कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘हिन्दुत्व’ कै सहारा लिँदै भाजपा

– भ्रष्टाचार र विकासको मुद्दाबाट पुनः धार्मिक मुद्दा उछाल्दै
– प्रधानमन्त्री मोदीको भाषणमा दोहरिने थाले धार्मिक विषय
विकासका कुराले सकारात्मक महोल त बनाउँछ तर त्यो भोटमा बदलिने ग्यारेन्टी हुँदैन, त्यही भएर मुसलमानविरोधी कुरा उठाउन थालिएको छ- अभयकुमार दुवे, प्राध्यापक, अम्बेडकर विश्वविद्यालय
हिन्दुत्वको विषय भाजपाको मुख्य फिलोसफी हो, हरेक विषयलाई यसले धर्मसँग जोडेर हिन्दु–मुस्लिम टकरावको तहमा ल्याउँछ, यो नयाँ कुरा होइन - आनन्द के सहाय, वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक
राजेश मिश्र

नयाँ दिल्ली — भ्रष्टाचारको बिरोध, विकासका लक्ष्य र भारत विश्वशक्ति बन्दै गरेको विषयलाई जोड दिएर सन् २०२४ को लोकसभा चुनावको प्रचार थालेका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो चरणको चुनाव सकिएलगत्तै फेरि ‘हिन्दुत्व’ लाई नै प्रमुख मुद्दा बनाएका छन् ।

‘हिन्दुत्व’ कै सहारा लिँदै भाजपा

भारतीय जनता पार्टी र यसको मातृसंगठन राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) ले बोक्दै आएको मुल मुद्दा नै ‘हिन्दुत्व’ हो ।

लगातार तेस्रो पटक चुनाव जित्न विपक्षीमाथि भ्रष्टाचार, वंशवादको आरोप तथा विकसित भारत वा विश्व शक्तिको सपनालाई जोडतोडका साथ उठाउँदै आएको भाजपाले पछिल्लो समय प्रचारको रणनीति बदल्दै पुनः हिन्दु धर्म, राम मन्दिरको विषय, मुस्लिममाथि प्रहार र समग्रमा हिन्दुत्वको विषयलाई नै प्रमुख चुनावी अस्त्र बनाएको छ । अयोध्यामा ‘टेन्ट’ मा रहेका रामलाई महल (मन्दिर) मा सारेको, राम मन्दिरको प्राणप्रतिष्ठाको निम्तो अस्वीकार गरेर कांग्रेसले पाप गरेको जस्ता विषय मोदीको भाषणको प्राथमिकतामा पर्दै आएका छन् ।

विपक्षी कांग्रेस पार्टीले भाजपाले तेस्रो पटक जितेको खण्डमा लोकतन्त्र नै संकटमा पर्ने भनिरहँदा मोदीले कांग्रेसको सरकार बनेको खण्डमा हनुमान चालिसा सुन्नु पनि अपराध हुने भन्दै हिन्दु मतदातालाई भाजपातर्फ आकर्षित गर्ने प्रयास थालेका छन् । मंगलबार जयपुरमा चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसको सरकार रहेको कर्नाटकमा हनुमान चालिसा बजाइरहेका एक पसलेलाई केही अगाडि मरणासन्न हुने गरी पिटिएको उदाहरण दिए । कांग्रेसले पिछडा वर्गको आरक्षणलाई घटाएर मुसलमानलाई दिन खोजेको उनको भनाइ छ ।

गत आइतबार राजस्थानको बांसवाडामा चुनावी सभालाई सम्बोधन गर्दै मोदीले कांग्रेस सत्तामा आएको खण्डमा सबैको सम्पत्ति मुसलमानलाई बाँडिदिने भनेका छन् । महिला आमा र दिदी बहिनीको मंगलसूत्र पनि खोसेर कांग्रेसले मुसलमानलाई दिने साम्प्रादायिक द्वेषपूर्ण भाषण मोदीले दिएका छन् । उनले मुसलमान समुदायलाई घुसपैठियासम्म भने । पूर्वप्रधानमन्त्री मनमोहन सिंहले विकासको अवसर सबैले पाउनुपर्ने र त्यसको पहिलो हकदार मुसलमान रहेको भनेको सुनाउँदै मोदीले भनेका छन्, ‘के तपाईंको परिश्रमको कमाइ घुसपैठियाले पाउनुपर्ने हो ?’ सबैको सम्पत्तिको विवरण लिएर त्यसलाई बाँड्ने कांग्रेसले रणनीति लिएको मोदीको आरोप छ ।

कांग्रेसको नजर आम मानिसको आम्दानीमाथि रहेको र कानुन बदलेर आमा–दिदी–बहिनीको सम्पत्ति पनि खोस्नेसम्म पुगेको मोदीले बताएको छन् । ‘उनीहरुले आमा र दिदी बहिनीले राख्ने गरगहनाको पनि हिसाब लिनेछन् । मंगलसूत्र पनि खोस्नेछन् । र, त्यसलाई सबैमा बाँड्नेछन्,’ मोदीले भनेका छन्, ‘त्यो उनीहरुलाई बाँडिनेछ, जुन मनमोहन सिंहले भनेका थिए— सम्पत्तिमाथि पहिलो अधिकार मुसलमानको हुनेछ, उनैमा जानेछ । तिनले तपाईंको मंगलसूत्र पनि बच्न दिनेछैनन् ।’ भाजपा नेता तथा गृहमन्त्री अमित शाहले पनि मोदीको अभिव्यक्तिलाई दोहोर्‍याएका छन् । उनले त, मठ मन्दिरको सम्पत्ति पनि कांग्रेसले नछाड्ने चेताएका छन् ।

कांग्रेसले आफ्नो घोषणापत्रमा जातिगत जनगणना र जनसंख्याअनुसारको अवसरको विषय उल्लेख गरेको छ । भाजपाले ‘हिन्दु–मुस्लिम’ गरेर हिन्दु मतदातालाई आफूतर्फ तान्ने निरन्तर गर्दै आएको प्रयासलाई कांग्रेसले जातिगत जनगणना र त्यसअनुसारको अवसरको नारा दिएर ‘काउन्टर’ दिएको छ । त्यसैलाई लिएर प्रधानमन्त्री मोदी र सिंगो भाजपा कांग्रेसमाथि खनिएको मात्रै छैन, कांग्रेसको घोषणापत्रले हिन्दुको सम्पत्ति खोसिएर मुसलमानमा पुग्ने व्याख्यासमेत गरेको छ । मोदी, शाह, पार्टी अध्यक्ष जेपी नड्डादेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत पार्टीका मुख्य प्रचारकले हिन्दु मतदातालाई भावनात्मक रूपमा भाजपाको पक्षमा ध्रुवीकृत गर्ने भाषणमा जोड दिन थालेका छन् ।

पत्रकार रविश कुमार सामाजिक सञ्जाल ‘एक्स’ मा प्रधानमन्त्री मोदीलाई आफ्नो कुनै एउटा सभामा कुनै धर्म, पूजा, पाठ वा मन्दिरको नाम नलिएर आफ्नो कामबारे मात्रै बोल्ने घोषणाका लागि व्यंग्यात्मक अपील गरेका छन् । उनले लेखेका छन्, ‘मोदीको भाषणबाट मन्दिर, मुसलमान गायव । के पत्रिकाको शीर्षक यस्तो बन्न सक्दैन ?’

मोदीको ग्यारेन्टी ‘२०४७ सम्म विकसित भारत’ को सकारात्मक प्रचार अभियानबाट भाजपा किन फेरि साम्प्रदायिक नारातिर लागेको हो ? पहिलो चरणको चुनावमा मतदाता तथा कार्यकर्तामा उत्साह नदेखेपछि भाजपा मुसलमानबिरोधी तुष्टीकरणको नाराको रणनीतिमा उत्रिएको राजनीतिक चिन्तक तथा अम्बेडकर विश्वविद्यालयका प्राध्यापक अभयकुमार दुवे टिप्पणी गर्छन । दर्जनौं पुस्तक लेखन, सम्पादन र अनुवाद गरेका उनको चर्चित पुस्तकमा ‘साम्प्रदायकिताको स्रोत’ पनि पर्छ । साम्प्रदायिक कुरा र त्यसको डर देखाएर मतदातालाई ध्रुवीकृत गर्न सजिलो हुने उनको भनाइ छ । ‘विकासको कुरा गर्दा आम मानिसले ए राम्रो काम गरेछ भन्ने कुरा गर्छन् । त्यसले सकारात्मक महोल त बनाउँछ । तर त्यो भोटमा बदलिने ग्यारेन्टी हुँदैन,’ कान्तिपुरसँग उनले भने, ‘त्यही भएर मुसलमानबिरोधी कुरा उठाउन थालिएको छ ।’

अप्रिल १९ मा पहिलो चरणमा भएको १ सय २ लोकसभा निर्वाचन क्षेत्रको मतदानमा अघिल्ला चुनावको तुलनामा ८ प्रतिशतले कम मत खसेको छ । मतदान कम भएपछि सत्तारुढ भाजपा झस्किएको छ । मतदान कम हुनुले भाजपालाई घाटा पुग्ने विश्लेषण गरिएको छ । २००४ मा ‘इन्डिया साइनिङ’ को नारा दिएर अटल बिहारी बाजपेयीको सरकारले चुनाव जित्ने आत्मविश्वासका साथ समयअगावै चुनाव गराएको थियो । सबैतिर भाजपाले जित्दै छ भन्ने माहोल बनेको थियो । तर, भाजपा पराजित हुन पुग्यो । ती परिस्थितिहरुको विश्लेषण गरेर पनि मतदातालाई ध्र्रवीकृत गर्न र कार्यकर्तामा उत्साह ल्याउन भ्रष्टाचारको बिरोध वा विकासभन्दा ‘हिन्दुत्व’ लाई जोड दिने रणनीतिमा भाजपा उत्रिएको प्रा. दुवेको विश्लेषण छ ।

तरपनि लगातार दुई कार्यकाल केन्द्रमा सरकार चलाइरहेको सत्ताधारी दलविरुद्ध यो चुनावमा कतै पनि सरकारविरोधी लहर नरहेको उनको भनाइ छ । तर यसको अर्थ फेरि उसैलाई चुन्ने जोस पनि मतदातामा नदेखिएको दुवेले बताए । त्यही आभास पाएरै भाजपाका रणनीतिकारले प्रचारको शैली फेरेको हुन सक्ने उनले उल्लेख गरे ।

२०१४ को निर्वाचनमा भाजपाले ५४३ सदस्यीय लोकसभामा २ सय ७२ र भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धनले ३ सय ३६ सिट ल्याएको थियो । ५ वर्षपछाडि २०१९ मा पनि मोदीको जादू चल्यो । भाजपा एक्लैको ३ सय ३ र गठबन्धनको ३ सय ५२ सिट पुग्यो । मोदीले यसपटक भाजपाको एकल लक्ष्य ३ सय ७० र एनडीए गठबन्धनको ४ सय सिट पारको लक्ष्य राखेका छन् । मोदीले ‘अब की बार चार सय पार’ को नारा दिएका छन् ।

२०१४ को चुनावको पूर्वसन्ध्यामा कांग्रेसको तत्कालीन मनमोहन सिंहको सरकार भ्रष्टाचारका मुद्दामा घेरिन पुगेको थियो । अन्ना हजारे, अरविन्द केजरिवाल र योगगुरु रामदेवको धरणा प्रदर्शनले सरकारबिरोधी माहोल निर्माण भएको थियो । भ्रष्टाचार र वंशवाद राजनीतिको बिरोध गर्दै भाजपाले ‘सबका साथ सबका विकास’ को नारा दिएको थियो । पछि ‘सबका विश्वास’ पनि थप्यो । त्यसले भाजपालाई चुनाव पनि जितायो ।

१० वर्ष सरकार चलाएपछि चुनाव जित्नलाई पुनः हिन्दुत्वको सहारा लिनुलाई भाजपा तल झर्न पुगेका रूपमा व्याख्या गर्छन् वरिष्ठ पत्रकार तथा राजनीतिक टिप्पणीकार आनन्द के सहाय । २०१९ को चुनावको मुखमै जम्मु काश्मीरको पुलवामा भएको आतंककारी हमला र त्यसपछि पाकिस्तानको पठानकोटमा भारतले गरेको ‘सर्जिकल स्ट्राइक’ले चुनावी माहोललाई भाजपाको पक्षमा ल्याइदिएको थियो । पाकिस्तानको भूमिमा गरिएको ‘सर्जिकल स्ट्राइक’ ले त्यति बेला मोदीदेखि भाजपाका सबै नेताले त्यसलाई चुनावी लाभका लागि प्रयोग गरेका थिए । ‘यह नयाँ भारत है, आतंकवादीओं को घर मे घुसकर मारेंगे’ भन्ने मोदीको भाषणले मतदातालाई लोभ्याएको थियो । त्यति बेला राष्ट्रवादी नारा भाजपाको सहारा बन्न पुगेको थियो ।

२०१४ र २०१९ को जस्तो अहिलेको परिस्थिति छैन । त्यति बेला जस्तो मतदातालाई भावनात्मक ढंगले एक गर्ने मुद्दा नरहेकाले भाजपाले ‘हिन्दु–मुसलमान’ भड्काउने निम्न स्तरको कुरामा उत्रिएको राजनीतिक विश्लेषक सहायले टिप्पणी गरे । ‘हुन त, हिन्दुत्वको विषय भाजपाको मुख्य फिलोसफी हो, उसले हरेक विषयलाई हिन्दुसँग जोडेर हिन्दु–मुस्लिम टकरावको तहमा ल्याउँछ । यो नयाँ कुरा होइन,’ उनले भने ।

भारत सर्वाधिक धार्मिक मान्यता बोक्ने जनसंख्या भएको देश हो । यहाँ करिब ८० प्रतिशत हिन्दु छन् । विकासका कुरा र भविष्यका सुन्दर सपना देखाएरै मात्र मतदातालाई रिझाउने प्रयासले खासै सफलता दिन नसेकेको संकेत देखिएपछि आफ्नो मूल मन्त्र धार्मिक मुद्दालाई भाजपाले चुनावको मुखमा आएर उछाल्न थालेको सहायले बताए । ‘एउटा पक्षको भोट तान्न दुई समुदायबीच द्वेष फैलाउने कोसिस गरिँदै आएको छ,’ विश्लेषक सहायले कान्तिपुरसँग भने ‘त्यसैको बलमा हिन्दु समुदायको ठूलो हिस्सालाई भाजपाले आफ्नो प्रभावमा लिन सफल भएको हो ।’

विपक्षीमाथि भ्रष्टाचारको आरोप लगाइरहेका मोदीमाथि विपक्षले ‘इलेक्टोरल बन्ड’ चुनावी चन्दामा भ्रष्टाचार गरेको विषयलाई उछालेको छ । अर्कोतिर कालोधनको पैसा जनतालाई बाँडिने, किसानको आयलाई दोब्बर पुर्‍याउने जस्ता मोदीको आश्वासनमाथि विपक्षीले प्रश्न उठाइरहेका छन् । त्यसबाहेक मोदीको १० वर्षको कार्यकालमा भएको मूल्यवृद्धि, बढ्दो बेरोजगारी र लोकतान्त्रिक स्तर खस्कँदै गएको विषयलाई कांग्रेसले जनतामाझ लगेको छ । पछिल्लो १० वर्षमा साधारण मानिसको हातमा के पर्‍यो ? जस्ता प्रश्नले ठाउँ लिन थालेपछि भाजपा झस्किन पुगेको प्रा. दुवेको विश्लेषण छ ।

अर्कोतिर मुस्लिम मतदाताले भाजपालाई टक्कर दिन सक्ने बलियो उम्मेदवारलाई मात्रै मतदान गर्ने रणनीति लिन थालेको देखिएको छ । हिन्दु मतदाता छरिने र मुस्लिम एकत्रित हुने भएपछि त्यसको त्यसको प्रभाव पर्ने भाजपाले बुझेको छ । यिनै कारणले पनि हिन्दु मतदातालाई आफ्नो पार्टीतर्फ तान्न प्रधानमन्त्री स्वयंले धार्मिक मुद्दा उछाल्ने गरी बयानवाजी दिन थालेको प्रा. दुवेले उल्लेख गरे ।

दोस्रो चरणको निर्वाचन शुक्रबार

लोकसभाको दोस्रो चरणअन्तर्गत ८८ सिटमा शुक्रबार मतदान हुँदै छ । यस चरणमा कांग्रेस नेता राहुल गान्धी, शशि थरुर तथा भाजपा नेता लोकसभा अध्यक्ष ओम बिरला, हेमा मालिनी, केन्द्रीय मन्त्री राजीव चन्द्रशेखर जस्ता ‘हेभी वेट’ नेता चुनावी मैदानमा छन् । गान्धी केरलको वायनाडबाट चुनाव लडेका छन् । अघिल्लो पटक उनी त्यहाँबाट जितेका थिए ।

केरलका २०, कर्नाटकका १४, राजस्थानका १३, महराष्ट्र र उत्तरप्रदेशका ८/८ सिटमा मतादान हुनेछ । मध्यप्रदेशका ६, बिहार र असमका ५/५, छत्तिसगढ र पश्चिम बंगालका ३/३ सिटमा दोस्रो चरणमा मतदान हुँदै छ । त्यस्तै, मणिपुर, त्रिपुरा र जम्मु–काश्मीरका १/१ सिट मा मतदान हुन लागेको हो । दोस्रो चरणपछि केरल, राजस्थान र त्रिपुरा राज्यका सबै क्षेत्रको मतदान पूरा हुनेछ । पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल प्रदेश, मेघालय, अन्डमान निकोबार, मिजोरम, नागाल्यान्ड, पोन्डुचेरी, सिक्किम र लक्षद्वीपको मतदान पूरा भएको थियो । दोस्रो चरणमा नेपालसँग सीमा जोडिएको पश्चिम बंगालको दार्जीलिङ र बिहारको किसनगन्ज निर्वाचन क्षेत्रमा मतदान हुँदै छ ।

प्रकाशित : वैशाख १३, २०८१ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?