कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अख्तियारका पूर्वआयुक्त पाठकको घूस प्रकरण विस्तृत अनुसन्धानमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकको घूस प्रकरणमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अनियमितताको संकेत देखिएमा विस्तृत अनुसन्धान गर्ने कानुनी व्यवस्था छ । अख्तियारले हालसम्म पत्रपत्रिकाबाट प्राप्त सूचनालाई उजुरीका रूपमा लिएको हो । 

अख्तियारका पूर्वआयुक्त पाठकको घूस प्रकरण विस्तृत अनुसन्धानमा 

‘आयोगले मंगलबार उक्त प्रकरणको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको हो,’ आयोग प्रवक्ता रामेश्वर दंगालले भने, ‘सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेका छौं । आजै (मंगलबार) देखि काम सुरु भइसकेको छ ।’


अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम १२ मा प्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर हुने देखिए प्रतिवेदनका आधारमा अनुसन्धान अधिकृत तोकी विस्तृत छानबिन गर्ने उल्लेख छ । आयोगले तोकेको अनुसन्धान अधिकृतलाई विषयवस्तुको गाम्भीर्यताका आधारमा स्पष्टीकरण सोध्ने, बयान लिने, तारिख वा थुनामा राख्नेलगायत अधिकार छ । खानतलासी लिन र धरौटी माग गर्नसमेत सक्नेछ ।


अख्तियारले पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानबिन अघि बढाउने विषयमा आइतबारै महान्यायाधिवक्तासँग राय मागेको थियो । जवाफमा महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पूर्वपदाधिकारीहरूमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न कुनै संवैधानिक र कानुनी अडचन नहुने सुझाव दिएको थियो ।


अख्तियारको अबको अनुसन्धानले घूस लिएको आरोप लागेका अख्तियारका आयुक्त पाठकसहित उनलाई घूस बुझाउने नेपाल इन्जिनियरिङ कलेजका एक सञ्चालक लम्बोदर न्यौपानेमाथि समेत छानबिन हुनेछ । कलेज सञ्चालकमध्ये न्यौपानेको समूहमा रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, कांग्रेस सांसद सूर्यबहादुर केसी छन् । अख्तियार स्रोतले भन्यो, ‘प्रमाण भेटिए लम्बोदरसहित उनको समूहमाथि समेत छानबिन हुनेछ ।’

घूस प्रकरणमा पाठकका भाइ एवं पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डिन शुभनारायण पाठकको नामसमेत जोडिएको छ । पाठकले लिएको घूसमध्ये ७८ लाख रुपैयाँ आफूले लिएर १५ लाख भाइका नाममा ‘फरवार्ड’ भएको कुराकानी भिडियो रेकर्डमा रहेको स्रोतले बतायो । तर शुभनारायण हालसम्म पनि पूर्वाञ्चल विश्वविद्यालयको डिनका रूपमा नै कार्यरत छन् ।


यो पनि पढौं :

प्रकाशित : फाल्गुन ७, २०७५ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?