कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मुस्ताङी युवराज’ ले गरे विवाह

घनश्याम खड्का

म्याग्दी — हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा पर्ने लोमन्थाङस्थित पूर्वमानार्थ मुस्ताङी युवराज झिक्मी धिन्डुप फुन्छोक परवल विष्टले सोमबार विवाह गरेका छन् । विष्टले ताप्लेजुङ पुर्ख्यौली घर भई हाल काठमाडौं निवासी छिरिङ यान्चेन उक्याबसँग बौद्ध परम्पराअनुसार विवाह गरेका हुन् ।

‘मुस्ताङी युवराज’ ले गरे विवाह

उपल्लो मुस्ताङको लोमन्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा अहिले पनि झिक्मी धिन्डुप फुन्छोक परवल विष्टलाई सांस्कृतिक राजाका रूपमा मान्यता दिँदै आएका छन् ।

नातेदारका अनुसार लोघेकर–दामोदरकुण्ड गाउँपालिका मुकाम रहेको चराङस्थित छामा डिकी विष्ट (दुलहीको आमाकी बैनी) को घरमा रहेकी बेहुली छिरिङ यान्चेन उक्याब लिन दुलाहा विष्ट २ सय ७० बढी घोडा सवार जन्तीसहित पुगेका थिए । विष्टले बेहुलीलाई दिउँसो २ बजे लोमन्थाङस्थित रोयल मुस्ताङ रिसोर्टमा भित्र्याएका थिए । रिसोर्ट प्राचीन मुस्ताङी दरबार क्षेत्र रहेको माटोको सहर लोमन्थाङ बस्तीभन्दा बाहिर छ ।

दुलाहा विष्टका निकट नातेदार तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष छोप्पेल लोप्चन विष्टका अनुसार दुलही यान्चेनले अस्ट्रेलियाबाट स्नातकोत्तर गरी हाल काठमाडौंमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएकी छन् । दुलाहा विष्ट लोमन्थाङमा रोयल मुस्ताङ रिसोर्ट सञ्चालन गर्छन् । आफन्त विष्टका अनुसार तीन दिनसम्म मान्यजन, लामाहरू, आफन्त, आमन्त्रित र सर्वसाधारणले नवविवाहित दम्पतीलाई खादा अर्पण गरी आशीर्वाद दिने कार्यक्रम छ ।

विश्व सम्पदा सूचीमा प्रस्तावित कालीगण्डकीको उद्गमस्थल मुस्ताङको उपल्लो भेग लोमन्थाङ इतिहास, संस्कृति र कला वास्तुकलाको दृष्टिले महत्त्वपूर्ण छ । मुस्ताङ वि.सं. १८४६ देखि बृहत् नेपाल राष्ट्रमा गाभिएको हो । मुस्ताङी अन्तिम राजा (पूर्वराजा) जिग्मे परवल विष्टले दाजुको छोरा जिग्मे सिङगे परवल विष्टलाई उत्तराधिकारी घोषणा गरेका थिए ।

०४६ सालपछि मानार्थ राजाका रूपमा रहेका थिए । देशमा गणतन्त्र घोषणासँगै नेपाल सरकारका तत्कालीन गृहमन्त्री वामदेव गौतमले लोमन्थाङ दरबारमा पुगेर मानार्थ राजाको पगरी फिर्ता भएको जिग्मे परवल विष्टलाई जानकारी गराएका थिए । सरकारले औपचारिक रूपमा राज्य रजौटाहरू अन्त्य गरे पनि व्यावहारिक रूपमा उपल्लो मुस्ताङमा राजालाई मान्ने प्रचलन हटेको छैन ।

प्रकाशित : असार १८, २०८० २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?