कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रक्रिया लत्याएर नास्टमा निमित्त उपकुलपति तोक्ने प्रधानमन्त्रीको तयारी

आवेदन माग गरेर प्रक्रिया नटुंग्याइ निमित्त तोक्ने तयारी थालेपछि नास्टका प्राज्ञ असन्तुष्ट
गोविन्द पोखरेल

काठमाडौँ — ७ महिनादेखि रिक्त रहेको नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)को उपकुलपति नियुक्ति प्रक्रियालाई लत्याएर प्रधानमन्त्री पुष्पकमल दाहालले निमित्त उपकुलपति तोक्ने तयारी थालेका छन् ।

प्रक्रिया लत्याएर नास्टमा निमित्त उपकुलपति तोक्ने प्रधानमन्त्रीको तयारी

विज्ञान तथा प्रविधिको क्षेत्रमा मुलुककै सर्वोच्च संस्था नास्टलाई ७ महिनादेखि नेतृत्वविहीन बनाएका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले निमित्त उपकुलपति तोक्ने तयारी थालेका हुन् ।

आइतबार नास्टका विभागीय प्रमुखहरू प्रधानमन्त्री दाहाललाई उपकुलपति नियुक्त गरिदिन भन्दै डेलिगसन गएका थिए । उक्त भेटमा प्रधानमन्त्री कार्यालयबाटै प्रक्रिया टुंग्याउन समय लाग्ने भन्दै निमित्त तोकिदिने भनेर आफूहरूलाई फर्काइएको उक्त भेटमा सहभागी एक कर्मचारीले जानकारी दिए ।

निर्वतमान उपकुलपति सुनिलबाबु श्रेष्ठले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर गत माघ ३ गते नास्टबाट बिदा भएका थिए । कार्यकाल सकिनुअघि उनले कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहाललाई पुसमै लिखित जानकारी गराएका थिए । तर प्रधानमन्त्री दाहालले बेवास्ता गरे ।

नास्टले पनि माघ १० गते श्रेष्ठको कार्यकाल समाप्त भएको लिखित जानकारी कुलपति दाहाललाई गराएको थियो । माघ २० गते उपकुलपतिको पद रिक्त भएको र खाली भएकाले व्यवस्था गरिदिनु भनेर शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीलाई जानकारी गराएको थियो । त्यसपछि पनि नास्टले गत वैशाख २० गते विज्ञान मन्त्रीलाई अर्को पत्र लेख्दै नास्टमा उपकुलपति रिक्त रहेको जानकारी दिएको थियो । तर प्रधानमन्त्री दाहालले बेवास्ता गर्दै आएका छन् ।

असार पहिलो साता प्रधानमन्त्री दाहालले सिफारिस समिति गठन गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहकुलपति अध्यक्ष हुने सिफारिस समितिमा नास्टका व्यवस्थापन परिषद् सदस्यद्वय प्राध्यापक शैलेन्द्रकुमार मिश्र र भरतमणि पोखरेल सदस्य छन् । उक्त समितिले ७ दिनको म्याद राख्दै असार १० गतेभित्र उपकुलपति हुन इच्छुक व्यक्तिहरूलाई आवेदन दिन माग गरेको थियो । जसमा ३१ जनाले आवेदन दिएका थिए ।

समितिलाई प्राप्त भएको आवेदनहरूमध्येबाट योग्य लागेका व्यक्तिलाई सिफारिस गरेर कुलपतिले सिधै उपकुलपति नियुक्ति गर्न सक्ने व्यवस्था छ । तर प्रधानमन्त्री दाहालले प्रक्रिया लत्याएर नास्टमा निमित्त उपकुलपति तोक्ने तयारी थालेका हुन् ।

नास्टको ऐनमा सिफारिस समितिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान गरेका योग्य व्यक्तिलाई उपकुलपति चयनका लागि कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले नियुक्त गर्ने स्पष्ट व्यवस्था छ । तर, दाहालले आवेदनको प्रक्रिया नटुंग्याई निमित्तको भरमा नास्टलाई चलाउन दिने तयारी रोजेका छन् ।

नास्टका प्राज्ञ दिनेशराज भुजुले समय घर्किएपछि प्रक्रिया थाल्नु भनेको संस्थाको संस्थागत विकासलाई चासो नदिएको देखियो । भुजुले कान्तिपुरसित भने, ‘खासमा निमित्त उपकुलपति दिने प्रक्रिया उपकुलपतिको पदावधि सकिने बित्तिकै दिनुपर्ने थियो । समय घर्मिकएपछि प्रक्रिया थाल्नु भनेको संस्थाको संस्थागत विकास र ऐनलाई पहिचान गर्न नसकेको देखियो । ’

नास्टका अर्का प्राज्ञ प्राध्यापक रमेश मास्केले उपकुलपतिको कार्यकाल सकिने बित्तिकै नयाँ उपकुलपति छनोट गरेर तयारी गर्नुपर्नेमा त्यसो नगर्दा समस्या आएको बताए । उनले भने,‘नास्टको व्यवस्थापनमा असर नगर्ने गरी तयारी गर्नुपर्ने थियो । ऐनमा पनि स्पष्टमा व्यवस्था छ । भाइस चान्सलर निस्कदै छ भन्ने जानकारी पहिल्यै थाहा थियो त्यो ग्याप भर्नका लागि तयारी भइसक्नुपर्थ्यो । तर हाम्रोमा भएन,’ मास्केले कान्तिपुरसित भने ।

उपकुलपति सिफारिस समितिका सदस्य समेत रहेका नास्टका प्राज्ञ एवं व्यवस्थापन परिषद् सदस्य प्राध्यापक शैलेन्द्रकुमार मिश्र प्रक्रिया सुरू गरेपछि टुंग्याउनुपर्ने बताए । उनले नियमित प्रक्रिया अगाडि बढाउनुपर्नेमा त्यो नगरेर अर्कै प्रक्रिया थालिएकोप्रति गुनासो गरे । ‘यो सर्च कमिटी हो कि हैन भनेर मलाई शंका लागेको छ । अहिलेसम्म बैठकमा बोलाएको छैन । सर्च कमिटीको बैठक नबेलाइकन अर्को प्रक्रिया थाल्नु गलत हो,’ मिश्रले कान्तिपुरसित भने । उनले प्रक्रियागत रूपमा नियम अनुसार नियुक्ति प्रक्रिया सुरू गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नास्टका भिसी नियुक्त प्रक्रिया सुरू भएको र पूरा गर्न समय लाग्ने भएकाले अस्थायी व्यवस्था गर्न लागिएको प्रतिकिया दिए । ‘प्रक्रिया प्रवेश गरेर पूरा गर्न समय लाग्ने भयो । व्यवस्थापन परिषद्को सदस्यहरूमध्ये जेष्ठ सदस्यलाई राख्ने कि भन्ने छ,’ गजुरेलले कान्तिपुरसित भने,‘ तीन महिनासम्म विधानतः राख्ने निमित्त उपकुलपति राख्न त पाइन्छ नै ।’

प्रकाशित : असार १८, २०८० २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?