कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बारामा १० दिनयता दुर्घटनामा २ प्रहरीको मृत्यु

लक्ष्मी साह

बारा — बारामा १० दिनयता दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु भएको छ । दुवै दुर्घटना जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको राजमार्गमा भएको हो । हेटौंडा–वीरगन्ज सडक खण्डको जीतपुरसिमरा-२१ अमलेखगन्जमा गत चैत २३ मा डियुटीमा रहेका एक ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा मृत्यु भएको घटनाको १०औं दिनमा फेरि वडा नं १ सिमरामा अर्का प्रहरी जवानको दुर्घटनामा मृत्यु भएको हो । 

बारामा १० दिनयता दुर्घटनामा २ प्रहरीको मृत्यु

वीरगन्ज–पथलैया सडक खण्डअन्तर्गत सिमरास्थित नेपाल टेलिकम अगाडि इन्धन बोक्ने ट्यांकरले ठक्कर दिँदा अछाम जिल्ला चौरपाटी गाउँपालिका-१ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान दिनेश परियारको उपचारको क्रममा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले बताए ।

सोमबार अबेर राति ग१४प ५९७२ नम्बरको मोटरसाइकलमा पथलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको परियार चढेको बाइक र सोही दिशाबाट जाँदै गरेको ना७ख २०२६ नम्बरको ट्यांकर एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । बाराको परवानीपुर गाउँपालिका-५ नौतन बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा प्रहरी जवान परियारको मृत्यु भएको हो ।

घटनास्थल प्रहरी कार्यालयबाट केही मिटर पर छ । ट्यांकर चालक फरार छन् । ट्यांकर र बाइक प्रहरी नियन्त्रणमा छ ।

यसैगरी १० दिन अघि चैत २३ गते अमलेखगन्जमा डियुटीमा रहेका पर्सा जिल्ला छिपहरमामाई गाउँपालिका-१ घर भई २९ वर्षीय ट्राफिक प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको थियो । उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा दुर्घटना भएको केही घण्टापछि मृत्यु भएको थियो । काठमाडौंबाट पूर्व तर्फ जाँदै गरेको बा प्र ०१/६ ख ६१२३ नम्बरको यात्रुबाहक बसले मध्यरातमा ठक्कर दिँदा जवान यादवको मृत्यु भएको थियो । दुवै घटनाबारे अनुसन्धान भइ कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

प्रकाशित : वैशाख ४, २०८१ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?