कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ताङ्लीचोकमा भूगोलविद् डा. हर्क गुरुङको सालिक निर्माण गरिएको छ । डा. हर्क गुरुङ प्रतिष्ठानले उनको समाधीस्थलसँगै अर्धकदको सालिक निर्माण गरेको हो ।

समाधीस्थलमा डा. हर्क गुरुङको सालिक

२०६३ असोज ७ गते (सेप्टेम्बर २३) मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका डा. गुरुङको शवलाई आफ्नै जन्मस्थलमा ल्याएर अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कार गरिएको ठाउँमा निर्माण गरिएको समाधीस्थलमै प्रतिष्ठानले अर्धकदको सालिक निर्माण गरेको हो ।

वि.सं. १९९५ पुस २१ गते बाबा पार्सै गुरुङ र आमा मैंस्यो गुरुङको कोखबाट पाँचौं सन्तानको रुपमा जन्मिएका डा. हर्क गुरुङ बहुमुखी प्रतिभाका धनी थिए । राष्ट्रवादी व्यक्तित्वको रुपमा चिनाएका डा. हर्कको स्मृतिमा ‘डा. हर्क गुरुङ प्रतिष्ठान’ निर्माण गरेर उनको जन्मस्थलमा ‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ निर्माण भइरहेको छ ।

सालिकको बिहीबार अनावरण गर्दै पूर्वपर्यटनमन्त्री समेत रहेका नेकपा एमाले उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले डा. हर्क र उनको योगदानलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए । ‘डा. हर्क हामीले मात्रै होइन, देशले सम्झनुपर्ने व्यक्ति हो । उहाँ अन्तर्राष्ट्रिय जगतले सम्झने व्यक्ति हुनुहुन्छ,’ उनले भने, ‘हामीले फराकिलो दायरा बनाएर डा. हर्कले पुर्‍याएको योगदान र उहाँलाई गाउँठाउँमा मात्रै सीमित नराखी अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक छ ।’

प्रतिष्ठानले आयोजना गरेको दोस्रो साधारणसभा, प्रथम अधिवेशन तथा डा. हर्क गुरुङको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै नेता गुरुङले नेपाललाई संघीयतामा लानुपर्नेमा जोड दिने पहिलो व्यक्ति नै डा. हर्क रहेको दाबी गरे । ‘डा. हर्क संघीयता र संघीयताको मर्म बुझ्ने व्यक्ति हुनुहुन्थ्यो,’ उनले भने ।

कार्यक्रममा संविधानसभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले, संविधानसभा सदस्य लालबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दीपकप्रसाद पण्डितलगायतले डा. हर्क गुरुङ र उनलाई सम्झनालायक संरचना निर्माणको आवश्यक रहेकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष एवं मर्स्याङ्दी गाउँपालिका ७ का वडाध्यक्ष तिलबहादुर गुरुङले आर्थिक वर्ष २०७४/०७५ बाट प्रतिष्ठानले काम सुरु गरेको बताए । उनका अनुसार हालसम्म प्राप्त ५ रोपनी १२ आना ३ पैसा २ दामको जग्गामा विभिन्न संरचनाहरु निर्माण गरेका छन् । कुल ६ करोड ३१ लाख ९९ हजार ७ सय ६९ रुपैयाँ २२ पैसाको ‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ को विस्तृत योजना निर्माण गरिएकोमा यसका लागि ३० रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनका अनुसार प्रतिष्ठानले हालसम्म करिब ६० लाख रुपैयाँ खर्च गरी पार्कको काम गरेको छ ।

उनले डा. हर्क गुरुङको अध्ययन केन्द्रको रुपमा विभिन्न संरचनाहरु निर्माण गर्ने योजना रहे पनि बजेट अभाव रहेको बताए ।

प्रकाशित : वैशाख १३, २०८१ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?