२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

साई स्वागत सहकारीमा मेरो लेनदेन छैन

पाठक पत्र

कान्तिपुर दैनिकमा २०८० चैत २२ मा ‘गृहमन्त्री पत्नी उपाध्यक्ष रहेको सहकारीमा महानगरको अनुगमन’ शीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा ‘सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेका बेला उनले बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको टोलीको दाबी छ ।

निकिताका नाममा भएको उक्त कारोबार फर्स्योट भएको जानकारी पनि भरतमणिले दिएका छन् । तर उपाध्यक्ष स्वयंले धितो नराखी ५० लाख लिएको र त्यस्तै प्रवृत्तिमा ऋण प्रवाह हुँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी गरेका छन्’ भन्ने उल्लेख गरिएको छ ।

मैले साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २०७७ असोज ८ मै राजीनामा दिएको र २०७७ असोज ९ मा राजीनामा स्वीकृतसमेत भएपछि सहकारीको कुनै पनि जिम्मेवारी एवं भूमिकामा म नरहेको प्रस्ट पार्न चाहन्छु । उक्त सहकारी संस्थामा मेरो कुनै पनि आर्थिक कारोबार र लेनदेन बाँकी रहेको छैन ।

२०७७ असोज ९ मा राजीनामा स्वीकृत भएपश्चात् सहकारीको सञ्चालक समिति र साधारण सभाको निर्णय पुस्तिकामा उपस्थिति नरहेको र सोपश्चात् कुनै किसिमको संलग्नता भूमिका एवं जिम्मेवारी नरहेको समेत प्रस्ट पार्न चाहन्छु ।

तर मेरो व्यक्तिगत विषयमा मेरा पति रवि लामिछानेको गृहमन्त्रीको पदीय हैसियतलाई समेतलाई जोडेर सम्बन्धित व्यक्तिसँग केही पनि नबुझी समाचार प्रकाशन गरिएको छ ।

आधिकारिता एवं स्रोतमा समेत सन्देह हुने गरी प्रकाशित समाचारप्रति मेरो गम्भीर असहमति छ ।
– निकिता पौडेल, बुढानीलकण्ठ–८, हात्तीगौंडा, काठमाडौं

प्रकाशित : वैशाख १३, २०८१ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?