कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मधेशका मुख्यमन्त्री यादव चौथो पटक विश्वासको मत लिँदै

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौथो पटक विश्वासको मत लिँदै छन् । 

मधेशका मुख्यमन्त्री यादव चौथो पटक विश्वासको मत लिँदै

संघीय गठबन्धनमा फेरबदल भएपछि मधेश प्रदेश सरकारलाई नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । १ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्ने छ । सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस रहेका छन् । गठबन्धन बाहिरबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मधेश प्रदेश सरकारमा सहभागी छ ।

प्रदेश सभामा एमालेका सभामुखबाहेक २४, जसपाका १९, माओवादीका ९, लोसपाका ८ र एसको ७ गरी ६७ प्रदेश सांसद समर्थन मुख्यमन्त्री यादवले पाउने छन् । लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा फरार सुचीमा रहेका कारण प्रदेश सभामा उपस्थित नहुने अवस्था छ । राप्रपा, नाउपा र संघीय समाजवादीको १/१ पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने संभावना छ । विपक्षमा कांग्रेसको २२, जनमतको १३ गरी ३५ जना हुने अवस्था छ ।

जसपाबाट मुख्यमन्त्री यादवको कार्यशैलीप्रति गठबन्धन भित्रकै सांसदहरु सन्तुष्ट छैनन् । यादव नेतृत्वको सरकारले पछिल्लो एक वर्षमा कुनै प्रभावकारी काम गर्न नसकेको, बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको, प्रदेश सरकारका मन्त्रीहरुले कमिसन लिएर योजना बेच्ने गरेको र प्रदेशसभालाई बिजनेस दिन नसकेको सांसदहरुको आरोप छ । यसअघि जनमत पार्टी सरकार छोडेर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिँदा सत्ता गठबन्धनकै सांसदहरुले मुख्यमन्त्री र प्रदेश सरकारको आलोचना गरेका थिए ।


प्रकाशित : वैशाख ४, २०८१ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?