२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

प्रधानमन्त्रीको सकस

पाठक पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धनबाट बनेको सरकार लामो समय टिकाइरहन निकै सकस हुने देखिएको छ । आफ्नो पार्टीबाट स्वच्छ छवि भएका सांसदलाई मन्त्री बनाउनुपर्नेमा पटकपटक मन्त्री भएका, मन्त्री पदमा बस्ने भन्दा अरू काम गर्न नसकेका व्यक्तिलाई नै उनले फेरि पनि मन्त्री बनाएका छन् । अर्थमन्त्री वर्षमान पुन सुन व्यापारीसँगको सम्बन्धका कारण विवादित बनेका छन् ।

माओवादी पार्टीबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनका छोराहरू सुन काण्डमा जोडिएका छन् । उनीहरूमाथि कसरी अनुसन्धान र कारबाही हुने हो ! प्रधानमन्त्रीका विश्वास पात्र नारायणकाजी श्रेष्ठ जति पटक माओवादी सरकारमा सहभागी हुन्छ, मन्त्री बनिहाल्छन् । उनले जनताको नजरमा उपलब्धिमूलक काम खासै गर्न सकेका छ्रैनन् ।

भुटानी शरणार्थी प्रकरण, मिटरब्याजपीडितको समस्या, सहकारीपीडितलाई न्याय वा ललिता निवास जग्गा प्रकरणमा उनले बोलेका कुरा पूरा भएनन् । गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनका कारण विवादित छन् । आफ्नो मुद्दाको टुङ्गो नलाग्दै गृहमन्त्री पदमा बस्नु कति सम्मको नैतिकता हो ? उनलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई कुन नैतिकताले दियो ।

जनतालाई सरकारको अनुभूति दिने गरी काम गर्न सक्षम र विवादरहित व्यक्ति पाउन नसकेकै हुन् त प्रधानमन्त्रीले ? एमालेबाट पनि विगतमा मन्त्री भएकालाई नै दोहोर्‍याइएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री दाहाललाई जनताको पक्षमा काम गरेर देखाउन र आफूलाई प्रधानमन्त्रीका रूपमा सफल पार्न फलामको चिउरा चपाउनुसरह हुनेछ ।
– भगवान पुडासैनी, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र ६, २०८० ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?