२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

महोत्तरीमा ११० घर जले

आगलागीबाट मटिहानी–६ जरलहवा गाछीको दुई टोलका सबै घर खरानी भएपछि पीडितहरू विद्यालय, धर्मशाला र खुला स्थानमा
सुनिता बराल

महोत्तरी — पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवानले साँझ फर्किंदा घर  भेटिनन् । बस्तीमा दिउँसो सल्किएको आगोले घरसहित सम्पत्ति खरानी बनेपछि उनी  घरको भग्नावशेष हेरेर बिलौना गर्दै थिइन् । 

महोत्तरीमा ११० घर जले

‘२ लाख नगद, गरगहना, अन्नपात र कागजपत्रसहित जीवनभरको कमाइ जोडेर बनाएको घर र त्यसभित्रका सबथोक खरानी भयो,’ उनी दुखेसो पोख्दै थिइन्, ‘उपचार गरेर फर्कंदा जीउमा लगाएको लुगाबाहेक केही बाँकी रहेन । अब के खाने ? के लाउने ?’ आठ जनाको परिवार बस्ने ४ वटा फुसका घर जलेपछि परिवारमा रुवाबासी मच्चिरहेको छ । छोराले विदेशबाट पठाएको र श्रीमान् सीतारामले अटो चलाएर जम्मा गरेको रकमले उक्त घर बनाएको उनले बताइन् ।

बुधबार दिउँसो १२ बजेबाट मटिहानी नगरपालिका–६ जरलहवा गाछी बस्तीका दुई टोलमा लागेको आगो ७ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । विपन्न समुदायको सिंगो गाउँ नै जलेर खरानी भएको छ । मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो बस्तीमा सल्किएपछि मियाँ र हत्ता टोलका १ सय १० घर पूरै जलेर खरानी भएको मटिहानी नगरपलिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

२ लाख ४० हजार बैंकबाट कर्जा लिएको पैसा तिर्न नपाउँदै घर–पैसा सबै जलेपछि हरिचन साह पनि उस्तै विक्षिप्त बनेका छन् । अरूको बटैया गरेर एक वर्षलाई खान पुग्ने अन्न जम्मा गरेर राखेको भकारीसँगै सबै जायजेथा खरानी भएको उनले सुनाए ।

‘अब कसरी बाँच्ने भन्ने चिन्ता भयो । कमाएको सबै सकियो । एउटा भैंसी चौरमा बाँधेको भएर बच्यो, अरू सबै आगोले खायो,’ साहले सुनाए । घरभित्र सुतेका आफूलाई सबैले तानेर निकालेकाले ज्यान बचेको उनले सुनाए ।

स्थानीय अनिल साहका अनुसार परालको कुन्यँबाट एक घरमा आगो सल्केपछि ग्यास सिलिन्डर पड्किएर आगो फैलिएको हो । उनका अनुसार १ सय १० घर पूरै जलेर खरानी हुँदा घरभित्र भएका अन्नपात र धनमाल केही जोगाउन सकिएको छैन । मटिहानी, जलेश्वर, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको नगरप्रमुख मण्डलले बताए ।

आगो लागेको बस्तीमा पशु चौपायासँगै स्थानीयको धनमाल पूर्ण रूपमा जलेको छ । क्षतिको यकिन विवरण भन्न नसकिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । अग्निपीडितलाई तत्काल आवश्यक राहतसहित विद्यालय र धर्मशालाहरूमा बस्ने व्यवस्थापनका लागि रेडक्रसलगायत अन्य निकायसँग समन्वय भइरहेको प्रजिअ गेलालले सुनाए । मटिहानीका बासिन्दालाई ठूलो विपद् परेकाले यस दुःखमा सहयोग गरिदिन नगरप्रमुख मण्डलले सबैसँग अनुरोध गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०८१ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?