि विशेष गरी राजाकै हठका कारण नेपालमा गणतन्त्र आएको हो ।

‘जेल डायरी’ मा बीपीले प्रस्ट रूपमा आफू राजाको तानाशाही व्यवस्थाको विरोधी भएको र राजतन्त्र कहिल्यै लोकतान्त्रिक नहुने बहस गरेका छन् । त्यसमा पनि नेपालको पृष्ठभूमि, कमजोर सैधान्तिक धरातल र राजनीतिक दलहरूको विभाजित अवस्थाले राजा जहिले पनि महत्त्वाकांक्षी हुने वातावरण रहने सम्भावना धेरै छ । कुनै निर्वाचन सामना गर्नु नपर्ने राजा राष्ट्राध्यक्ष भए लोकतन्त्रको अवस्था कस्तो हुन्थ्यो ? यसको ज्वलन्त उदाहरण राजा ज्ञानेन्द्रले संविधान निमोठी आफ्नै व्याख्या अनुसार राष्ट्राध्यक्षको भूमिका खेलेको विगतले प्रस्ट पारेको छ । नेपालमा कि त राजतन्त्र हुन्छ कि त लोकतन्त्र (राजाबेगरको) भन्ने सोच कट्टर राजावादी डा. तुलसी गिरीको सैद्धान्तिक अडानले प्रमाणित गरेको थियो । त्यसैले नेपालका सन्दर्भमा राजतन्त्र र लोकतन्त्र परस्पर विरोधी पक्ष हुन् भन्ने जोड बीपीको छ । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि बीपी कहिल्यै राजावादी हुन नसकेको तथ्य ‘जेल डायरी’ मा छ । कतिपय रणनीतिक, समय र परिस्थिति अनुसारका व्यख्यानले उनलाई राजानजिक भएको अर्थ लगाइन्छ, तर उनको राजनीतिक र सैद्धान्तिक धरातल स्पस्ट थियो । उनी राजावादी नहुन सक्ने आशंकाले र एक किसिमको लघुताभासले राजा महेन्द्र बीपीदेखि सधैं त्रसित थिए, जसकारण २०१७ सालको काण्ड घट्यो । राजनैतिक लडाइँबाट बीपीको तेजोबध गर्न नसकिने भएपछि राजा महेन्द्रले सेनाको बलमा सत्ता आफ्ना हातमा लिएको र त्यसले उनलाई पिरोलिरहेको पनि बुझ्न सकिन्थ्यो ।

बीपीको बुझाइमा राष्ट्रवाद र तानाशाही एकअर्काका पूरक हुन् । तानाशाही लाद्न एउटा राम्रो हतियारका रूपमा राष्ट्रवाद जगाइन्छ । यस्तो हतियार सबै महत्त्वाकांक्षी शासकले प्रयोग गर्छन् । संसदीय व्यवस्था ढाल्दा यस्तै राष्ट्रवादको खाँडो जगाइएको थियो । र, निर्दलीय पञ्चायतलाई औचित्य प्रदान गर्न पनि यो हतियार एकनासले चलाइएको हो । बीपी कोइरालाले नेपाल राष्ट्रलाई नै घात गरेको लाञ्छना लगाइयो । र, पछि नेपाली कांग्रेसका कार्यकर्तालाई अराष्ट्रिय तत्त्व अर्थात् ‘अत’ भनि भनी जनताका आँखामा छारो हालियो । इन्दिरा गान्धीले भारतमा संक्रमणकाल लगाउँंदा र सिक्किमको विलय भारतमा गराउंँदा तिनै बीपीले विरोध गरे, त्यसबेला भने उनी शाहीतन्त्रका लागि राष्ट्रवादी गनिए ।

‘जेल डायरी’ मा अनेक रोचक पक्ष छन्, जसले बहुआयामिक विचारको तह अझ बढाएको छ । बीपी आफूलाई राजनीतिमा लोकतन्त्रवादी र साहित्यमा अराजकतावादी भएको ठान्छन् । पश्चिमा लेखक, कविबाट बढी प्रभावित थिए उनी । यौन मनोविज्ञानका निम्ति उनी डीएच लरेन्स, गाई दे मोपाँसा, आन्तोन चेखब र अन्य लेखकलाई प्रेरणाका स्रोत मान्छन् । बीपी यौन र धर्मप्रति कट्टर छैनन् किनभने डायरीमा उल्लेख गरिएका नारी पात्र सांकेतिक मात्रै हुन् र यौनलाई उनी एक साहित्यिक पारखी र दार्शनिक रुझानका लागि मात्रै प्रयोग गर्छन् । यौनबारे बीपी भन्छन्, ‘यौन भन्नु जिन्दगीमा तपाईंमाथि थोपरिएको एयटा जैविक श्रम हो । यसबाट आउने आनन्द तपाईंले कठिन श्रम गरेबापत पाउने पुरस्कार हो ।’ यौनमा आफ्नो व्यक्तिगत संलग्नताबारे उनले सूक्ष्म किसिमले लेखेका छन् र बुझ्नेलाई इसारा काफी छ । उनी भन्छन्, ‘यौनिक संकीर्णता कुनै महान् गुण होइन, जसरी यौनिक स्वतन्त्रता आफैंमा कुनै अवगुण होइन ।’

धर्मबारे उनी एगनोस्टिक छन् अर्थात् ईश्वरप्रतिको उनको दृष्टिकोण तटस्थ छ । तर, उनी ईश्वरले सबै सृष्टि गरेको मान्न तयार छैनन् । अल्बर्ट आइन्स्टाइन, नेहरू पनि यस्तै सोच राख्थे । नेपालका बालकृष्ण सम आफूलाई नास्तिक ठान्थे किनभने संसार नियमित आकस्मिकताले चलेको ठान्थे । मैले समलाई २०१७ सालको काण्डपछि ज्ञानेश्वरको घरमा भेट्दा आफू नास्तिक नै रहेको, तर लक्ष्मीप्रसाद देवकेटाले मर्ने बेला ‘आखिर ईश्वर रहेछ’ भनी आफूलाई ईश्वरमा समर्पण गरेको सुनाएका थिए ।

तर, बीपी धर्मलाई राजनीतिक हत्कण्डाको रूपमा लिनु नहुने र राज्यको आफ्नो निजी धर्म नभएको ठान्थे । र, सबै धर्मप्रति समभाव राख्नुपर्ने मान्यता राख्थे । उनी नेपाललाई हिन्दु राष्ट्र बनाउन नहुने र यदि यसो गरिए यो ‘धोकेबाजी’ मात्रै भएको ठान्थे । सन् १९७९ जुलाई २० मा अंग्रेजी साप्ताहिक ‘विक्ली मिरर’ लाई दिएको अन्तर्वार्तामा उनले यसबारे प्रस्ट धारणा राखेका छन् । र, डायरीमा पनि धर्मबारे उनको आफ्नै दार्शनिक व्याख्या छ । तर, विडम्बना के छ भने आज आफूलाई बीपीका अनुयायी भन्नेहरू नै उनको हुर्मत लिई उनलाई अपव्याख्या गर्दै छन् । उनको नामलाई राजनीतिक बजारमा बिकाउमा राखिन्छ ।

तर, ‘जेल डायरी’ ले बीपी कोइरालाको व्यक्तित्वको उचाइ र गहिराइ कायम गरेको छ । डायरीमा उल्लेख गरिएका कतिपय पात्रको सही विश्लेषण गरी सबैको औकात र पहिचान उनले देखाइदिएका छन् । ‘आत्मवृत्तान्त’ मा उल्लेख गरिएका कतिपय पात्रबारे बीपी अलि वस्तुवादी भएको पनि यस पुस्तकमा उल्लेख गरिएको छ । ‘जेल डायरी’ मा एक जना मात्रै नेपाली लेखकको प्रसंग उठाइएको छ र तीप्रति बीपी सकारात्मक नभएको उल्लेख पाइन्छ । ती साहित्यिक पात्र थिए– लीलाध्वज थापा । उनको उपन्यास ‘मन’ बारे धारणा राख्दै थापालाई आफूले मन नपराएको, तर पुस्तक पढ्दा भाषा भने राम्रै लागेको लेखेका छन् । थापाको ‘मन’ उपन्यासबारे म पनि केही मात्रामा जानकार छु । ताना शर्माले २०१७ सालमै भक्तपुरको एक कार्यक्रममा थापाको ‘मन’ पढ्दै नपढी आलोचना गरेका थिए । पछि मेरै सम्पादनमा छापिएको ‘शक्ति’ साहित्यिक पत्रिकामा ‘मनको चिनारी’ लेखमा

उनैले अति तारिफ गरेका थिए । लीलाध्वज थापा मानिसलाई आफ्नो बनाउन अति सिपालु भएकाले हामी बसेको डेरामा सधैं आइरहन्थे, जहाँ तारानाथ पनि बस्थे । आखिर मानवीय कमजोरी त भइहाल्छ । आफ्ना पहिलेका भनाइप्रति खेद प्रकट गर्दै तारानाथले ‘मनको चिनारी’ मा प्रशंसाको वर्षा गरेका छन् ।

यस्ता कैयन् प्रसंग छन् किताबमा । जे होस् ‘जेल डायरी’ (२०८०, शिखा बुक्स) ले बीपी व्यक्तित्वको बहुआयामिक तस्बिर प्रस्तुत गरेको छ । आजसम्म पाइएका जानकारीभन्दा बढी तथ्य र विशेषता ‘जेल डायरी’ मा छ, जुन अन्यत्र पाइँदैन ।

प्रकाशित : कार्तिक १८, २०८० १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?