२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७९

यसरी गर्दैछ नेपाली सेनाले गोरखा-जितगढी पदयात्रा

गोरखाबाट जितगढी पदयात्रा गरेको सेनाको टोलीलाई पाल्पामा भव्य स्वागत
माधव अर्याल

पाल्पा — नेपाली सेनाको गोरखा–जितगढी दोस्रो एकीकरण पदयात्रामा सहभागी टोलीलाई आइतबार पाल्पामा स्वागत गरिएको छ । चैत २७ गते गोरखाबाट सुरु भएको पदयात्रीलाई पाल्पास्थित नेपाली सेनाको द फेमस महीन्द्र दल गणले पाल्पा र स्याङ्जाको सीमाना केलादीमा स्वागत गरेको हो ।

पदयात्राअन्तर्गत पाल्पामा ६ दिनसम्म कोत, गढी तथा किल्लामा पुगेर सम्पदा पर्यटनमा सघाउने गणपति भुपेन्द्र गुरुङले जानकारी दिए । गोरखा दरबारबाट पश्चिमतर्फको एकीकरण मार्गमा गत मंगलबारदेखि पदयात्रा सुरु भएको उनले बताए । गोरखा–जितगढी ११ दिने पदयात्रामध्ये पाल्पामा ६ दिन हुनेछ । पदयात्री पाल्पाको रामपुर, निस्दीको बेलडाँडा, पूर्वखोलाको सिलुवा हुँदै वीरकोटको बाकुमगढी पुग्ने छ । बाकुमगढीबाट माथागढी, प्रभास, तानसेन हुादै दोभानको नुवाकोटगढी बाट वैशाख ७ गते जितगढीमा पुगेर पदयात्रा सकिने नेपाली सेनाको २२ नम्बर बाहिनीका सहायक रथी ललितबहादुर कुँवरले जानकारी दिए ।

नेपाली सेनाको द फेमस महीन्द्र दल गणका सेनानी प्रशान्त श्रेष्ठको टोली सहभागी भएर पाल्पाका कोत, गढी र किल्लामा पदयात्रा गर्नेछ । गोरखाबाट तनहुँ, स्याङ्जाको केही भाग भएर पाल्पाको केलादीघाटमा आएको हो । पदयात्री केलादीबाट रामपुरका विभिन्न स्थान हुँदै निस्दीको बेलडाँडाबाट पूर्वखोलाको सिलुवा, जब्गादी हुँदै बीरकोटमा पुग्ने अपरेसन अधिकृत सेनानी जितबहादुर कार्कीले बताए । उनका अनुसार पूर्वखोला गाउँपालिका–६, हेक्लाङस्थित बाकुमगढी, बाकुमगढीबाट ताँहु, हुमिन, देवीनगर हुँदै माथागढीको झडेवा, जगात भएर हात्तीलुङस्थित माथागढी पुग्नेछ । रामपुरस्थित केलादीदेखि वीरकोट ३५, वीरकोटदेखि माथागढी ३९, माथागढीदेखि प्रभास ३५, प्रभासदेखि तानसेन भएर पुनः प्रभास १७, प्रभासदेखि दोभान नुवाकोट ३२, दोभान नुवाकोटदेखि जितकढी ७ किलोमिटर पदयात्रा गर्ने कार्यक्रम तय भएको छ ।

पदयात्रीलाई नेपाली सेनाको २२ नम्बर बाहिनीका सहायक रथी ललितबहादुर कुँवर, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगायतले सांस्कृतिक झाँकी साथै स्थानीयको बाजागाजासहित स्वागत गरेका थिए ।

पृथ्वीनारायण शाहले एकीकरणको क्रममा स्थापना गरेका श्रीनाथ, कालिबक्स, बर्दबाणी, सबुज, पुरानो गोरख, जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा र नेपालको राष्ट्रिय झण्डा पदयात्रामा रहेको छ । राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोत, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउन गत वर्षदेखि पदयात्रा सुरु भएको हो । राष्ट्रिय एकताको भावना जागृत हुनेगरी नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्गलगायत धरोहरको संरक्षण, सम्बर्द्धन गर्ने उद्धेश्यसहित यस वर्ष पनि पदयात्रा गरिएको हो ।

‘एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने उद्देश्य रहेको छ,’ महीन्द्र दलका गणपति गुरुङले भने, ‘ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो ।’ युवा पुस्तामा राष्ट्रिय एकताको भवना थप प्रगाढ बनाउन यो पदयात्रा सहयोगी बन्नेछ । पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्राले सहयोग पुग्ने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए ।

सेनाको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याएर पाल्पा पदयात्रा गर्नेछ । एकीकरण पदयात्रा जिल्लाको रामपुर नगरपालिकास्थित केलादीघाटबाट सुरु भएर नुवाकोट (तिनाउ, पाल्पा) मा पुगेर समापन हुनेछ । राष्ट्रिय एकताको सन्देश, एकीकरण मार्ग पहिचान, ऐतिहासिक धरोहरहरुको जगेर्ना गर्न सहयोग पुग्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए ।

रामपुरको केलादीदेखि सुरु भएर ऐतिहासिक पौवा, देविस्थान, सीताकुण्ड, बेलडाँडा, सिलुवा, जब्गादी, वीरकोट हुँदै बाकुमगढीमा पुगेको छ । बाकुमगढीबाट ताँहु, हुमिन, देवीनगर, मुन्टुङ, केरौली, झडेवा, जगात, गोठादी हुँदै माथागढी पुग्ने बाटो तय भएको छ । माथागढीबाट हर्नेटार, मरमरा, सिकारकोट, दमार, एक्लेबर सराई, दमकडा भएर प्रवास (तानसेन) मा बस्नेछ । प्रवासदेखि बर्तुङ तानसेन, रणउजीरेश्वरी भगवती मन्दिरबाट पुनः काजीपौवाबाट डुम्रे, मस्याम, सिस्ने, मरेक झुम्सा, दोभान भएर नुवाकोट गढीमा पुग्नेछ । अन्तिम दिनमा नुवाकोटदेखि जितगढीसम्मको यात्रा गरेर समापन हुनेछ । सेनाले चालेको कदमले ऐतिहासिक गढी र किल्लाहरुको पहिचानमा सहयोग पुग्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए ।

पदयात्राले पछिल्लो पुस्तालाई इतिहासको बारेमा जानकारी दिने इतिहासविद् निर्मल श्रेष्ठले बताए । ‘एकीकरणमा प्रयोग भएका पदमार्गले पर्यटन विकासमा टेवा पुग्छ,’ उनले भने, ‘सम्पदा पर्यटनमा यसको भूमिका महत्त्वपूर्ण हुनेछ । साथमा सेना र जनता विचको सम्बन्ध थप सुमधुर बन्न सहयोग पुग्छ ।’ पदयात्राको गोरखा दरबारदेखि जितगढीसम्मको दुई सय ७ किलोमिटर दूरी हुनेछ । कोत, गढी र किल्लामा पुग्ने भएकाले १ सय ६५ किलोमिटर पाल्पामै पदयात्रा हुने सेनाले जनाएको छ ।

स्थानीय पालिका, धार्मिक तथा महिला समूहको स्वागत, नाच्दै गाउँदै जिल्लागत हस्तान्तरण हुने कार्यक्रम तय भएको छ । पाल्पाका बाकुमगढी, माथागढी, प्रभास, तानसेन, नुवाकोटगढीलगायतमा तैनाथ भएर युद्ध लडेको इतिहासमा उल्लेख छ । पदयात्राले नेपालको पश्चिमतर्फको एकीकरणको ऐतिहासिक कार्यलाई जीवन्त राख्ने, पदमार्गको प्रवर्द्धन तथा प्रचारप्रसार तथा पर्यटकीय संभावनालाई उजागर गर्नेछ । ‘इतिहासलाई जगेर्ना गर्दै भविष्यमा नयाँ पुस्तासँग जोड्नेछ,’ इतिहासविद् श्रेष्ठले भने ।

प्रकाशित : वैशाख २, २०८१ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्