३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

मेलम्चीको ठेक्का तोडियो, धरौटी जफत हुने

काठमाडौँ — सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ । काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो निर्णय लिएको हो । मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णयसमेत गरेको छ ।

मेलम्चीको ठेक्का तोडियो, धरौटी जफत हुने

सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ । समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्नेछ ।

सरकारले माघ ६ मा दुई साताभित्र काममा फर्कन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) सीएमसीलाई पठाएको थियो । अन्तिम म्याद सकिँदासम्म सीएमसीले कुनै प्रत्युत्तर नदिएपछि ठेक्का तोड्ने निर्णय गरिएको समितिले जनाएको छ ।

ठेक्का तोडिए पनि आयोजना कसरी अघि बढाउने भन्नेबारे खानेपानी मन्त्रालय र समिति कुनै निर्णयमा पुग्न सकेको छैन । बैठकले आयोजना अघि बढाउने विभिन्न विकल्पसहितको प्रस्ताव छिट्टै तयार गरेर मन्त्रालयमा पेस गर्ने निर्णय गरेको छ । मन्त्रालयले जुन विकल्प अनुमोदन गर्छ, त्यसैका आधारमा आयोजना अघि बढाइने जानकारी समितिका एक अधिकारीले दिए । पुन: ठेक्का प्रक्रियामा गएर काम अघि बढाउन कम्तीमा ६ महिना लाग्ने उनले बताए । ती अधिकारीका अनुसार सीएमसीको मातहतमा मेलम्चीमा काम गरेका नेपाली साझेदारहरूलाई आयोजनाको बाँकी काम गर्ने जिम्मा दिने विकल्पमा समेत छलफल भइरहेको छ ।

सरकारले नयाँ वर्षमा काठमाडौंमा पानी ल्याइपुर्‍याउने योजनासाथ काम अघि बढाइरहेको थियो । तर, आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै सीएमसी इटाली फर्केपछि ठप्प छ । सुरुङको फाइनल फिनिसिङलगायत काममा अन्योल छ । मेलम्चीको २७ किमि सुरुङ छिचोलिइसकेको छ ।

सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), तिनमध्ये २ वटा भेन्टिलेसन सफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र–२ को निर्माण र मेलम्चीको पानी सुरुङमा लग्ने बाँध (इन्टेक) निर्माण गर्न बाँकी छ । सीएमसीले निर्माणमा संलग्न नेपाली साझेदार कम्पनीलाई करिब डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोजनाका कर्मचारीले दिएका छन् ।

यो पनि पढौं : मेलम्ची ठेकेदारलाई १४ दिने म्याद, नत्र रद्द

मेलम्ची ठेकेदार फर्केनन् ,आयोजना झन् अन्योलमा

प्रकाशित : माघ २४, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?