कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भीर घाइते 

शंकर आचार्य

पर्सा — वीरगन्जमा बिहीबार तीव्र गतिमा चलाइएको २ मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु र ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२५ का २५ वर्षीय अर्जुन पटेल छन् । घाइते ३ मध्ये २ नाबालक छन् । 

बिहान करिब १० बजेर ४० मिनेटको समयमा वीरगन्ज–२५ मौजे सिर्सिया सडक खण्डमा सिर्सियाबाट ड्राईपोर्टतर्फ आउँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र ड्राईपोर्टबाट सिर्सियातर्फ जाँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

ना ३१ प ३८३५ नं. मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अर्जुन पटेल गम्भीर घाइते भएका थिए । उनलाई नारायणी अस्पतालले रिफर गरेपछि थप उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पताल लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए । मोटरसाइकलमा पछाडि सवार अर्का स्थानीय २० वर्षीय आकाश पटेल गम्भीर घाइते छन् ।

ना १८ प ९८१६ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका निरज चर्तुवेदीका १५ वर्षीय छोरा कनैया चर्तुवेदी र पछाडि सवार अर्का स्थानीय मदन पटेलका १५ वर्षीय छोरा सामा पटेलसमेत घाइते भएका छन् । घाइते अन्य तीनलाई थप उपचारका लागि नेसनल मेडिकल कलेजमा भर्ना गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपीकुमार विक्रम थापाले जानकारी दिए ।

प्रकाशित : वैशाख १३, २०८१ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?