कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुरानै फ्रेम, नयाँ अनुहार 

रीना मोक्तान

नेपाली फिल्ममा एउटा प्रचलित पंक्ति छ, ‘पैसा छाप्ने ।’ फिल्म क्षेत्रको अहिलेको परिवेश नियाल्ने हो भने अधिकांश फिल्मकर्मी पैसा छाप्ने ध्याउन्नमै छन् । कसरी ? पुरानै ब्रान्ड बेचेर । ‘कब्बडी’, ‘छक्का पञ्जा’, ‘नाइँ नभन्नु ल’ हरूले त्यही अस्त्र चलाएर पैसा छापे । यो शुत्र पच्छ्याउने थुप्रै छन् । यही भीडमा उभियो– दीपेन्द्र के. खनाल निर्देशित ‘पशुपतिप्रसाद २ : भस्मे डन’ पनि । 

पुरानै फ्रेम, नयाँ अनुहार 

फिल्मबाट पैसा कमाउनु ठूलो विषय होइन । तर, पैसै कमाउने उद्देश्य बोकेका फिल्महरूले इमानदारीपूर्वक कथा भनेका छन् कि छैनन् ? महत्त्वपूर्ण त्यो हो । यो प्रश्नको भुमरीमा रुमल्लिएका छन्– निर्देशक खनाल । पैसा कमाउनकै लागि फिल्म बनाउने कि कथा भनेर पैसा कमाउने ? यी दुईको फरक छुट्याउन नसक्दा अधिकांश फिल्मकर्मीले व्यवसायअघि सिर्जनशीलतासँग सम्झौता गरेका छन् ।

‘पशुपतिप्रसाद’ इन्डिपेन्डेन्ट फिल्म निर्माणको एक इमानदारी प्रयास थियो । थोरै बजेटमा भनिएको भुइँमान्छेको कथा हो त्यो, जहाँ कुनै धुमधडाका थिएन । पात्रहरू एकआपसमा लड्दा ती यथार्थ शैलीमै मुक्कामुक्की गर्थे । फिल्ममा अतिरञ्जनाको झल्को थिएन । त्यसैले त्यो फिल्मले दर्शकमा मौलिक स्वाद दियो । तर, सिक्वेलसम्म आइपुग्दा भस्मे (विपिन कार्की) ले सुनको दाँत मात्रै लगाउँदैन, भुइँमान्छेको कथा भन्न प्रयोग गरिएको व्यावसायिक लेपनले ‘पशुपतिप्रसाद २ : भस्मे डन’ लाई पहिलो संस्करणको सुगन्धछेउ पनि पुर्‍याउँदैन । फिल्ममा पहिलो संस्करणमै देखिएका पात्र छन्, भावना उही छ, तर, मौलिक मिठास भने गुमेको छ ।

पशुपति (खगेन्द्र लामिछाने) को निधनलगत्तैको समयमार्फत फिल्मले भस्मेको कथातर्फ डोर्‍याउँछ । भूकम्पमा परी मरेका आमाबुवाको ऋण तिरेर उनीहरूको अस्तु सेलाउन पशुपति आइपुगेको युवकको कथामा बनेको थियो– पशुपतिप्रसाद । सिक्वेलले त्यही फिल्मबाट अत्यधिक रुचाइएको चरित्र ‘भस्मे’ को कथा भन्छ । पशुपतिको मृत्युुसँगै भस्मेले आफ्नो एकल साम्राज्य खडा गरिसक्छ । पशुपति परिसरभित्रको एकल रजाइँका लागि उनलाई आवश्यक हुन्छ त केवल एउटा नागरिकता । अब अस्तित्वको खोजीमा भस्मेले कस्ता अवरोधको सामाना गर्दै जालान् ? ‘पशुपतिप्रसाद २ : भस्मे डन’ को कथा यत्ति हो । तर, त्यही उद्देश्य प्राप्तिका लागि भस्मेले पार गर्दै जानुपर्ने अवरोधहरू मजबुत बन्न नसक्दा भस्मेको कथा पनि ‍औसत बनिदिन्छ । प्रमुख पात्रले आफ्नो उद्देश्य पछ्याउँदा आइपरेका अवरोध छिचोल्दै अघि बढ्दा नै कथा पनि अघि बढ्ने हो । तर, मध्यान्तरअघिको भाग भस्मेकै समूहवरपर घुमिरहँदा फिल्मको गति धीमा बन्दै जान्छ ।

विषयवस्तुका हिसाबले फिल्मले गजबकै कथा उठान गर्छ– अस्तित्वको पीर/चोट, त्यसका लागि गरिने लडाइँ । आफ्नो भाषा, संस्कृति, पहिचान जोगाउन मानव सभ्यतामा थुप्रै लडाइँ भए, हुँदै छन् । भस्मेले गरेको लडाइँलाई पनि रोचक शैलीमा फिल्मले पस्किन सक्थ्यो । तर, नयाँ चरित्र स्थापनामै समय खर्चिंदा ‍फिल्मले भस्मेको कथालाई सही ढंगले अगाडि बढाउँदैन । मध्यान्तरअघिको समय भस्मे र कालीप्रसाद (सौगात मल्ल) को दश्मनी देखाउनमै व्यस्त छ । ‘पशुपतिप्रसाद’ को पशुपतिको कथामा भस्मेको दृश्यले कमेडी भर्थ्यो । उनको स्वरमा दर्शक हाँस्थे । तर, यस पटक त्यही स्वर झेल्न गाह्रो पर्छ दर्शकलाई । गुलियो धेरै खाए तीतो हुन्छ ! पहिलो संस्करणमा रमाइलो लागेको यही स्वर झर्को लाग्छ अहिले ।

फिल्ममा कुनै नवीनता छैन । प्रमुख चरित्र फेरेर पुरानै फ्रेममा भस्मेको कथा भनिएको छ । कुनै उद्देश्य प्राप्तिका लागि एक युवाले गर्ने संघर्ष, युवतीप्रतिको आकर्षण ! त्यही संघर्षमा गुमाउँदै जाने सपना अनि युवतीको अनन्त पर्खाइ ! फिल्ममा नयाँ चरित्रबाहेक नौलो केही छैन । ७ वर्षअघि क्यान्डी क्रस खेल्ने भस्मे पब्जीमा पल्केका छन् । गुण्डागर्दीका लागि छुट्टै जक्सन बनाएका छन् । समूहमा थप केटाहरूको इन्ट्री भएको छ । फिल्ममा नयाँ चरित्रहरू यसरी थपिएका छन् कि उनीहरूको पृष्ठभूमि पनि प्रस्ट छैन । ती चरित्रलाई प्रमुख कथामा ब्लेन्ड गर्न सकिएको छैन । नयाँ चरित्रमै समय खर्चिंदा निर्देशकले भस्मेको कथालाई अपुरो छोडेका छन् । चरित्र थपिँदै जाँदा त्यसको अवतरणमा ध्यान पुर्‍याउनुपर्छ । ती चरित्रको सफल अवतरण नहुँदा कस्तो अवस्था हुन्छ ? यो फिल्म त्यसैको उदाहरण हो । फिल्मका दुई प्रमुख पात्रलाई यसरी जबरजस्त अवतरण गराइएको छ कि त्यसमा विश्वासिलो कारण भेट्न सकिँदैन । यही अवतरणले ल्याएको विपद् व्यवस्थापनका लागि पहिलो संस्करणमा रुचाइएको अर्को पात्र देखाइएको छ । तेस्रो संस्करणकै लागि जबजस्त चरित्रहरूलाई अवतरण गराइएको भान हुन्छ । तर, यसरी नै कथा भन्दै जाने हो भने दर्शकले तेस्रो संस्करण किन पर्खने ?

फिल्ममा माता बनेकी मैना (स्वस्तिमा खड्का) को कथालाई पनि त्यत्तिकै छोडिएको छ । कालीप्रसादको कथा पनि अपुरो छ । हनुमानको कमब्याकलाई मिलाइएझैं यी चरित्रका कथालाई मज्जाले सम्मिश्रण गरिएको भए फिल्मले दर्शकलाई अन्तिमसम्मै बाँध्ने थियो । तनाव सिर्जनामा प्रयोग भएको ध्वनिले नेट्फ्लिक्सको ‘स्ट्रेन्जर थिंग्स’ सम्झाइरहन्छ । फिल्ममा आवश्यकताभन्दा बढी क्यामेरा हल्लाइएको छ । क्यामेराले निर्माण गर्न खोजेको भाष्य सही हो, तर त्यसलाई पनि भस्मे चरित्रलाई झैं व्यापक प्रयोग गरिएको छ ।

भस्मेको चरित्रमा विपिनले गरेको काम तारिफलायकै छ । उनले उही भस्मे, त्यही भावलाई अभिनयमार्फत पस्केका छन् । तर, कमजोर पटकथा यही चरित्र चित्रणका लागि हावी भइदिएको छ । यसपटक कालीप्रसादको भूमिकामा सौगात उदाएका छन् । सौगातले समातेको मधेशी लवज उक्त चरित्र चित्रणमा सुरुदेखि अन्तिमसम्म बाँचिरहन्छ । कालीप्रसादको भूमिकामा सौगातले मिहिनेत गरेका छन् । मैनाको चरित्रमा स्वस्तिमा सशक्त छिन् ।

‘सेलिब्रेटेड’ चरित्रमाथि कथा भन्न खोज्नु ‘पशुपतिप्रसाद २ : भस्मे डन’ को सकारात्मक पाटो हो । तर, त्यही कथालाई विश्वसनीय प्रस्तुत गर्न नसक्नु कमजोर पक्ष हो ।

प्रकाशित : कार्तिक १८, २०८० ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?