कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

८ हजार मिटरभन्दा अग्ला हिमाल ४४ पटक चढेर निर्मल पुर्जाले बनाए अर्को कीर्तिमान 

सुरज कुँवर

काठमाडौँ — पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउदै आएका निर्मल पुर्जा (निम्स दाइ) ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोही भएका छन् । उनले नयाँ वर्षका दिन शनिबार विश्वकै दशौं अग्लो हिमाल अन्नपूर्ण (८ हजार ९१ मिटर उचाइ) हिमाल आरोहण गरे । 

८ हजार मिटरभन्दा अग्ला हिमाल ४४ पटक चढेर निर्मल पुर्जाले बनाए अर्को कीर्तिमान 

विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमालमा यो उनको ४४ औं आरोहण हो । ‘निम्स दाइ ८ हजार मिटरमाथिका हिमालमा सबैभन्दा धेरैपटक आरोहण गर्ने विश्वमै एक्ला आरोही भएका छन्,’ आरोही तथा सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले मंगलबार कान्तिपुरसँग भने,‘उनीपछि दोस्रो स्थानमा सर्वाधिक ८ हजार मिटरभन्दा अग्ला हिमालमा सफल आरोहण गर्नेमा कामीरिता शेर्पा छन् ।’

कामीरिताले २८ पटक सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथाबाहेक कामीरिताले खुम्बु र तिब्बतको सीमामा पर्ने चोयू (८ हजार १ सय ८८ मिटर उचाइको विश्वकै छैंटौं अग्लो हिमाल) हिमाल आठ पटक, विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८ हजार ५ सय १६ मिटर उचाइ) एक पटक र विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटू (८ हजार ६ सय ११ मिटर उचाइ) एक पटक गरी ३८ पटक विश्वका अग्ला चुचुरोमा पुगेका छन् ।

शनिबार अन्नपूर्ण आरोहण सकेर सोमबार काठमाडौं फर्किएका निम्स दाइको अब यात्रा तिब्बतमा पर्ने विश्वको १४औं अग्लो शिखर सिसापाङ्मा रहेको छ । हिउँदयाममा पहिलोपटक विश्वकै दोस्रो अग्लो हिमाल केटू तथा विश्वका १४ वटा अग्ला शिखर सबैभन्दा द्रुत गतिमा आरोहण गर्नेलगायत तीन दर्जन बढी रेकर्ड निम्स दाइका नाममा रहेका छन् ।

अन्नपूर्ण आरोहणका क्रममा निर्मल पुर्जा । तस्बिर सौजन्य : निर्मल पुर्जा

म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ हाल नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन् । अचेल उनी गाइडबिना ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्दै आइरहेका छन् । उनको आरोहण कम्पनी इलाइट एक्सपिडका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार, निम्स दाइ सिसापाङ्माको आरोहण अनुमतिको पर्खाइमा छन् । ‘सिसापाङ्माको आरोहण सकिएपछि निम्सको अर्को नयाँ विश्व कीर्तिमान हुने छ,’ शेर्पाले भने,‘निम्स दाइ सिसापाङ्मा पूरक अक्सिजनबिना आरोहण गर्ने तयारीमा छन् । यो हिमालको आरोहण सकिएपछि उनी संसारमै ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालमा बिनाअक्सिजन सबैभन्दा चाँडो आरोहण गर्ने एक्ला आरोही बन्नेछन् ।’

निम्स दाइले सिसापाङ्माको आरोहण तत्काल नहुने भए पूर्वी नेपालको मकालु आरोहण गर्ने बताए । ‘मौसमको अनुकूलता हेरौं,’उनले मंगलबार साँझ कान्तिपुरसँग भने,‘सिसापाङ्मा तत्काल आरोहण गर्न नसकिए मकालु आरोहण गरेर सिसापाङ्मा आरोहणमा जान्छु । त्यो हिमालको आरोहण सकिएपछि म विश्वमै अक्सिजनको सहायतासहित र अक्सिजनबिना दुवै विधामा सबैभन्दा चाँडो १४ वटा ८ हजार मिटरभन्दा अग्ला आरोहण गर्नेमा एक्लो कट्ठर्तिमानको दाबेदार गर्ने आरोही हुनेछु ।’

१६ वर्ष बेलायती सेनामा काम गरेका निम्स दाइले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष उनले पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए । १२ वर्षको छोटो अवधिमा ४४ पटक विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौं रेकर्ड बनाएका निम्स दाइले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए ।

प्रकाशित : वैशाख ४, २०८१ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?